कविता: प्रतिफल

२०७८ भाद्र १२, शनिबार ०७:३६

यान्त्रिक मानवीय कोलाहलको
भीडभित्र उभिएर
निर्निमेष हेरिरहेछ्न् घाइते आँखाहरूले
चारैतिर देखिरहेछ्न्
विकास र प्रगतिका कोलाजहरू
हिँडिरहेछ्न् लक्ष्यहीन जुलुसमा
अर्थहीन झण्डा बोकेर
प्राप्तिको अमेट तृष्णा मेटाउन
प्रगतिको लिस्नो
झनभन्दा झन् अग्लो भइरहेछ

प्रेम, दया, ममताका शब्दहरू
शब्दकोशबाट मिल्काएर
केवल आत्मसात् गरिरहेछ्न्
कण्ठस्थ गरिरहेछ्न्
आय र सुखका परिभाषाहरू
अथवा यिनैका अन्य सबै
पर्यायवाची शब्दहरू
समार्थक अर्थहरू
विस्तारित व्याख्याहरू

मानिसकै जस्तो छ जुलुसमा हिँड्नेहरूको आकार
छाती छ, मुटु छैन
मुटु छ, ममता छैन
आँट छ, लक्ष्य छैन
आँखाहरू बिरालाका जस्तै छ्न्
टाउकाहरू बाँदरका झैँ छ्न्
नङ्ग्राहरू छ्न् चिलका

जुलुस अघिबढिरहेको छ
अविराम
आयुरेखा घटाउँदै

जुलुस भै हिँड्नेहरूको
अनियमित दिनचर्याले
उच्छृङ्खल खाद्याभ्यासले
अपरिमित चाहनाले
जानी नजानी पिउँदैछ
हाँसी हाँसी निल्दैछ
अघाउञ्जेल स्लो पोइजन

आँखामा आधुनिकताको कालो पट्टी बाँधेर
उत्पादनको नशा पिएर
अर्थको मातमा नशालु भएर
भित्र्याएको छ रसायन
फाँडेको छ रुख-बिरुवा
सल्काएको छ वन-जङ्गल
पड्काएको छ गोला-बारुद
कालो धुवाँले भराएको छ
निलो आकाश
आफूलाई निचोरेर समयमा दुई थोपा पानी छर्किन
धौ धौ परिरहेछ विचरा बादललाई
श्वास फेर्न नसकेर
छ्ट्पटाइरहेछ हावा

हाड र मासुको अचल मूर्तिसरह
ठिङ्ग उभिएको छ जुलुस
अब कुनै प्रतियोगितामा सहभागी बन्न नसक्ने
कुनै होडबाजीमा चम्किन नसक्ने
अन्धकार युगको ढोकाअघि

आँखामा डलर टाँस्ने चाहनामा
आङभरि जरा गाडिसकेको छ एउटा रोगी भविष्यले
आफै खस्दैछ आफूले खनेको खाडलमा
आवश्यकभन्दा अधिक चाहनाले
दिनभरि लाटकोसेरोझैँ झुन्डिरहने
हिजोको होमोसेपियन्स

आजन्म कमाएको उब्जनीले
किन्न सकिरहेको छैन
एक मुस्कान हाँसो
एक फाँको श्वास

बाध्यता भनौँ या प्रतियोगिता
प्राप्तिमा छ यामानको ढुङ्गो
ठिक एउटा शून्यकै आकृति भएको ।

256 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal