समाज परिवर्तन कि पतन?

दिपेन्द्र धिताल, सिन्धुपाल्चोक

0 143

उ त्यो पल्लो गाउँकी दुखी बुढी आमालाई हेपेर घटेर्नी बुढी भन्छन्, बिचरा के थाहा आजकलका ठेट्नाहरूलाई उनको त्यो सदियौँदेखिको पीडाहरू । अगाडीका दाँत सबै फुक्लिएर गालामा छालाको बत्तिस मुजा परिसक्यो तर पनि अझै घोटिँदै छ त्यो ज्यान बिहान बेलुकी छाक टार्नै का लागी । फेरी घटेर्नी भनेको के हो भन्ने प्रश्न आउन सक्छ …… घट्ट चलाउने घटेराको बुढीलाई घटेर्नी भन्दा रहेछन् जो पानी घट्टको अवशेष लगभग लगभग मेटिनै लाग्दा अझै पनि जीवितै छिन् अझ उनका ती सङ्घर्षहरू त आँखा अगाडी छर्लङ्ग नाचिरहेका छन् ।

यस्तै छ मेरो समाज …………..यहाँ दिनभर गोरु जसरी जोतिएर काम गर्ने सम्भू सत्याललाई हामी लाटो भनेर बोलाउँछौ । हामीले कहिल्यै मर्यादा भन्ने चिज सिक्न सकेनौ अझ भनौँ हामीले सिक्नै चाहेनौँ । उसलाई बच्चाले पनि हेप्छ लाटो भनेर हामीले त्यो बच्चालाई पनि रोक्न सकेनौँ त्यसो नभन भनेर र यदि पछिल्लो पुस्ताले पनि उसलाई देख्ने मौका पायो भने लाटो नै भन्ने छ किनभने हामीले कहिल्यै कसैलाई मर्यादाको पाठ सिकाएकै छैनौ वा भनौँ सिकाउनै चाहेनौ । मानसिक सन्तुलन ठिक नभएर उपचारको पर्खाइमा बसेको गोविन्दलाई समाजले जहिल्यै पागल भनेर बोलाउँछ । हामीले कहिल्यै बुझ्नै सकेनौ थोरै मानसिक सन्तुलन ठिक नहुनु भनेको सबै जिन्दगी बर्बाद हुनु होइन भनेर । उ उपचारको पर्खाइमा छ । एउटा असल समाजको आत्मीयताको पर्खाइमा छ अनि असल साथीहरूको सङ्गतको पर्खाइमा छ तर विडम्बना हामीले उसलाई न एउटा असल समाज दिन सक्यौ न आत्मीय मित्र बन्न नै सक्यौ बस् हामी त अझै उसको सन्तुलन बिगार्न लागिपरेका छौँ पागल भनेर ।

आफ्नो बच्चाले राम्रो व्यवहार सिकोस् भन्ठान्ने हामीले आफ्नो मुखबाट कहिल्यै संस्कारका शब्दहरू बोलेर सिकाउन सकेनौ । अर्काको बच्चालाई गाली गर्छौ यसले मेरो छोरो बिग्रायो भनेर तर बाउले बोलेको जाँठा भन्ने शब्द सुनेरै उसले सिकेको हुन्छ स्कुलको मास्टरलाई गाली गर्न , मिसलाई अपशब्द प्रयोग गर्न अनि आफूभन्दा ठुलालाई गाली गर्न तर त्यसलाई हामीले आफ्नो गल्ती कहिल्यै ठानेनौ । हामी आफ्नो जीउको भैँसी देख्दैनौ तर अर्काको जीउको जुम्रा चैँ ठुला ठुला देख्छौँ । सायद सम्बन्ध अनि समाज बिगार्ने कारक तत्त्व त्यही होला । हामीले अलि तल परेर कुरा गर्न कहिल्यै सिकेनौ अथवा भनौँ हामीले सिक्नै चाहेनौँ । अरूलाई हेप्न मजा आउँछ हामीलाई , अरूलाई गाली गर्न मजा आउँछ , हामी सकेसम्म अरूलाई शोषण गरेर हामी आफूमा पोषण भर्न मात्र चाहन्छौँ । आज अलिकति अरूले नै खाओस् भनेर हामीले खुल्ला हृदयले दिनै सकेनौ या भनौँ सक्ने भएर पनि दिन चाहेनौ बस हामीले त असल समाजको अनि असल मानिसहरूको खोजी मात्र गरिरह्यौँ तर आफू नै असल बनेर असल समाज निर्माण गर्ने कोसिस कहिल्यै गरेनौँ । बाठाहरूलाई हामीले तपाई हजुर भन्न सिक्यौँ त्यसमा केही गलत भएन तर लाटाहरूलाई तिमी भन्ने कोसिस सम्म पनि गरेनौँ । हो …….खोट हामी भित्र छ । एउटा महिला भएर महिलाको समस्या बुझ्ने कोसिस गरेनौ हामीले । छाउपडी प्रथा अन्त्य हुनुपर्छ भन्दै आन्दोलन गर्‍यौँ हामीले , महिनावारी हुँदा अन्य महिला सरह बस्न र डुल्न पाउनुपर्छ भन्दै अबाज उठायौँ हामीले , महिनावारी हुँदा अन्य मानिसलाई छुन हुँदैन भनेर बुढापाकाले भनेका कुराहरूलाई शासन भन्ठान्यौ हामीले अनि त्यसको विरुद्ध आवाज पनि उठायौँ अनि सँगै बस्न पनि थाल्यौ तर महिनावारी हुँदा अरू सँग सँगै बस्नु ठुलो कुरा होइन तर त्यसबाट हुने सङ्क्रमण को बारेमा कहिल्यै पनि सावधान भएनौँ हामी । सासू सुराले गरेका वा सिकाएका कुराहरूलाई हामीले बोझ सम्झिएर अपशब्द बोलेर अस्वीकार गर्ने गर्छौ भोलि गएर आफू त्यो अवस्थामा पुग्नै पर्दैन जस्तो गरी अनि छेवैमा बसेको सानो छोराले त्यही व्यवहार सिक्नेछ र भोलि आफूलाई पनि त्यही व्यवहार दोहोर्‍याउने छ भनेर हामी त्यस प्रति कहिल्यै सजग हुनै सकेनौँ ।

अनि आजकलका भाइ बहिनीहरूले ….सञ्चारसँग घुलमिल हुँदा हुँदै धेरै कुराहरू बिर्सिए । मोबाइलमा टेम्पल रन खेल्दा खेल्दै सिमलीका झाङमा लुक्दै खेल्ने हिजोका लुकामारी भन्ने खेल नै बिर्सिए , क्याण्डी क्रस खेल्दा खेल्दै ढुङ्गाको चाङ्लाइ ढलाएर फेरी चाङ लगाउने गेमबल नै बिर्सिए । टकिङ टम सँग कुरा गर्दै गर्दा मावलका हजुरबा सँग गफिएर बस्नै बिर्सिए । एङ्ग्री बर्ड खेल्दा खेल्दै ढुङ्गाले हानेर लाँकुरीको पुतली झारेर गरिने रमाइलै बिर्सिए । न तिनीहरूले बाँसको ढ्याङ्ग्रो को फिरफिरे बनाए , न क्यमुनाको पातको बाजा बजाए । के थाहा ठूल्पाटो मा खेलेको चुङ्गीको मजा , के थाहा तिनीहरूलाई चोरेर खाएको त्यो काफलको स्वाद , के थाहा तिनीहरूलाई त्यो चौथी हानेको काँक्रो ठाँटीको डाँडामा लगेर चिरा पार्दै साथीभाइ मिलेर खानुको मजा । देवी थानको पौडी कस्तो हुन्छ के थाहा तिनीहरूलाई ? स्कुलमा गएर सयौँ थुङ्गा फुलका हामी भनेर गीत गाउँछन् तर लेकका गुराँस के थाहा तिनीहरूलाई । तिपेनी बजारको चाउमीनको स्वाद के थाहा तिनीहरूलाई । भाइबहिनीहरूले रङ्गिन सञ्चारमा रमाउँदा रमाउँदै तिनीहरूले रङ्गिन संसारै बिर्सिए । संसार रङ्गिन त त्यति बेला थियो जति बेला कबड्डी खेलेर कहिल्यै थाकिँदैन थियो , फिरफिरे उडाउन कुद्दा कुद्दै गन्तव्य कहिल्यै भेटीँदैनथियो अनि ती चौथी हानेका काँक्राले कहिल्यै अघाइँदैनथ्यो ।

Facebook Comments Box
Leave a comment