बहरवादी र स्वतन्त्रवादी दुवैलाई कमजोरी देखाइदिँदा पारो तात्छ: घनेन्द्र ओझा

२०७८ भाद्र ४, शुक्रबार २३:२६

(घनेन्द्र ओझा साहित्यका विविध क्षेत्र तथा साहित्यिक पत्रकारितामा सक्रिय स्रष्टाको नाम हो । सिर्जनामा विशेषतः कविता र गजल लेख्ने ओझा समीक्षा, समालोचना तथा साहित्य सिद्धान्तमा पनि विशेष दखल राख्छन् । उनका ‘आफ्नै चिहानमा टेकेर’, ‘बल्झेर याद तिम्रो’, ‘बाटो अझै छ बाँकी’ (राधा कणेलसँग) गजलकृति, ‘दुल्हा राजा आउनुभो’ बालगजल, ‘एउटा अर्को सङ्ग्रामको घोषणा’ कविताकृति, ‘नेपाली गजल: सिद्दान्त र विवेचना’, ‘गजलज्ञान’ र ‘गजल कसरी लेख्ने?’ (संयुक्त), ‘नेपाली गजल: विगत र वर्तमान’ (संयुक्त) सैद्दान्तिक/समालोचनात्मक कृतिहरू प्रकाशित छन् । उनले ‘बहरमाला’, ‘गजलमाला’, ‘राष्ट्रिय भाषाका गजलहरू’, ‘गजल बहस’, ‘अनाम’ पत्रिकालगायतका पुस्तक र पत्रिकाहरू सम्पादन पनि गरेका छन् । केही समयपछि उनको संस्मरण सङ्ग्रह ‘व्यक्ति एक व्यक्तित्व अनेक’ पनि प्रकाशनमा आउँदैछ। उनले दर्जनौँ अन्य स्रष्टाका कृतिको सम्पादन पनि गरेका छन् । गजलमा, विशेषतः बहरको पक्षमा वकालत गर्ने  ओझाका थुप्रै अनुयायी पनि छन् । गजल क्षेत्रमा विद्यमान थुप्रै विवाद र भ्रमहरूलाई चिर्ने दिशामा उनी निरन्तर प्रयासरत छन्। प्रस्तुत छ सेन्ट्रल खबरका लागि रमा अधिकारीले उनीसँग गरेको कुराकानीको सम्पादित अंश ।)

घनेन्द्र ओझासँग कुरा गर्नु र गजलको कुरा नआउनु, यो हुन सक्दैन । र, गजलको कुरा गरिरहँदा गजलभित्रका विवादको कुरा नआउनु पनि मजा हुँदैन ।  त्यसैले यो कुराकानी गजलमै केन्द्रित गरौँ । कुनै पनि सिर्जनाले सर्जकलाई विनम्र र सहिष्णु बनाउनुपर्ने हो तर गजल लेख्ने समुदायअलिक बढी असहिष्णु भएको पाइन्छ नि ? मान्नुहुन्छ?

जे देखिन्छ, त्यो नमानेर सुखै छैन नि ! वास्तवमा स्रष्टा स्वाभाविक रूपमै विनम्र र सहिष्णु हुनै पर्छ । स्रष्टा विद्रोही हुन्छ तर कसैका घर भत्काउन औजार बोकेर दलबलसहित जाँदैन, कसैका टाउको फोर्न हतियार र झुण्ड लिएर जाँदैन । उसको विद्रोह शब्दमार्फत चेतना जागृत गराएर हुनुपर्छ । शालीन, सभ्य र शिष्ट शब्द र शैलीले विद्रोह गर्छ सर्जक र राजनीतिक कार्यकर्ता र सर्जकमा ठूलो अन्तर छ ।

र, पछिल्लो समय नेपाली गजलमा देखिएको बहस, विवाद र मुठभेडतिर मोडिएको हो कि ! भन्ने चिन्ता होला तपाईंको । यो स्वाभाविक चिन्ता हो । तर, यस्ता बहस र विवाद चलिरहनुपर्छ भन्ने लाग्छ मलाई । बहस, विवाद अनि संवाद यो निरन्तर प्रक्रिया हो— यसले हानि गर्दैन तर मुठभेडचाहिँ हुनुभएन शिष्ट— सभ्य र शालीन बहसले नराम्रो गर्दैन ।

जानकारहरू भन्छन्, गजलमा त धारै धार छन् । बालाजुको बाइस धारा भइसक्यो गजल । केके हुन् ती धार ? तपाईं कुन धारतिर ?

केही समयअघिसम्म मलाई पनि गजलमा धार छन्, गुट/उपगुट छन् भन्ने लाग्थ्यो । अहिले हेर्दा होइन रहेछ । गजलमा धार, गुट/उपगुट नभएर अहं, अराजकता, व्यक्तिको अस्तित्वको संकट मात्र रहेछ ।

जस्तो कि— जुनजुन धार र गुट/उपगुटको कुरा गरिन्छ नि, ती त अस्तित्व जोगाउन बनाइएका झुण्ड पो रहेछन् ! ‘बहरवादी’ भन्नेले आफ्नो अस्तित्व बचाउनु छ भने ‘स्वतन्त्रवादी’ भन्नेलाई पनि गजलमा अस्तित्व जोगाउनु छ ।

यसलाई अझ प्रस्ट पारौँ— बहरमा लेख्नेहरूलाई गजलको काफियाजतिकै एउटा महत्त्वपूर्ण तत्त्व बहर हो भन्नेचाहिँ महसुस भएको छ तर गजलका लागि बहर मात्र सबैथोक होइन भन्नेचाहिँ थाहा छैन । उनीहरू बहरमा अभ्यास गरिरहेकै छन् तर खास गजल लेख्न भने सकिरहेका छैनन् । यसो भन्दा बहरमा लेख्नेहरूको पारो चढिहाल्छ । उता, स्वतन्त्र भनेर लेख्नेहरूले गजलमा बहर अनिवार्य हुन्छ भन्ने थाहा पाएर पनि त्यसबारे अध्ययन र अभ्यास गरिरहेका छैनन् बरु पढ्ने र साधना गर्ने समय बहरवादीसँग विवाद र झगडा गरेरै अनावश्यक रूपमा बिताइरहेका छन् । यसो भन्दा फेरि स्वतन्त्रवादीको कन्पारो तात्छ तर यथार्थ यही हो ।

अब म कुन धारको भन्ने सबालमा मेरो कुनै धार, गुट/उपगुट नै छैन । म यी कुनै पनि पक्षसँग सहमत छैन । यी दुवै पक्ष अपूर्ण र अपरिपक्व छन् भन्ने मेरो बुझाइ छ । म त दुवै पक्षका राम्रा र स्वाभाविक र सैद्दान्तिक कुरा स्वीकार गर्छु, कमजोरी अस्वीकार गर्छु । मलाई कोही अमूक व्यक्तिका धारणा होइन, गजलका प्रचलित सैद्दान्तिक मान्यतामा विश्वास छ र मैले अरूका मात्र होइन, आफ्नै रचना पनि सैद्दान्तिक साँचोमा राखेर हेर्दा जे देख्छु, त्यही भन्छु ।

कोही व्यक्तिसँग मेरो आग्रह वा रिसराग छैन र यस्तो भएर उसका रचना कमजोर भन्ने गर्दिनँ । मलाई गजलको शास्त्रीयतामा विश्वास छ र मैले मेरो व्यक्तिगत आग्रह नबोलेर गजलका प्रचलित मान्यता मात्र बोलिरहेको छु । यसर्थ म कुनै धार र गुट/उपगुटमा छैन अनि हुन्नँ पनि ।

गजलमा धेरै विवाद छन् । कोही यसको एउटा सार्थक निरूपण हुनुपर्‍यो भनेर लागेका छन् । तपाईंकै सक्रियतामा नेपाल प्रज्ञाप्रष्ठिानसँग मिलेर गजलको विशेष महोत्सव गरियो र घोषणापत्र पनि जारी भयो । तर, गजलभित्रका विवाद त ज्यूँका त्यूँ छन् त ! भनौँ, त्यो प्रयास निरर्थक भएकै हो त ?

जीवन्त संस्थामा, लोकप्रिय अनि चर्चित बन्दै गएको विधामा बहस र विवाद स्वाभाविक हो । गजल नेपाली माटोको उत्पादन होइन । अरबबाट उर्दू, हिन्दी हुँदै मोतीराम भट्टले नेपाली साहित्यमा भित्र्याएका हुन् गजल । मोतीरामले गजलको शास्त्रीयतासँगै गजल नेपाली भाषामा भित्र्याएका भए पनि मोतीरामको निधनसँगै गजलको शास्त्रीयता पनि गयो । त्यसपछि उपेन्द्रबहादुर जिगरले पनि आफ्नो पुस्तक ‘एक सय एक गजल’को भूमिकामा गजलको पूर्ण शास्त्रीयताको पालना आफूले गर्न नसकेको उल्लेख गरेका छन् ।

जिगरपछि झण्डै ३ दशक सुस्तायो नेपाली गजल । यसपछि विक्रमको २०३० को दशकको मध्यदेखि जब गजलका नाममा फेरि उठ्न थाल्यो, तब काफिया र रदिफ मिलाउँदा र ६ पंक्तिभन्दा बढी लेख्दा त्यो गजल हुन्छ भन्ने पर्‍यो नेपाली सर्जकहरूमा । यसरी नै डेढ दशक लेखियो । २०५० को मध्यतिरदेखि गजलबारे खोज, अनुसन्धान, जिज्ञासा बढ्न थालेपछि पो नयाँनयाँ कुरा पत्ता लागे । यसपछि नै हो गजलमा शास्त्रीयताको खोजी सुरु भएको ।

अनि २०६० को दशकको सुरुमा काठमाडौंमा ‘अनाममण्डली’ सुरु भयो र गजलमा शास्त्रीयताबारे व्यापक बहस, छलफल, अध्ययन, अनुसन्धान, प्रशिक्षण, प्रकाशन हुन थाल्यो । अब पो सुरु भयो गजलमा खास बहस र विवाद ।

यसो हुनुको कारण— पहिला गजलबारे पढ्ने सामग्री थिएनन् हामीकहाँ । गजल बुझेका कम थिए । आजको जस्तो मिडिया थिएन खोजेर पढ्न । अहिले मिलिक्कै पढ्ने सामग्री भेटिन्छ, गुगल गर्नेबित्तिकै नपाइने कुरा सायदै होला । यस अवस्थामा पढ्ने, खोज्ने, अनुसन्धान गर्नेहरूले भेटेका नयाँ तथ्य बाहिर ल्याउँछन् । ती तथ्यलाई जोकोहीले जाँच गर्न सक्छन् । तर, कोही कसैले त्यतातिर ध्यान दिएको पाइँदैन बरु माथि भनिएझैँ ‘अस्तित्व रक्षार्थ’ रिसाउँछ, झगडा गर्छ, ‘मैले यत्रो वर्ष गजल भनेर लेखेको छु, कसरी गजल होइन ?’ भनेर जित्न खोज्छ ।

कुरो रह्यो प्रज्ञाप्रतिष्ठानको गजल महोत्सव र घोषणापत्रको । यतिका वर्षसम्म राज्यको निकाय प्रज्ञाप्रतिष्ठानबाट बेवास्तामा परेको गजलले २०७६ माघमा प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव गरेपछि अब गजलको स्वामित्व र संरक्षणको जिम्मा प्रतिष्ठानले लिएको छ भनेर बुझ्नुपर्छ । प्रतिष्ठानले आयोजना गरेको सो महोत्सवले सबै पक्ष, भूगोल र क्षेत्र समेटेको थियो । त्यही महोत्सवबाट अहिले देखिएका भनिएका सबै पक्ष र ती पक्षका प्रतिनिधि बसेर एउटा घोषणा जारी गरियो— सबैका हस्ताक्षरसहित ।

उक्त घोषणामा प्रस्टै छन् सबै कुरा । त्यसको व्याख्या गर्न मथिङ्गल धेरै नचाउनै पर्दैन । बुँदा ३ र बुँदा ४ नै नेपाली गजलको सम्पूर्ण विवादको औषधि हो । ती २ बुँदालाई मनन गरेर अगाडि बढ्ने हो भने नेपाली गजलमा विवाद नै रहँदैन र नेपाली गजल परिष्कृत र उत्कृष्ट बन्नेछ ।

के छ घोषणापत्रमा त्यस्तो ? घोषणापत्रले कसरी विवाद निरूपण गर्छ ?

घोषणापत्रमा बुँदा ३ मा प्रस्टै भनिएको छ कि गजलमा छन्द/बहर अनिवार्य छ । गजलमा छन्दरबहर अनिवार्य छ भनेपछि लयको विवाद गर्नै परेन बरु छन्द/बहरमा लेख्न सिक्नुपर्ने भयो, अभ्यास गर्नुपर्ने भयो । यसमै हालसम्म गजल भनेर लेखिएका रचनालाई सम्मान गर्ने भनिएको छ । यो भनेको नेपाली गजल आजको अवस्थामा आउन अभ्यास र प्रयोग गरिएका शैलीलाई नेपाली गजलका आधार मान्ने भनिएको हो । तर, अब ती शैलीकै, ती लयकै रचना होइन, परिष्कृत र शास्त्रीय लय (छन्द/बहरबद्ध) गजल लेख्ने भनिएको प्रस्ट बुझिन्छ ।

सँगसँगै बुँदा ४ ले अझ प्रस्ट पारेको छ । यस बुँदाले छन्द/बहरमा लेखेर मात्र गजल हुँदैन भनेको छ । छन्दरबहरको अनिवार्यता प्राविधिक हो तर कुनै गजल भनिएको रचनामा सुन्दर शिल्प, कला, चामत्कारिकता, कोमलता, प्रस्तुतिमा उच्च शिल्प नभए त्यो पनि गजल हुन सक्दैन भनेको छ

तर, विवाद यसमै छ किन ! जबकि अहिले देखिएका भनिएका दुवै पक्ष— बहरवादी र स्वतन्त्रवादीलाई यी २ बुँदाले प्रस्ट सम्बोधन गरेका छन् । दुवै पक्षलाई भनेका छन् घोषणापत्रका बुँदाले कि बहरमा लेखेर शिल्प, कला, चमत्कार छैन भने त्यो गजल हुन सक्दैन । यसरी नै जति नै शिल्प सौन्दर्य भए पनि, कलात्मक र चामत्कारिक भए पनि छन्द/बहर छैन भने त्यो पनि गजल हुँदैन । अनि कसरी विवाद गरिरहने जरुरी रह्यो र अब त हरेक गजल लेख्छु भन्नेले आफूलाई परिष्कार पो गर्नुपर्ने भयो त, होइन र ! विवादका लागि विवाद मात्र हो अबको विवाद ।

नेपाली गजलमा धेरै जस्तो विवाद स्वरूपलाई लिएर रहेछन् । खोइ, गजलको आन्तरिक संरचना र विषयवस्तुलाई लिएर त खासै चर्चा भएको देखिँदैन नि ? किन यसो भएको होला ? अनुहारको कुरा छ, गुणको कुरा त ठ्याम्मै सुनिँदैन नि ?

यो सबाल अत्यन्त महत्त्वपूर्ण र गहन सबाल हो । रमाइलो यसमै छ कि हामी सवा सय वर्षअघिदेखिको गजल अभ्यासमा अहिले पनि रदिफ, काफिया, लय (छन्द/बहर) मै अल्झिएका छौँ । गजल यति मात्र होइन, साहित्यका अन्य विधासँग कुम जोडेर उभिन गजलमा धेरै कोणबाट छलफल, अध्ययन हुनु जरुरी छ । हामी प्राविधिक कुरामा बढी अलमलिएका छौँ । तर, यो आवश्यक भने छ । तथापि, यसमै मात्र नभएर गजलका आन्तरिक तत्त्वबारे पनि छलफल र बहस आवश्यक छ ।

प्रस्तुतिको शिल्प, चमत्कारपूर्ण प्रभाव, कोमलता, बिम्ब/प्रतीक, विषयको सान्दर्भिकता, काव्य/गुण र महत्ता आदिबारे हामीले चर्चा गर्न थालेकै छैनौँ । अब यो आवश्यक छ । अब हामीले गजलको अनुहारसँगै यसका भित्री अवयवबारे पनि बहस र छलफल गर्नुपर्छ ।

यसको एउटा कारणचाहिँ साहित्य र समालोचनाका दिग्गजहरूले गजललाई अझै पनि साहित्यको विधा स्वीकार गर्न नचाहनु पनि हो । खोज्नुहोस् त— विश्वविद्यालयमा गजलबारे अध्यापन/अनुसन्धान हुन थालेको यतिका वर्ष हुँदा पनि कुन स्थापित समालोचकले गजलका बारेमा चर्चा गरेको, समालोचना गरेको पाइएला ! यतिसम्म कि गजलकै बारेमा स्नातकोत्तर/एमफिल/विद्यावारिधिका शोध गराउने निर्देशकहरूले समेत गजलका बारेमा केही लेखेका छैनन् । यो विडम्बना हो ।

तपाईंले धेरैका र आफ्नै पनि गजललाई गजल भएनन् भनेको सुनियो । उसो भए एउटा रचना गजल हुनलाई चाहिने न्यूनतम शर्त के हुन् ? के तपाईंले भनेका यी शर्त पूरा गरेर गजल आएका छन् त ? कति आएका होलान्

यो तथ्य हो । म गजलकै अध्ययन र अनुसन्धानमा झण्डै २ दशकदेखि निरन्तर लागेको छु । यसबीचमा अनेक प्रयोग अन्य साहित्यमा जस्तै गजलमा पनि भएका छन् । तर, गजलले खोजेको शिल्प र सौन्दर्य धान्ने रचना भेटेको छैन मैले ।

यसबीचमा केही प्रयास भएका छन्, हुँदै छन् गजल परिष्कार तर ती पनि छिरलिएका र अलमलमा छन् । केही प्रयासहरू अध्ययन र साधनाभन्दा दम्भ र अहंकारतिर मोडिएका छन् । ती आसलाग्दा छन् तर तिनका दम्भ र अहंकारलाई नियन्त्रण गरेर आफूलाई परिष्कृत बनाउन लागेनन् भने त्यो आस पनि मर्नेछ ।

मेरा रचना गजल भएनन् भन्ने तथ्य मैले आफ्ना रचना जाँचेर नै भनेको हुँ । मैले २ दशक गजलका लागि गरेको साधना अपूरो रहेछ भन्ने गजलबारे पढ्दै, बुझ्दै जाँदा महसुस गरेको हुँ र त्यही तथ्य भनेको हुँ । आफ्नो अनुहार ऐनामा राख्दा देखिएका अनुहारका दाग मैले लुकाएर लुक्दैनन्, अरूले देखिरहेकै हुन्छन् नि होइन र ? अर्काले भनिदिएन भन्दैमा मेरो अनुहारको दाग हराउँछ र ?

म त अनुरोध गर्छु— सबैले आफूलाई ऐना अगाडि राखेर पटक पटक हेरौँ र अनुहारका दाग हटाउन प्रयास गरौँ । अर्काले ‘तेरो अनुहारमा दाग रहेछ नि!’ भन्दा रिस उठ्छ तर आफैँले आफ्नो अनुहार हेरेमा स्वाभाविक लाग्छ नि त !

गजलका लागि न्यूनतम शर्त माथि प्रज्ञाप्रतिष्ठानको घोषणाको विषयमै आइसकेको छ । थप जानकारीका लागि बजारमा गजल सिद्दान्तका पुस्तक छन्, इन्टरनेटमा सामग्री छन् ।

गजल जस्तो अर्को भूगोलमा उम्रिएको विधा नेपाल आइपुग्दा त्यसमा अलिअलि विचलन, थोरै अनुकूलन र नेपाली बान्कीको प्रवेश स्वाभाविक होइन र ? तपाईंलगायत एकथरि समालोचक अथवा सिद्धान्तकारहरूले यस्तो अनुकूलनलाई त्यति स्वागत गरेको देखिएन नि ?

हरेक विधामा केही स्वाभाविक अनुकूलनु हुन्छ— भूगोल, भाषा, परिवेशअनुसार । गजलमा पनि हुन्छ, भएको छ । तर, केही निश्चित संरचनामा भने यस्तो अनुकूलन नहुनेरहेछ । जस्तो कि मुक्तक र गजल उस्तै लाग्छ । अहिले त ४ पंक्तिभन्दा बढीका रचनालाई पनि मुक्तक नै भन्न थालिएको छ । मुक्तकको र गजलको संरचना झट्ट हेर्दा उस्तै लाग्छ ।

अब मुक्तक र गजल छुट्याउने आधार के त ! विषयवस्तु त साहित्यका हरेकजसो विधाका उस्तै हुन् नि! विधाको भिन्नता छुट्याउने केही आधार त अवश्य छन् । ती आधारलाई हेर्दा मुक्तक र गजल उस्तै देखिए पनि मुक्तकमा छन्द/बहर हुन पनि सक्छ, नहुन पनि । अन्त्यानुप्रासको कुनै निश्चित नियम मुक्तकमा पाइँदैन, अनुप्रास मिले भयो तर गजलमा अनुप्रास वा काफियाका पनि कडा नियम छन् । जे पायो त्यो शब्द, उस्तै सुनिने भए पनि गजलमा काफिया बन्न सक्दैन ।

प्रस्तुतिको शिल्प कोमल हुनुपर्ने, हार्दिक, शिष्ट र शालीन, भद्र शब्दको प्रयोग गरेर विद्रोही अभिव्यक्ति दिनुपर्ने कुरा पनि गजलको आफ्नै छुट्टै वैशिष्ट्य हो । यस कारण कुनै विधाका न्यूनतम मान्यता र मापदण्डमै विचलन गराउँदा त्यो विधाको मर्म सकिन्छ र अर्कै कुनै विधा बन्न पुग्छ ।

तपाईंका कुरा सुन्दा गजल लेख्न सजिलो छैन । सूत्र कठिन छन् । भावमा धेरै गाम्भीर्य चाहिन्छ । सूत्र र भावको सुन्दर र सशक्त संयोजन गर्न निकै कठिन देखियो । तर, यसो बजारतिर हेर्दा एउटा ठूलो भीड गजलतिर छ । लेख्नेको सङ्ख्या गन्न गाह्रो । यो विरोधाभास होइन र ?

गजल लेख्न सजिलो छैन तर गजल जस्तै रचना गर्न भने धेरै सजिलो छ । काफिया र बहरले मात्र गजल हुँदैन । २ पंक्ति तुक्का मिलाएर लेख्दैमा गजल हुँदैन । काफिया छनोट गर्न नै महाभारत हुन सक्छ साँच्चै बुझेर लेख्दा । बहर/छन्द सिकेर बहर/छन्दमै सुन्दर र सशक्त गजल लेख्नु अर्को सकस हो । छन्दभन्दा बहर सजिलो छ भनिन्छ तर बहरका नियमलाई साँच्चै पालना गर्न पनि उति सजिलो छैन ।

यद्यपि, जेजति प्रयास भइरहेका छन् नेपाली गजल लेखनमा, ती जिम्मेवार र परिष्कृत हुन सके गजल लेखनमा राम्रै अवस्था छ । सङ्ख्यामा कति जनाले लेख्दै छन् वा कतिले किताब छापे भन्ने कुराले गजलको विकास र परिष्कारमा अर्थ राख्दैन । कतिवटा गजलका संस्था खुले, कतिवटा कार्यक्रम भए वा कति जनाले वाहवाह गरिदिए भनेर पनि अर्थ छैन । मूल कुरा बुझेर गजल लेखियो कि लेखिएन ! वाहवाह भनिएका रचनामा गजल हो भन्ने बुझेर/थाहा पाएर वाहवाह भनिएको हो कि होइन !  (बहर र स्वतन्त्र दुवैका) यी थाहा पाउन जरुरी छ ।

अहिले दुवै पक्षका रचनामा ‘वाहवाह’ छ, सर्जकका लागि यो सकारात्मक र ऊर्जा दिने कुरा हो तर सर्जकले आत्ममूल्याङ्कन गर्नु आवश्यक छ— मेरो रचना गजल हो कि होइन भनेर बुझेर वाहवाह भन्यो वा भावरलयले प्रभावित गरेर मात्र ! यस कारण वाहवाह कसले गर्‍यो रु त्यस आधारमा पनि आफू र आफ्ना सिर्जनालाई परख गर्नुपर्छ ।

यो कुरा किन भनेको भने, कतिपयको भनाइ  (कुतर्क)  छ कि श्रोता / पाठकले वाहवाह भनेपछि सकियो, त्यो गजल हो । तर, कसैले वाहवाह भनिदिँदैमा त्यो गजल हुँदैन भन्ने पनि बुझ्नुपर्छ ।

गजलमा यत्रो हल्ला छ तर गजलका पुस्तक त्यति खोजिने पुस्तकको कोटिमा पर्दैनन् । यतिका गजल लेखिन्छ तर ती सङ्गीतबद्ध भएर वा रेकर्ड भएर जाँदैनन् । उसो भए गजलमा हल्ला बढी र सार्थक काम कम भएको भनेर आरोप लगाउन चाहनेलाई त यथेष्ठ आधार छन् नि!

यो आरोप तथ्यहीन होइन । हामीले गजलमा साधना, परिष्कार र अभ्यास गर्न धेरै बाँकी छ भन्ने यसले देखाउँछ । हामी सिर्जनाको उत्कृष्टताका लागि गर्नुपर्ने अध्ययन, साधना र अभ्यास छाडेर नचाहिँदा विवाद र झगडामा रुमलिएपछि पढ्नलायक, सङ्गीत गर्नलायक गजल कहिले दिन्छौँ ?

224 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal