कविता सङग्रह विमोचन

२०७८ भाद्र ३, बिहीबार १९:४३

नेपालभरि छरिएर रहेका विभिन्न कवि श्रष्टाहरूका कविताहरू समावेश गरेर प्रकाशन गरिएका दुईवटा कविता सङ्ग्रहहरू विमोचन गरिएको छ । उक्त कविताहरूलाई सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक मोहनसिह साउदले संकलन र सम्पादन गर्नु भएको हो । यी कविता सङग्रहहरू संगम बुक्स पब्लिकेसन प्रा.लि. काठमाण्डौले प्रकाशन गरेर बजारमा ल्याएको हो ।
जुमबाट सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईज्यूले उक्त कविता सङग्रहहरू विमोचन गर्दै सम्पादकलाई उक्त प्रशंसनीय कार्यको लागि बधाई तथा शुभकामना दिनु भएको थियो । प्रा.डा. भट्टराईले साहित्यिक लेखनबारे आफ्ना अनुभवहरू साँट्दै भावी दिनहरूमा युवा पुस्तालाई साहित्यलाई अगाडि बढाउन आग्रह गर्नु भएको थियो । जीवनकालमा आफूले पढाएका हजारौ बिद्यार्थीहरूमध्ये आफ्नो सपनालाई सार्थकता दिदै साहित्यिक कार्यमा लागेकोमा सम्पादक साउदलाई धन्यवाद दिद‌ै खुशी व्यक्त गर्नु भयो । नेपाली बाल कविता सङग्रहबारे साहित्यकार तथा पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, त्रिभुवन विश्वविद्यालयकी नेपाली विषयकी उपप्राध्यापक डा. अम्बिका अर्यालज्यूले टिप्पणी गर्नु भएको थियो भने अंग्रेजी बाल कविता सङग्रहबारे साहित्यकार तथा अंग्रेजी केन्द्रीय विभाग, कीर्तिपुर त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विषयका उपप्राध्यापक महेश पौड्यालज्यूले टिप्पणीसहित साहित्य लेखनबारे युवा पुस्तालाई प्रोत्साहनपूर्ण सुझाव दिनु भएको थियो ।

जनता मा.वि. ईटहरीकी शिक्षक सरस्वती न्यौपानेले उपस्थित सबैलाई स्वागत मन्तब्य दिनु भएको थियो । साथै उक्त कविता सङग्रहहरूमा कविता प्रकाशन गर्न सफल कवि श्रष्टाहरू सम्झना अर्याल (कैलाली), रुपसिह भण्डारी (दैलेख), निवना दाहाल (चितवन) र हिरा भट्ट (बैतडी) ले एकएकवटा कविता बाचन गर्नु भएको थियो ।

नेपाली बाल कविता सङग्रहमा ३३ जना श्रष्टाहरूका कविताहरू संकलित छन् भने अंग्रेजी बाल कविता सङग्रहमा ४८ श्रष्टाहरूका कविताहरू संकलित छन् । उक्त कार्यक्रमको सञ्चालन सम्पादक साउदले गर्नु भएको थियो । उहाँले आगामी दिनहरूमा यसरी नै सबै श्रष्टाहरूलाई एकै ठाउँमा ल्याएर आफूले माला उनेर सृजनाहरू प्रकाशन गर्न एउटा प्लेटफर्म उपलब्ध गराउने जानकारी गराउनु भयो । साहित्यलाई अगाडि बढाउन सहकार्यात्मक कार्य गर्दै कविता लगायत कथा सङग्रह र निबन्ध सङग्रहहरू समेत संकलन र प्रकाशन गर्न अावश्यक भएको विचार ब्यक्त गर्नु भयो ।

अन्तमा कार्यक्रमको समापन गर्द‌ै संगम बुक्स पब्लिकेसनका प्रबन्ध निर्देशक सहदेव सापकोटाले सबैलाई धन्यवाद दिनुभयो र उक्त कविता सङग्रहमा आफना सृजनाहरू प्रकाशन गर्न सफल सबैलाई बधाई दिदै संगमले प्रकाशन गर्ने जिम्मा पाएकोमा खुशी ब्यक्त गर्नुभयो। अहिलेसम्म संगम प्रकाशनले विद्यालयका तहका सबै विषयका सिरिजहरू प्रकाशन गर्दै आएकोमा साहित्यतर्फ यो पहिलो पाइला भएको कुरा सापकोटाले बताउनु भएको थियो ।

142 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal