राहुघाटको बाँध निर्माण रोकियो

२०७८ भाद्र ३, बिहीबार ०८:५९

पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो ।

बुग्लमा करिब ३०० मिटर सडक पहिराले पुरेको छ । आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट–१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताउनुभयो । “अधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग एक महिनापछि मर्मत गरेर दुईतर्फ सुरुङ निर्माण सञ्चालन गराएका छौँ”, उहाँले भन्नुभयो, “बर्खा नरोकिएसम्म बुग्लको पहिरामा सडक मर्मत गर्नसक्ने अवस्था छैन ।”

ठेकेदारले बाँधमा जग्गा व्यवस्थापन र अडिट–१ खनेर सुरुङ निर्माणको तयारी गरेको थियो । बुग्लको पहिराले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको इञ्जिनीयर नरोत्तम कार्कीले बताउनुभयो ।

पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिराले तिल्केनीचौरमा राहुघाटको विद्युत् गृह निर्माणलाई समेत प्रभावित बनाएको छ । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना गरिएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक विष्टले बताउनुभयो । पैतालीस महिनाको ठेक्का सम्झौताको म्याद यही भदौमा सकिँदैछ ।

ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदूर तथा उपकरण परिचालन नगर्दा र निर्माण सामग्री जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो । प्राकृतिक विपद् र कोरोना (भाइरस)को महामारीलाई ठेकेदारले ढिलाइको कारण भएको बताएको छ ।

100 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal