कविता : म लासहरुलाई लाल सलाम भन्दिनँ

२०७८ भाद्र २, बुधबार ०६:५१

दु:ख भएपनि जीवन हराभरा थियोे
आमा बाकाे साथ र शिरमा हात थियो
मिठाे मसिनो नभएपनि गाँस थियो
झुत्राे भएपनि आङ्गमा कपास थियो
झुपडी भएपनि बास थियो ।

एकदिन सर्वहाराकाे उन्मुक्ति गाउँमा सुनियो
हँसियाहथौडा अङ्कित मजदुर किसानको झण्डा झुल्कियाे
सँगसँगै झुस्स दारी, निधारमा राताे तारे पट्टी आयो
आसा, भराेसा, साहस र सपना देखायाे
अब जुट्नुपर्छ, लड्नुपर्छ, सामन्तीलाई जित्नुपर्छ
घरबार त्याग्नु पर्छ साथमा जङ्गल पस्नु पर्छ
भनियो, बुझाइयाे, सुनाइयाे र तुना कस्न लगाइयो
जीवन हराभरा बनाउन क्रान्तिकाे बाटो हिड्न भनियो ।

एकछिन माैन बसेँ, घर हेरेँ, गाउँ हेरेँ  ,
बा आमा बहिनीको मुख हेरेँ
दु:ख, पीडा, अभाव, दबाबबाट आजित म
अब जित्छु , परिवर्तन ल्याउँछु भनी कस्सिएँ
घरबार त्यागें  , बा आमाकाे न्यानु काख भुलें
जनताको उन्मुक्तिकाे लडाइँ लडें
केही हेरिन , सोंचिन सिवाय परिवर्तन ।

माक्र्सवाद, माओवाद, लेलिनवादकाे भारी बेस्सरी बोकें
समाजवाद सम्यावादकाे सपना बाेकि सर्वहाराकाे राज देखें
घाम, पानी, हुरी, बतास केही नहेरी पुस्तक हेरेँ
उकाली, ओराली, देउराली, टार, भन्ज्याङतिर सपना छरें
सिकाएँ, सम्झाएँ, बुझाएँ – हाम्रो यात्रा हिड्न भनें
मान्नेलाई मान दिएँ नमान्नेलाई मान्ने बनाएँ
चन्दाकाे धन्दा पनि रोजें, क्रान्तिको खातिर ।

हतियारको धारमा जवानी बिताएँ
गाेली बारुद बमसँग रात कटाएँ
लुकुछिपि जीवन जाेगाएर
छापामार , मिलिसियाकाे पगरी पाएँ
कयौं रहर इच्छा सबै क्रान्तिलाई तिलान्जली दिएँ ।

तर आज पश्चतापमा लाल नदि किनारमा
बेदना पखाल्दै कम्युनिस्ट नेतालाई चिन्दै छु
माक्र्सवाद, माओवादलाई गरिबीले धुदै छु
क्रान्तिकाे अस्तुलाई सलाउँदै छु
गद्दार कमरेडलाई जलाउँदै छु
दलाल कमरेडलाई चिहान खन्दै छु ।

म हेर्दै भक्कानिएकाे छु
त्यो साथ र समर्थनप्रति पछुताएकाे छु
कमरेडकाे कमसलताले विलासिता जगाएकाे छ
गरिब मजुरकाे रगत रेड वाइन भएको छ
चिल्ला कारले चाउरी परेको गाला नहेर्ने भएको छ
एकाएक सबै भुलेछन्
आशा भराेसा सपना जलाए छन्
दलालकाे गुलाम भएर धन जाेडेछन् ।

अब यी नव सामन्ती
लाल सलाम सुन्दा झस्किने भएछन्
देब्रे हातको त्यो मुठ्ठी देख्दा तर्सिने छन्
हँसियाहथौडा अंकित लाल झण्डा देखे भाग्ने छन्
गरिब मजदुर किसान देखे , त्यो कारले किच्ने छन्
अनि भन्ने छन् समाजवादकाे सत्यानास
साम्यवादकाे स्वर्गवास , मजदुर किसानकाे उठिबास ।

167 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal