शिक्षकहरुलाई प्रविधी सिकाउदै प्राविधिमैत्री शिक्षक समाज, मोरङ

२०७८ भाद्र १, मंगलवार १८:०५

कोरोना कहरको बिच यतिबेला विद्यालयहरु बन्द छन् । विद्यालय बन्द भएतापनि सिक्ने र सिकाउने कार्य भने रोकिएको छैन । विद्यालयहरुले वैकल्पिक कक्षाको विकल्प अपनाइ अहिलेको विषम परिस्थितिमा पनि शिक्षण कार्यलाई निरन्तरता दिइरहेका छन् । यसका लागि अनलाइन कक्षा अति उपयुक्त भएको छ ।

तर, अहिले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकहरुलाई निकै हम्मेहम्मे परेको छ । नविनतम प्रविधिमा खासै ज्यादा ज्ञान नहुँदा शिक्षकहरुलाई अनलाइन कक्षामा आवश्यक सामाग्री निर्माण र सम्प्रेषणमा समस्या देखिएको हो । यसका कारण अझै पनि कतिपय ठाउँमा अनलाइन कक्षा हुनुपर्ने जति प्रभावकारी देखिएको छैन ।

यसै समस्यालाई मध्यनजर गर्दै प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिती, मोरङले मिटिङ्ग एप जुमबाट “बालबालिका उत्सुक छन् : हामी तयार छौं, प्रविधिमैत्री कक्षाकोठा आजको आवश्यकता “ भन्ने मुल नाराका साथ “Teacher Training on Mobile Pedagogy” कार्यक्रम सञ्चालनमा ल्याएको थियो । २०७८ साउन २५ गते देखि ३१ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा मोबाइलबाट नै कसरी शैक्षिक सामाग्रीहरु निर्माण र प्रयोग गर्न सकिन्छ भन्ने कुराको प्राविधिक सीप शिक्षकहरुलाई सिकाइएको समितिका सचिव खगेन्द्र बस्नेतले हामीलाई जानकारी दिनुभयो । बस्नेतका अनुसार कार्यक्रममा नविनतम एप्सको चिनारी र प्रयोग साथै कसरी कम्प्युटरको सट्टामा मोबाइल नै प्रयोग गरेर शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे पनि सिकाइएको हो ।

सात दिन सम्म चलेको उक्त कार्यक्रममा हरेक दिन विज्ञहरुलाई आमन्त्रित गरेर शिक्षकहरुलाई सहजीकरण गरिएको समितिको अध्यक्ष चेतनाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार डाक्टर दोभान राई, टक प्रसाद गौतम, प्राध्यापक डाक्टर शुवर्ण शाक्य, सुर्यराज घिमिरे, कृष्ण प्रसाद पोख्रेल, भुपेन्द्र कोइराला र राजेन्द्र बुढाथोकी लगायतका बिज्ञहरुलाई बोलाएर तालिम दिइएको हो ।

समितिको पदाधिकारीका अनुसार करिब १ हजार शिक्षकहरुले कार्यक्रममा जुम मार्फत प्रत्यक्ष सहभागीता जनाइ तालिम लिएको हो । यस्तै तालिमका कारण शिक्षकहरुमा नयाँ उर्जा आएको र शिक्षकहरुले अबका दिनमा अनलाइन कक्षा सञ्चालन गर्नलाई पनि समस्या नहुने प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा समितिको उपाध्यक्ष धर्म कुमारी कालाखेतीले सहजीकरणमा उठेका प्रश्नहरुको सम्बोधन गर्दै कार्यक्रमलाई व्यवस्थापन गरेर होस्टको भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै, संयोजक अनिल कार्कीले नेतृत्वमा रहेको तिर्थ काफ्ले र राजिव सापकोटासहितको तीन सदस्यीय प्राविधिक टोलिले आवश्यक सम्पुर्ण प्राविधिक पक्षलाई व्यस्थापन गर्दै कार्यक्रमलाई सफल बनाउनु भएको थियो ।

261 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal