व्यावसायिक कृषिले फेरिँदै छ ‘जीवनस्तर’

17

कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय मार्फत लाखौँ आम्दानी गर्न सफल भएका छन् । पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत शहरमा पुग्न थालेका छन् ।

सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ। यसबाट व्यवसायलाई थप राहत पुगेको भोजपुर नगरपालिकाका कृषक सङ्गीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले केही वर्षबाट व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छु । बजारमा यसको राम्रो माग छ । अहिले हाम्रो उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहँुचका कारण फार्मबाट बेच्न पाएका छौँ ।”

त्यस्तै रामप्रसाद राई गाउँपालिकाका कृषक खेलबहादुर कार्कीले पनि पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय बजारमा प्रतिकेजी रु २५० देखि ३०० सम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुर्सानी तथा तरकारीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । राम्रै आम्दानी गरिरहेको छु ।”

टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहनुभएको छ । कृषक उहाँले अहिले २२ रोपनी क्षेत्रफलमा डा«गन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ।

उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाउनुभएको छ भने दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको उहाँले बताउनुभयो । उहाँले तीन वर्षअघिबाट जिल्लामा पहिलो पटक ड्रागन फलको व्यावसायिकखेती गर्न थालेको बताउनुभयो । अहिले उहाँका फार्ममा रहेको ड्रागनले फल दिन थालेको छ ।

उहाँले भन्नुभयो, “म २२ वर्षपछि पुनःगाउँ फर्केर व्यावसायीक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, सुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरै थरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”

उहाँले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको बताउनुभयो । अरुण गाउँपालिका– ६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती शुरु गर्नुभएको छ । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका उहाँले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती शुरु गरेको बताउनुभयो ।

उहाँका फार्ममा अहिले एक हजार ६०० बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी रु ३०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । वार्षिकरुपमा ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “विदेशमा धेरै समय बसे, त्यहाँ धेरै दुःख गरियो, तर सोचेअनुसारको आम्दानी गर्न सकिएन अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यू फल) खेतीमा लागेको छु । मेरो वार्षिक रु ३० लाख आम्दानी लिने लक्ष्य छ ।”

सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत रु ६ करोड ५६ लाख १७ हजार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रु पाँच करोड ३३ लाख ७७, हजार बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

पकेट, ब्लक जस्ता अन्य विभिन्न कार्यक्रममार्फत कृषकलाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा र भोजपुरका प्रमुख हिमालय पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख पोखरेलले भन्नुभयो, “पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।”

कृषि ज्ञान केन्द्रमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यान्न फलफूल, तरकारीखेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले भन्नुभयो, “विगत वर्षबाट नै कृषक प्रोत्साहनमूलक धेरै कार्यक्रम सञ्चालन भइरहेका छन्। यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएका छन् । यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । हामीले विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक निर्माण गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसले पनि कृषकलाई उत्साह थपेको छ ।”

कार्यक्रममार्फत यस वर्ष जिल्लामा सञ्चालन हुने योजनाको विषयबस्तुकाबारेमा समेत राय सुझाव सङ्कलन गरिएको छ । सरकारले कृषक लक्षित विभिन्न योजना सञ्चालन गरे पनि वास्तविक कृषकसम्म पुग्न नसकेको सहभागीले गुनासो गरेका छन् । सञ्चालित योजनाको अवस्थाका बारेमा समेत नियमित अनुगमन गर्नुपर्ने धारणासमेत राखेका छन् ।

सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ । कतिपय कानूनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हँुदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजक हुन सरोकारवाला पक्षले सुझाव दिएका छन् ।

Facebook Comments Box