एमसीए नेपालले भन्यो कानुनअनुसार नै जग्गा अधिग्रहण

२०७८ श्रावण ३१, आईतवार २२:३०

एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेशनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ ।

उक्त सब–स्टेशनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीए नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेशन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ । यस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहण गरिएको हो । ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्डअनुसार भुक्तानी गरिएको थियो ।

सब–स्टेशन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सरकारले गठन गरेको एमसीए–नेपाल विकास समितिले गरेको छ । विकास समिति ऐन, २०१३ ले दिएको अधिकारअनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चलअचल सम्पत्ति एमसीए–नेपाल विकास समितिले खरिद गर्ने र ती सम्पत्ति एमसीए–नेपालको नाममा मात्र दर्ता भएको छ । अनुदानअन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौताअनुरूप राख्न नमिल्ने जानकारी गराइएको छ ।

अधिग्रहण गरिएका जग्गा हाल अर्थ मन्त्रालयअन्तर्गतको एमसीए–नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सब–स्टेशन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व सरकारको निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

100 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal