बहुदलीय संसदीय पुँजीवादी व्यवस्थामा लगातार ब्राह्मण जातबाट आएका नेता मात्र हावी हुनु केवल संयोग मात्र हुनै सक्दैन् – आहुती

85

आहुती नेपाली बौद्धिक वृत्तमा व्यापक भएको नाम हो । तपसीका गीतहरू, नयाँ घर, स्खलन, गहुँगोरो अफ्रिका, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्षलगायत पुस्तकहरु प्रकाशित गरेका आहुती कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी दर्शनबाट प्रभावित भएका व्यक्ति हुन् । आहुती विसं २०४० को दशकदेखि नेपालको क्रान्तिकारी आवर्तन बोक्ने साहित्य र चिन्तकका रूपमा परिचीत छन्  ।

नेपालको गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो भन्ने आहुती गणतन्त्रको तोडफोड गर्न आवश्यक रहेको तर्क राख्छन् ।
‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृङ्खला उहाँका प्रभावशाली रचना हुन् । ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यपक्षलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । उनी भन्छन्, ‘ भूमण्डलीकृत पूँजीवादको कारण आज संसारको कुनै पनि देशमा हामीले खोजेको गणतन्त्र सम्भव देखिंदैन । यसैले अब गणतन्त्र मात्र भनेर हुँदैन ।’ ‘वैज्ञानिक समाजवादी गणतन्त्र’मा मात्र समाज आफैं हावी हुन सक्छ । वैज्ञानिक समाजवादमा मात्र विज्ञानका सत्यमा आधारित रहेर समाज प्रगतिशील रूपमा अगाडि बढ्छ । पूँजीवादले खाइदिएको यो गणतन्त्रको नयाँ र वैज्ञानिक खोजी ‘वैज्ञानिक समाजवादी गणतन्त्र’ले मात्र सम्भव छ ।’ आहुती नेपालमा व्यवस्था परिवर्तनको आवश्यकता भएको तर्क खुलेआम राखिरहने व्यक्ति हुन् । आहुतीले नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आएका छन्  । क्रान्ति र समाजवाद आजैबाट कार्यान्वयन गर्न सकिन्छ भन्ने जुझारु अभिव्यक्ति दिने आहुती दलालवादी संसदीय व्यवस्था र त्यसले घोषणा गरेको गणतन्त्रको कुनै तुक छैन । कुनै पनि हालतमा नयाँ व्यवस्थामा हामी जानैपर्छ भन्छन् । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक विश्वभक्त दुलाल ‘आहुती’ को विविध चित्र, कथा, प्रत्याभूति र विचारबारे सेन्ट्रलखबरको लागि रविन्द्र ढुंगेलले तयार गर्नुभएको स्तम्भ ।

बाल्यकाल सम्बन्धमा :

म काठमाडौं नैकापमा जन्मिएको हुँ , सार्की परिवारमा, ०२४ मा। नैकापमा उतिबेला नेवार अलि बढी, केही परिवार बाहुन–क्षेत्री र सार्कीहरू ३६ परिवार थिए। त्यतिबेला मेरो गाउँमा चर्को छुवाछुत थियो। पँधेराहरूमा छुवाछुत हुन्थ्यो। दलितका पँधेरा पनि बेग्लै थिए।

केही बारी र खेत भएको निम्नमध्यम वर्गीय मेरो परिवारको खास पेसा जुत्ता बनाउने थियो। मेरा दुई दाइ र दुई दिदीले घरको कामले गर्दा खासै पढ्न पाएनन्। परिवारका सबैभन्दा कान्छा सदस्य भएकाले पनि मैले सानैमा स्कुल छोड्नु परेन। मलाई पढ्न सहज भने भएन। उतिबेला स्कुलमा शुल्क तिर्नुपर्थ्यो। त्योसँगै पुस्तक र पोसाक किन्न पैसा जुटाउँदाजुटाउँदै ढिला हुन्थ्यो। फागुनदेखि स्कुल खुल्थ्यो, म चैत कटेपछि मात्रै स्कुल जान थाल्थेँ ।

यस्ता दुःख १ देखि ५ कक्षासम्म रह्यो। ६ कक्षादेखि भने मलाई केही राहत मिल्यो, म कक्षामा प्रथम हुन थालें। विद्यालयले प्रथम विद्यार्थीसँग शुल्क नलिने भयो।
६ कक्षादेखि भने मैले ऊनको कपडा बुनेर परिवारलाई सघाएँ । त्यतिबेला उपत्यकामा ऊनका कपडा बुन्ने लहर नै थियो। काठेतानमा बुनेको कपडा सहजै बिक्री हुन्थ्यो।

‘दिदीको कानका गहना बेचेर कीर्तिपुरबाट पुरानो तान किन्यौँ, नौ सय रुपैयाँमा,’ ‘एक मिटर कपडा बेचेर ६० रुपैयाँ नाफा हुन्थ्यो।’ मैले स्कुल पढ्दै बिहान–साँझ दिदीलाई सघाउँथे। दिदीभाइले दिनमा ६०–७० रुपैयाँ कमाउँथे, त्यो रकम त्यतिबेला निकै ठूलो थियो।

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को एजेन्डा, सांगठनिक स्वरुप, वर्तमान शासकीय व्यवस्थाको सम्बन्धमा :

२०४६ को परिवर्तनपछि लगातार ब्राह्मण जातका प्रधानमन्त्री भए । अपवादका रूपमा शेरबहादुर देउवा क्षत्री आए । राजा वीरेन्द्रको अन्त्यपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका रूपमा ब्राह्मण नेता ल्याउन चाहेनन् । निवेदन माधव नेपालले पनि हालेका हुन् तर रोजे देउवालाई । ०६२/०६३ को जनआन्दोलनपछि पार्टी राजनीति हावी भयो । त्यसपछि फेरि ब्राह्मण प्रधानमन्त्री बन्ने लहर आयो । देउवाबाहेक बहुदलीय संसदीय पुँजीवादी व्यवस्थामा लगातार ब्राह्मण जातबाट आएका नेता आजसम्म हावी छन् । यी घटनाक्रम केवल संयोग मात्र हुनै सक्दैनन् । बरु आर्य–खस जाति अथवा राष्ट्रभित्रका शासक जातहरूबीचको गम्भीर सत्ता संघर्षका जीवन्त शृंखला हुन् । नेपालमा उत्पीडित जाति वा राष्ट्रियताको मुक्तिको विषयमा पहिचान शब्द प्रयोग भइरहेको छ । पहिचान , राष्ट्र वा राष्ट्रियता , पहिचान राजनीति वा पहिचानवादजस्ता विषय एउटै हुन् । यसमा बुझ्ने, अथ्र्याउन खोज्ने र भ्रममा रुमल्लिने समेत अवस्था छ । यी विषयमा सही बुझाइ बनाउन सकिएन भने उत्पीडित जाति वा राष्ट्रियताको वास्तविक मुक्ति र मुद्दा धरापमा पर्ने परिस्थिति बन्न पुग्छ । नेपालका संवैधानिक व्यवस्थामा हरेकपटक परिवर्तन हुन्छ र सामाजिक जात व्यवस्थामा आधारित संरचना ज्युँदै हुन्छ । बनाउँदै गयौं, अन्ततः जात व्यवस्थाजस्तै पार्टी बन्छ । त्यसकारणले दक्षिण एशियाको वर्ग संघर्षलाई जात व्यवस्थाबाट अलग गरेर हेर्नुहुँदैन । यो ठाउँको लोकतान्त्रिक या कम्युनिष्ट आन्दोलन जात व्यवस्था विरोधी हुनुपर्छ । अनि समाजवाद आउँदा पनि जात व्यवस्था नभएको समाजवाद आउँछ भनेर हामीले अर्को निष्कर्ष हामीले निकालेका छौँ । आधारभुत विश्व कम्युनिष्ट आन्दोलनलाई नै अगाडि बढाउने निष्कर्षसहित संगठनको निर्माणमा पनि नयाँ निष्कर्षमा छौँ । अहिलेसम्मको संगठन पिरामिड आकारको बन्यो । जुन पुँजीवादले सिर्जना गरेको हो । पुँजीवाद उत्पादनकर्ता र उपभोगकर्ताको बीचमा सम्बन्ध विच्छेद गरेर टिकेको हो । आम मानिसले समान रूपमा अवसर भोग्न पाउने कुरा त औपचारिक रूपमा पुँजीवादले पनि गर्छ तर पुँजीवादमा पुँजीपति र श्रमिकले न समान अधिकार पाउँछन् न त समान उपभोग नै । वर्गीय समाज र सत्ता हुन्छ भने अधिकार र उपभोगमा भेदभाव नहुने कसरी ? यसबारे पनि यो विचार मौन छ । यस विचारले उत्पीडित पहिचान भएका मानिसको मुक्ति कुन दर्शन, कुन राजनीति र कस्तो राजनीतिक व्यवस्थामा हुन्छ भन्ने विषयलाई आफ्नो कार्यसूचीमै राख्दैन । के विचारधारा, राजनीति र राजनीतिक व्यवस्थाबिना कुनै उत्पीडित समुदायले मुक्तिको कल्पना गर्न सक्छ ? असम्भव । त्यसैले यो व्यवस्था सबैभन्दा थोरै मानिसले शासन गर्नका लागि बनेको हो । कम्युनिष्टहरुले त बहुसंख्यक मानिस, श्रमिकहरु शक्तिशाली बन्ने भनेका छन् । बहुसंख्यक शक्तिशाली बन्न त निर्णय गर्ने अधिकार पनि बहुसंख्यकमा हुनुपर्छ नि ! त्यसकारणले पार्टी पनि हामीले छाल आकारको बनाउनुपर्छ ।

यौन, प्रेम र सामाजिक संरचनाको सम्बन्धमा:

हिजो सामन्तवादमा महिलालाई पुरुषको सहयोगीभन्दा पनि दासीका रूपमा दोस्रो दर्जाको मानिस मानिन्थ्यो । हुन त पुँजीवादअघि पनि विवाहका विभिन्न मानक थिए । मागी विवाह नै मुख्य थियो भने लुटी विवाह पनि प्रचलनमा थियो नै । थोरै मात्रामा भागी विवाह पनि हुन्थ्यो । भागी विवाहले आपसी प्रेमलाई दर्साउँथ्यो । तर, त्यति बेला भागी विवाहलाई प्रेम मानिँदैनथ्यो । अहिले भागी विवाहलाई प्रेम विवाह मान्ने गरिन्छ । रोज्ने चलनसँगै छाड्ने चलनको विकास भयो । यसले स्वतन्त्रताको सङ्केत गर्छ । कोही कोही मानिस प्रेममा बिछोड भएपछि मर्ने या बहुलाउने गर्छन् । त्यो चाहिँ भावुकताको पराकाष्ठा हो । बिछोड हुँदा प्रेमको अनुरागमा भावनामा अवश्य चोट पर्छ । तर, जिन्दगी नै सकियो भन्ने मान्यता सही होइन। किनकि, त्यसअघि पनि धेरैले प्रेम गरेका थिए, धेरैको बिछोड पनि भएकै छ । प्रेम र बिछोड आवेगका कुरा मात्र हुन्। अनि यौन, प्राविधिक विषय । समाजको विकाससँगै प्रेम, यौन, प्रजनन र सहजीवनलाई बुझ्ने एवं भोग्ने शैलीमा परिवर्तन आएको छ । जसरी मेसिन, कारखाना, उद्योगधन्दा, बजार, शिक्षण संस्थालगायतको विकास भयो, त्यही क्रमसँगै विपरीत लिंगीबीचको सम्बन्ध पनि संस्थागत र वैधानिक बन्दै गयो । अर्थात् पुँजीवादी समाजको विकास क्रमसँगै प्रेम र यौनका विषय खुल्दै गए । त्यसअघिको सामन्तवादी समाजमा महिलालाई घरभित्रै थुनिनुपर्ने जन्तुझैँ व्यवहार गरिन्थ्यो । पुँजीवादले मानिसमा सामूहिकताको विकास गर्याे । विभिन्न जात, भाषा र धर्मका मान्छेलाई आफ्नो समूहमा भेला गरिदियो। जसले महिला–पुरुषको यौन जीवनसँगै सम्बन्धको नयाँ परिभाषा र थप आयामको खोजी भयो । सम्बन्धका लागि महिलाले पुरुष र पुरुषले महिला रोज्ने स्थिति सिर्जना भयो । समाज विपरीत लिंगीबीचको सम्बन्धबाटै सिर्जित छ, यो ध्रुव सत्य हो । यो नियम मानव मात्र होइन समग्र जीव समाजमा लागू हुन्छ । विपरीत लिंगीबीच सम्बन्धका बहुआयाम छन् । यौनसँगै प्रजनन, सहजीविका र सामाजिक जीवनका लागि विपरीत लिंगीबीच आकर्षण त्यसपछिका सबै सम्बन्ध अनिवार्य नै छ । नत्र सृष्टिको चक्र अघि बढ्न सक्दैन । विचार र रुचि मिलेपछि सङ्कल्पको समय आउँछ । त्यसपछि नै आउँछ समर्पणको चरम अवस्था । यो अर्थमा जीवनमा धेरैसँग आकर्षित हुन सकिएला र भइन्छ पनि । धेरैसँग प्रेम बस्न सक्ला । तर, हामीले प्रेम र आकर्षणलाई यौन र प्राप्तिसँग मात्रै जोडेर हेर्ने गर्याैं । यौन र प्राप्ति नै समर्पण होइन । त्यागमा पनि प्रेम लुकेकै हुन्छ । तर वास्तवमा बलात्कार चाहिँ यौन होइन, अत्याचार हो । शारीरिक रूपमा गरिने अत्याचार । पागलपनको हद । तर, कतिपयले बलात्कारलाई पनि यौनसँग अनि यौनलाई प्रेमसँग जोडेर हेर्ने गरेको पाइन्छ । त्यो सोचाइ नै गलत छ । प्रेम अनुभूति गर्ने विषय हो । यसर्थ, यसलाई ज्यादा गम्भीर रूपमा लिन जरुरी छैन । विपरीत लिंगीबीच आकर्षित भएर गरिएको प्रेम टुट्यो भने पनि सामान्य कुरा मान्नु पर्छ । प्रेममा बिछोड हुनु एउटा औसत दुर्घटना चाहिँ अवश्य हो । दुर्घटना हुँदा एउटा अंगमा चोट लाग्यो भन्दैमा जीवन नै खेर फाल्न त सकिँदैन नि ! संसारमा प्रेमबा६ पाइने सुखभन्दा हजार गुणा बढी दुःख अरूतिर छन् । मान्छे मारिएका छन् । करोडौँ मानिस शरणार्थी भएर बस्न बाध्य छन् । अर्बाैंं मान्छे खान नपाएर मरिरहेका छन् । बाँच्नकै लागि १८ घण्टासम्म श्रम गरिरहेका छन् । त्यो दुःखलाई हेर्‍यो भने प्रेममा हुने बिछोड त सामान्य लाग्न सक्छ ।

धर्म बारे :

यहाँ धर्मको अर्थ ईश्वरजन्य मान्यता नभएर सर्वस्वीकृत सामाजिक मान्यतासँग सम्बन्धित रहेको स्पष्टै छ। नेपालमा धर्मबारे जसरी बहस चलिरहेछ, त्यसले वास्तवमा आफ्नो धर्म नै छाड्दै गएको छ। बहसको पनि उत्तरदायित्वपूर्ण नियम हुन्छ, जुन बहसको धर्म हो। बहसका तर्क र जिकिरहरू पूर्वाग्रह, तोडमोडमा आधारित हुन्छ भने बहस स्वयंले आफ्नै धर्म छाडेको ठहर्छ। धर्मनिरपेक्षता भनेको पापसापेक्ष राज्य बनाउने हो भन्ने स्तरको वितण्डता देखापर्नुले यस कुरालाई सजिलै प्रस्ट गर्छ। समाजमा स्थापित अन्यायपूर्ण संरचनाको जग त्यसको वैचारिक अवधारणा हो। वैचारिक अवधारणबारे जनतालाई भ्रमित नपारेसम्म गलत संरचना र स्वार्थजन्य नियम बनाई स्वीकार्य बनाउन सम्भव हुँदैन। यो काम माछा मार्न पानी धमिल्याउने भनेजस्तै हो। न्याय चाहने जनता माछा हुन् र पानीचाहिँं धर्म बारेको बहस, जुन बेस्मारी धमिल्याइँदैछ। एकातिर धर्मनिरपेक्षतालाई हिन्दु धर्मविरोधी विषयको रूपमा विकृत पारेर हिन्दु समुदायलाई उत्तेजित पार्न खोजिँंदैछ, अर्कोतिर धर्मलाई राष्ट्रियता एवंंं राष्ट्रिय सुरक्षासँग समेत गाँस्ने दुस्साहस गरिँदैछ। कुनै पनि धर्मको आधारभूूुत घोषित मान्यता अर्को धार्मिक समुदायविरुद्ध लक्षित भएको कतै उल्लेख छैन। अनि धर्म कुन शास्त्रमा राष्ट्रियताको अंग हो? धर्महरू वैचारिक आस्थागत पन्थहरू हुन्, राष्ट्रियताको आधारभूत अंग नै होइनन्। तर आज सब अवधारणाहरू गोलमाल पार्न प्रयत्न गरिँदैछ।
धर्म जीवित मानिसको भावनामा बस्ने आस्था हो। धर्मनिरपेक्षता राज्यलाई सबै धर्मप्रति समान व्यवहारका निम्ति तयार पार्न प्रतिपादित सिद्धान्त हो। राज्यले एउटा धर्म ग्रहण गर्दा त्यसले स्वत: अरू धर्ममाथि भेदभाव गर्नु अनिवार्य बन्छ। त्यसैले राज्य धर्मद्वारा होइन्, बरु सबै धर्म र नास्तिक नागरिकसमेत सहमत संविधानबाट चलाउन निरपेक्षता स्वीकार भएको हो। राज्यले धर्मनिरपेक्षतालाई स्वीकार्दा देशका सबै धर्मावलम्बी र नास्तिकहरू स्वत: धार्मिक स्वतन्त्रताको अधिकार भोग्न पाउँछन् अर्थात् जहाँ धर्मनिरपेक्षता हुन्छ, त्यहाँ स्वत: धार्मिक स्वतन्त्रता हुन्छ। धार्मिक स्वतन्त्रताचाहिंँ आधारभूत रूपमा समाजको निम्ति चाहिने सिद्धान्त हो, किनभने समाज धेरै धर्म र नास्तिक प्रवृत्तिमा समेत विभाजित हुनसक्छ। धार्मिक स्वतन्त्रतामात्र मानिन्छ भने राज्यले कुनै धर्ममा आधारित भएर नीति बनाउँदा नागरिकको मौलिक अधिकार हनन गरेको नठहरिन सक्छ। त्यसकारण धार्मिक स्वतन्त्रताले पुग्छ भन्नु नागरिकको धार्मिक अधिकारमाथि सधैंंभरि तरवार झुन्डाउनु सरह हो। धर्म बारेको विश्वव्यापी यी सिद्धान्तलाई तोडमोड गर्नु भनेको एक प्रकारको बौद्धिक अपराध हो।
यो अपराध संविधानमा नागरिकको धर्मबाट अलग हुने अधिकार खोस्ने स्तरसम्म बढ्दैछ। यो धर्मनिरपेक्षताको मात्र हैन, धार्मिक स्वतन्त्रताको विरुद्धसमेत छ। यसले त मानिसको चेतनामा आउने परिवर्तनलाई समेत अस्वीकार गर्छ। यो पुरै पुरातनपन्थ हो। साँच्चै भन्नुपर्दा यो एक प्रकारको बौद्धिक पागलपन हो। वास्तवमा सबै धर्मका फरक पन्थहरू पहिलेको पन्थबाट अलग भएर बनेका हुन्। करिब २५ सय वर्ष अघिका सन्त कपिलदेखि आजका भौतिकवादीसम्मका नेपालीहरू आफ्नो धर्मबाट अलग भएरै नयाँ विचारमा पुगेका हुन्। संविधानमा गर्न लागिएको यो व्यवस्था मान्ने हो भने गौतम बुद्ध धार्मिक अपराधी थिए भनी घोषणा गरे हुन्छ, किनभने उनले पुरानो छोडेर नयाँ विचार प्रादुर्भाव गरेका थिए। जबर्जस्ती धर्म परिवर्तन बेग्लै कुरा हो। जबर्जस्ती गरिन्छ भने राज्यले कडा सजाय गर्नुपर्छ। तर यहाँ त राज्य स्वयं जबर्जस्ती गर्न पो तम्सिएको छ। धर्म सम्बन्धी अवधारणाहरूलाई आज जसरी तोडमोड गरिँदैछ, त्यो साँच्चै लज्जाजनक छ।

Facebook Comments Box