कविता : तिमी त कस्तो छली रहेछौ!

सरस्वती न्यौपाने

154

तिमी त कस्तो छली रहेछौ
तिमी त कस्तो जाली रहेछौ
गरिबका चुला चिस्याउन आयौ
दु:खीका घरबार रित्याउन आयौ
कमाउनेका माझ खास बनेर आयौ
गुमाउनेका माझ गास छिनेर आयौ
कालो औंसीको रात भएर आयौ
शोकपीडाका खात बनेर आयौ
कहिल्यै नबिर्सने घात बनेर आयौ
सिङ्गो बिश्व समुदायको अभिशप्त छ
तिमी हामी सबैका श्राप बनेर आयौ
साँच्चिकै मानव समुदाय उदास छ
यो धरती उजाड उजाड छ
तिमी खडेरी बनेर आयौ।

तिमी त आएनौ –
पैसा, बैँस, शक्ति र पहुँचमा मस्त भएकाहरूमाझ,
आयौ हरपल केवल कहर बनेर
असहाय र अशक्तका कोखको घाउ बनेर आयौ
अनि आयौ काखको बैरी बनेर
तिमी त सारै नै स्वार्थको क्रूर रूप लिएर आयौ
लाखौं बच्चाका अनगिन्ती सपनाहरूमा बादल बनेर आयौ
अनि समात्यौ कमजोरहरूका छाती, घाँटी र मलिन फोक्सोमा आयौ विस्मय, शङ्का र स्वार्थको सङ्गीन बनेर।
तिमी चढ्न सकेनौ विश्वविद्यालयका अग्ला सिँढीहरू
सक्यौ केवल धमिरा भएर जग भत्काउन
हो, सोझै रुखलाई सबैले काट्नका लागि सक्छ पत्याउन।
तिमी कुदिरहेकाले थाकेर होला सायद,
पुग्न सक्तैनौ बजारका भिडहरूमा
सडकका ठेल मठेल गाडीहरूमा
होटेल रेस्टुरेन्टतिर
व्रतबन्ध र बिहेका पाटीहरूमा।

तिमी मन परेकामाझ कहिल्यै पिरती गाँस्दैनौ रे
आफ्नामा माया टाँस्दैनौ रे ठुला व्यापारी देख्दै पर भाग्छौ रे अनि गाउँका मसिना घुम्ती पनि ताक्छौ रे
कमजोर देखेरै पिरती साट्छौ रे
कस्तो छली रहेछौ कोरोना!!!
जनताले कर तिर्नुपर्ने बेला सबैलाई छाडेर अन्तै भाग्छौ रे!
कमाउनेका माझ खास बनेर आयौ
गुमाउनेका गास खोस्न आयौ।

Facebook Comments Box