लघुकथा लेखनमा शब्द र भाषाको कन्जुस्याइँ हुनुपर्छ

181

भारतको मणिपुर प्रान्तमा रहेर नेपाली साहित्यको उत्थानमा समर्पित स्रष्टाको नाम हो देवीप्रसाद थापा ‘मामा’ । पेसाले शिक्षक मामा मूलतः लघुकथा र कविता लेख्छन् , यद्यपि उनका कथा पनि यदाकदा प्रकाशित छन् । उनका प्रकाशित कृतिहरूमा लघुकथाहरू ‘आमा’, ‘बाबा’, ‘सासू’ र ‘माइती’ प्रमुख हुन् भने ‘कौब्रुको काखबाट’ कविता सङ्ग्रह हो । ‘इचे शर्मिला’ उनको मणिपुरी भाषामा प्रकाशित कविता सङ्ग्रह हो । मणिपुरमा रहेर पनि नेपाली भाषासाहित्यको उत्थानमा समर्पित मामा वर्तमान समयमा उत्तरपूर्वी भारतमा रहेर लेखिरहेका स्रष्टाहरूमा अग्रगण्य नाम हो । प्रस्तुत छ सेन्ट्रल खबरका लागि रमा अधिकारीले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

विगत डेढ दशकमा लघुकथा लेखनमा आफूलाई एक स्थापित नाम बनाउन सफल हुनुभयो । यो यात्रालाई कसरी हेर्नुहुन्छ?

विगत डेढ दशकदेखि म लघुकथा लेखनमा लागेको सत्य हो तर म आफूलाई सफल लघुकथाकार चाहिँ भन्दिन । म एउटा सिकौरे लेखक हुँ। म यस यात्रालाई एउटा लेखकीय जीवनको तालिमकै रूपमा लिन्छु ।

लघुकथा लेखकको गुह्य कुरा के रहेछ? अन्य कथासँग केकस्ता भिन्नता रहेछन्? अनुभवबाट भन्दिनू न ।

लघुकथा लेखनमा सबैभन्दा रहस्यपूर्ण कुरा भनेको शब्द र भाषाको कन्जुस्याइँ हुनुपर्छ । अन्य लामा विधाका कथाहरूमा वाक्यहरू बटारबटुर गर्न मिल्छ तर लघुकथामा त्यस्तो गर्न मिल्दैन। लघुकथालाई विशेष गरेर संकेतमै लेख्नुपर्ने हुन्छ ।

बीचमा अन्य विधा पनि लेख्नुभयो । कविता प्रकाशित भयो । अझै पनि कविता फाट्टफुट्ट आइरहेका देखिन्छन् सामाजिक सञ्जालहरूमा । तर कविता क्षेत्रमा त्यति आक्रामकतासाथ लाग्नु भएन नि?

हो, यस बीचमा मैले दुईवटा कविता सङ्ग्रह “इचे शर्मिला” मणिपुरी कविता सङ्ग्रह र “कौब्रुको काखबाट” नेपाली कविता सङ्ग्रह प्रकाशित गरेँ। कहिलेकाही लामा कथाहरू पनि पत्रपत्रिकाहरूमा प्रकाशित गरेँ। अहिले पनि लामा कथाहरू लेखिरहेको छु। भविष्यमा एउटा लामो कथाको सङ्ग्रह निकाल्ने अठोट गरेको छु। सामाजिक सञ्जालमा फाट्टफुट्ट कविता लेख्ने कारण भन्नुपर्दा कविताको क्षेत्र मैले सोचे जस्तो होइन रहेछ। विधाहरूमध्ये सबैभन्दा विशाल र गाह्रो विषय भएको हुँदा सञ्जालमा रहेका कवि मित्रहरूबाट सुझाव बटुल्नका निम्ति फाट्टफुट्ट लेखेको हुँ। भविष्यका दिनहरूमा पक्कै कवितातर्फ आक्रामकतासाथ लाग्ने छु। मेरो साहित्यिक यात्रानै कविताबाट प्रारम्भ भएको हो। लघुकथा विधामा त थाहै नपाई प्रवेश गरेको हुँ ।

भारतको मणिपुरमा बस्नुहुन्छ । त्यहाँ नेपाली साहित्यको वातावरण कस्तो छ?

भारतीय नेपाली साहित्यको उद्गम स्थलको इतिहास कोट्याउनु पर्छ भने मणिपुर पुग्नु नै पर्छ । तुलाचान्द आलेको “मणिपुरका लडाइँकको सवाई” सन् १८९३ मा यसै माटोमा लेखिएको हो। यसै सवाईबाट भारतीय नेपाली साहित्यको श्रीगणेश भएको हो। भारतीय नेपाली साहित्यको बीजारोपण भएको माटोमा साहित्यिक वातावरण त्यति मौलाएको देखिँदैन । यसको मूल कारण-यहाँ नेपालीभाषाको पठनपाठन हुन नसकेको र नेपाली मुलधारबाट टाढा भएकाले हो ।

भारत र नेपालका नेपाली भाषी साहित्यकारहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन के गर्नुपर्ला?

भारत र नेपालका नेपालीभाषी साहित्यकारहरूबीच अझै प्रगाढ सम्बन्ध बनाउनका निम्ति साहित्यिक मञ्च तयारी पार्नु पर्नेछ। समय समयमा साहित्यकारहरूको भेट हुने जमर्को मिलाउनुपर्छ। नेपालतिर प्रकाशित भएका विभिन्न विधाका पुस्तकहरू मणिपुरलाई उपलब्ध गराउनुपर्छ । यता मणिपुरमा प्रकाशित भएका पुस्तकहरू उताकाले समीक्षा गरेर यहाँका साहित्यकारहरूको कमीकमजोरी देखाइदिनु पर्छ ।

Facebook Comments Box