बिचरा भाग्यहीनहरू !

नारायण गाउँले

42

देउवा र ओलीजस्तो पार्टी अध्यक्ष बन्ने सपना विश्वका धेरै नेतामा हुन्छ तर ती त्यति भाग्यमानी भने हुँदैनन् !
-धेरैपल्ट प्रधानमन्त्री भइसकेका र पटक पटक अवसर पाएर पनि उल्लेख्य केही गर्न नसकेका देउबाको नेतृत्वमा कांग्रेस तलदेखि माथिसम्म पराजित भयो । पार्टीले इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन गर्दा समेत उनलाई पार्टीभित्र राजीनामा दिनुपर्ने माग कसैले राखेन ।

-चुनाव त परको कुरो भयो, पार्टी सभापतिका रूपमा उनले पदाधिकारीसम्म नियुक्त गर्न सकेनन् । पार्टी सङ्गठनात्मक रूपले मृतप्रायः रह्यो । समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नेभन्दा अधिवेशन पर सारेर सभापति बनिरहने षड्यन्त्रमा उनी लागे । जब कार्यकाल सकियो, बल्ल उनले मनोमानी र अनैतिक रूपले कार्यविभाजन सुरु गरे । एउटा लोकतान्त्रिक भन्न रुचाउने दलले महाधिवेशन कहिले गर्छ भन्ने टुङ्गो छैन र पार्टी नै अवैध हुने डर छ । र पनि देउबा निर्बाध सभापति छन् र कसरी रहिरहने भन्नेमा छन् ! कांग्रेस भनेको पार्टी होइन, देउबा हो जस्तो देखिएको छ । उनले कृपा गरेर दिए भने महाधिवेशन हुन्छ ।

-ओलीले आफू अध्यक्ष रहेको र निकै बलियो एमालेलाई विघटन गरेर पुष्पकमलसँग मिली नेकपा नामको दल बनाए । दुई दल मिल्दा स्वभावतः ठूलो बहुमत प्राप्त भयो । तर उनले दुई दलबाहिरका उपेन्द्र यादवहरूलाई अर्को दलभन्दा बढ़ी महत्त्वका साथ उपप्रधानमन्त्री दिएर सरकारमा ल्याए । कसैले केही भनेन । उनको निरङ्कुश र एकलौटी क्रियाकलापले अन्ततः नेकपा दल विभाजन भयो र बहुमत गुम्यो । झन्डै दुई तिहाइ बहुमत भएको बताउने उनले संसदमा सामान्य बहुमत पनि पाउन सकेनन् ।

-उनको ठूलो रणनैतिक र राजनैतिक निर्णय पार्टी एकीकरण थियो । जुन असफल हुँदा उनी आफै खुशी देखिए । उनको दोस्रो राजनैतिक निर्णय संसद विघटन थियो, त्यो पनि असफल भयो । गुठी मास्ने योजना पनि सफल भएन । न उनले मिति नै तोकेको पानी जहाजको टिकट काट्न पाइयो न चीनबाट चुच्चे रेल नै काठमाडौं आयो । राणाकालीन केही किलोमिटरको ट्ऱ्याक मर्मत गरेर भारतसँग किनिएको डिजल रेल पनि थन्किएर बस्यो । तर पनि उनलाई पार्टीले प्रश्न गरेन।
-केन्द्रमा मात्र होइन, सातमध्ये छ वटा प्रदेशमा आफ्नो प्रभुत्वको सरकार थियो । तर उनले जोगाउन सकेनन् । यसमा उनको दम्भ र हठ मुख्य थियो । तासको घरझैँ केन्द्रदेखि प्रदेशसम्मका सरकार ढलेर विपक्षको पोल्टामा पुग्दै छन् । पार्टी सङ्गठन छिन्नभिन्न बनेको छ । र गत चुनाबमा कांग्रेसजस्तै एमाले यतिबेला ऐतिहासिक रूपमा कमजोर बनेको छ । तर अध्यक्षका रूपमा उनले जिम्मेबारी स्वीकार गर्न परेको छैन । एमाले भनेको पार्टी होइन, ओली हो जस्तो देखिन्छ । पार्टी टुक्रा होस् तर ओली अध्यक्ष बनिरहून् भन्ने कार्यकर्ता पाउनु दुर्लभ कुरा हो ।बोल्दा एउटा शब्दमात्रै पनि द्वि-अर्थी या उल्टो परेर राजनीति सकिएका उदाहरण पश्चिमतिर प्रशस्त पाइन्छ । अझ पार्टी या राजनीतिक एजेन्डा फेल हुँदा त तिनका अध्यक्ष केही घण्टा पनि टिक्न गाह्रो हुन्छ । बोलेको कुरा र दिएको टाइमफ्रेममा काम नगर्दा माफी माग्दै राजीनामा दिनुपर्ने प्रेसर हुन्छ । संसददेखि मिडियासम्म उठ्ने प्रश्नको हरेक दिन जबाफ दिन पर्ने हुन्छ। खाजा खाएको दुई चार डलरको समेत हिसाब दिनुपर्ने हुन्छ । तिनलाई नेपालको राजनीति र देउबादेखि ओलीसम्मको ङिच्च नैतिकता देखेर बड़ो लोभ लाग्दो हो ! बिचरा भाग्यहीनहरू !

Facebook Comments Box