भाइलाई मिर्गौला दिएर बचाउने दाइ

18

शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भन्नुभयो, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उहाँले अघि थप्नुभयो, “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भन्नुभयो, धेरै खुशी लागेको छ ।”

जिल्लाको ताराखोला गाउँपालिका–४ का डमप्रसाद र उहाँको परिवारमा अहिले हराएको खुशी एकाएक फर्किएझैँ भएको छ । भाइ दुवै मिर्गौलाले काम नगरेर थलिएपछि नदुख्ने मन कुन दाइसँग पो हुन्छ र ? डमप्रसादलाई पनि त्यस्तै भइरहेको थियो । वर्ष दिनसम्मको उपचारले बीसको उन्नाइस नभएपछि उहाँका भाइ ५५ वर्षीय ओमबहादुरको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । आर्थिक अभियानका माध्यमबाट खर्चको जोहो पनि भयो । कसले मिर्गौला दान गर्ने विषयमा परिवारले सरसल्लाह गरे ।

अन्ततः दाइ डमप्रसाद नै अघि सर्नुभयो, भाइको जीवन रक्षाका लागि । उहाँ आफ्नो मिर्गौला भाइलाई दान दिन तयार हुनुभयो । “भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो”, डमप्रसादले भन्नुभयो । उहाँले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहनुभएका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गर्नुभयो । डमप्रसादलाई शल्यक्रियाकक्षबाट सामान्य शय्यामा सारिएको छ । उहाँका भाइ ओमबहादुरको भने सघनकक्षमै विशेष निगरानीसहित उपचार चलिरहेको छ ।

डमप्रसादले आफूलाई आराम हुँदै गएको र स्वास्थ्यमा राम्रो सुधारको महसुस भएको बताउनुभयो । ओमबहादुरका छोरा जीवनका अनुसार मङ्गलबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सक प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको उहाँले उल्लेख गर्नुभयो । जीवनले बुबाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । “अझै एक साता अस्पतालमै राखेर बुबाको उपचार हुन्छ, डाक्टरले त्यसपछिको अवस्था हेरेर निर्णय गर्ने भन्नुभएको छ ।”

मिर्गौला प्रत्यारोपणका लागि नौ दिनअघि ओमबहादुरलाई केन्द्रमा भर्ना गरिएको थियो । उहाँमा गत वर्ष भदौमा पहिलोपटक मिर्गौलाको समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएको थियो । “बुबाको दुवै मिर्गौला फेल भएपछि पोखराको गण्डकी अस्पतालमा लामो समय डायलासिस ग¥र्यौं”, छोरा जीवनले भन्नुभयो, “अहिले सबैको साथ, सहयोगबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।”

वडा सदस्यसमेत रहनुभएका ओमबहादुरको उपचारमा अर्थाभाव भएपछि स्थानीय नवसिर्जना युवा क्लब र लोकसम्पदा अध्ययन अनुसन्धान अभियानमार्फत रु १७ लाखभन्दा बढी सहयोग जुटेको थियो । क्लबले मात्र रु १५ लाख बढी सहयोग उठाएको अध्यक्ष पूर्णभद्र न्यूरेले बताउनुभयो ।

देश विदेशबाट स्वतःस्फूर्तरूपमा आर्थिक सहयोग प्राप्त भएको उहाँको भनाइ छ । हालसम्म रु नौ लाख जति उपचारमा खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपण र थप उपचारमा लाग्ने खर्च बेग्लै छ । नेपालमा कुनै पनि व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्न परेमा उसका आफन्तले मात्र मिर्गौला दान गर्न पाउने कानूनी व्यवस्था छ ।

Facebook Comments Box