कविता : भीमदत्तसँग संवाद

२०७८ श्रावण २७, बुधबार १७:४६

मान्छेहरूले नचिने के भो ?
डडेल्धुराको हावापानी डाँडाकाँडा
रुख विरुवाहरूले चिनेको छ
भीमदत्तलाई
क्रान्ति ,
क्रान्ति त डडेल्धुराको माटोले देखेको छ ।

सत्तरी वर्ष नबाँचे के भो ?
एक पुरुष सत्ताईस वर्ष बाँचेर
युगौंसम्म जीवित रहनेछन्
भीमदत्त पन्तका नामले
क्रान्ति,
क्रान्ति त डडेल्धुरामा बहने हावामा
दौडिरहन्छ आफ्नै गतिमा ।।

म भीमदत्तको सालिकको छेउँमै उभिएँ
र भीमदत्तलाई सोधेँ,
‘बा, तपाईँले बोल्नु भएको शब्द के हो ?’
मुसुक्क हाँस्दै
सालिकले म तर्फ हेर्दै भन्यो,
‘बालक,
के प्रश्न सोध्छौ तिमी
सुन न एकपटक मेरो गीत
बम्बै जाने रेल गाडीमा दिल्लीको माल आयो
गरिबका दिन आया ठालुको काल आयो ।’

म झसङ्ग भएँ
र मैले फेरि सोधेँ
‘बा, हजुरले बोल्नु भएको कुनै अर्को शब्द ?’
त्यो सालिकमा ज्यूँदो रहेको टाउको
जसले चिच्याउँदै भन्यो,
‘बाबु, तिमी लाश बनेका छौ जसको अगाडि
मैले तिनैलाई भनेको हुँ
पाखण्डी पुरुष
कि त जोत हलो कि त छोड थलो
यदी होइन भन्या हुनेछैन् भलो ।’

मैले त त्यहीँ बेलामा
हलो जोत्नू भनेको हुँ राजालाई
तिमी, तिमीले भने
न आजसम्म आफूले जोत्यौं हलो
न राजालाई जोत्न लगायौं हलो
हैट!
तिम्रो गणतन्त्र
अब, अब तिमी
गणतन्त्रलाई झोलामा बाँधेर लैजाऊ बाबू
र तिम्रो गणतन्त्रलाई प्रेसर कुकरमा राखेर
बेस्सरी पकाएर खाऊ ।

यतिबेला मेरो आँखाबाट खस्यो
एक ढिक्का आँसु
र भूइँमा ड्याम्म बजारियो
म मान्छे भएर आजसम्म नबोलेको
एक शब्द
ड्याम्म भूइँमा बजारिएको आँसुले बोल्यो र भन्यो,
‘बाच्नुस् बोकेर स्वाभिमान
र बाड्नुस जनतालाई नुन ।’

सालिकले सम्झायो मलाई
र सुनायो आफ्नो विगत
जसले भनेका थिए घर छोड्ने बेलामा
पार्वती, म मरेछु भने पनि
आफ्नो सिउँदोको सिन्दुर नपखाल्नू
किनकी
सहिदहरू मर्दैनन् लाटी
तीन छोराछोरीकी आमा पार्वती
रित्तो भयो पार्वतीको कोख
जसले गुमाइन्
तीनै छोराछोरी र आफ्ना पतिदेवलाई
उनै हुन पार्वती
कसरी बाँची होलीन्  ?
आफ्नो कोख र पतिदेवलाई गुमाएकी पार्वती देवी ।

जसले गरेका थिए कुरा
देश, विकास र किसानका
उनैलाई लगाईयो श्रीपेच राज्यद्रोहको
उनैको काटियो शीर
र शीरलाई झुण्ड्याईयो
बाँसको अग्लो खम्बामा ।

काटिएको शीर बसेको थियो
शासकभन्दा अग्लो ठाउँमा
आज त्यहीँ ठाउँमा शीर छोपेर बाँचिरहेछन्
ज्यूँदा जनताहरू ।

मसँग बोलिरहेको भीमदत्तको सालिक
सालिकको घाँटीबाट खस्यो
एक थोपा रगत
र रगतले भूइँमा लेखिदियो
किसान राज जिन्दावाद
मैले ठिक त्यतिबेला सोँचे
कुन देशमा चलिरहेको होला आज ?
भीमदत्तले देखेको किसान राज ।

क्रिया समेत नगरिँदोरहेछ
देश, विकास र परिवर्तनका लागि लड्नेहरूको
यो कुरा सुनेको हुँ मैले
भीमदत्तको सालिकबाट
मसँग बोलिरहेको सालिकले भन्यो मलाई,
‘बाबू, बाँच्न चाहन्छौ भने
पौरखका साथ बाच्नू
मर्न चाहन्छौ भने स्वाभिमानका साथ मर्नू
तर कालो दास भएर कहिल्यै नबाँच्नू
कालो लास भएर कहिल्यै नमर्नू ।’

166 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal