नीतिगतरुपमै शैक्षिक प्रविधिका पूर्वाधार दिगो बनाउनुपर्छ

संजय सुमन

63

अमेरिकामा दि फ्लोरिडा भर्चुअल स्कुल, मिचिगान भर्चुअल स्कुल र अन्य स्कुलहरूले पूर्णरुपमा भर्चुअल स्कुल संचालन गरिरहेका छन्।

संसारका प्रविधिमैत्री देशहरूले भर्चुअल विधालय नै संचालन गरिसकेको अवस्थामा नेपालजस्तो शिक्षामा पिछडिएका देशहरू कोभिड – १९को अवस्थाले भर्चुअल प्रक्रियामा जान बाध्य भएका छन् ।

कोभिड – १९को महामारीमा शिक्षण – सिकाइलाई गतिशील राख्न नेपालका विधालयहरूले संचालन गरेका भर्चुअल कक्षाहरू, विविध समस्याहरूका वावजुद, शिक्षालाई चलायमान राख्न थोरै भएपनि मद्दत गरेको छ । भर्चुअल कक्षाका आफ्नैं समस्याहरू पक्कै पनि छन्। शिक्षामा समानता र समताको आधारमा पहुँच, सूचना तथा प्रविधिमा पहुँच, शिक्षण सिकाइको गुणस्तरीयता, विधालयले फी मात्रै असुल्ने जस्ता समस्याहरू पक्कै छन् । यी विविध समस्याहरूका वावजुद शिक्षण सिकाइ सुचारु राख्नु मात्रै पनि एउटा सराहनीय कार्य हो। बच्चाहरू भर्चुअल माध्यमबाट भएपनि अन्तरक्रिया गर्न पाएका छन्। सिकाइ प्रक्रियामा संलग्न हुन् पाएका छन्। प्रविधिमैत्री हुने वातावारण बनेको छ।

हुन त, बच्चाहरू घरमै पनि घरपरिवारको सहयोगमा सृजनशील कार्यमा संलग्न भइरहेका पनि छन् । बच्चाहरू घरका कामकाजमा प्रत्यक्ष संलग्न हुन् पाएका छन्।  पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्न पाएका छन् । कलाका विभिन्न विधामा सक्रियता बढाएका छन्। गर्न सक्नेले प्रविधिसँग साक्षात्कार गर्न पाएका छन् । यी सबै सिकाइ नै हुन्।

अहम् कुरो त के हो भने, यतिका मेहनत गरी भर्चुअल कक्षाका लागि बनाइएका पूर्वाधारलाई भौतिकरुपमा कक्षा संचालन हुँदाखेरि कसरी सदुपयोग गर्ने ? या फेरि ब्याकसिफ्ट हुने हो ?

अपेक्स लाइफ स्कुलका उप – प्रधानाध्यापक प्रकाश गुरागाईं भन्छन् , ‘भौतिकरुपमा कक्षा संचालन भएपनि हामी अनलाईन टुल्सहरूको भरपूर प्रयोग गर्छौं।’ उनि भन्छन, ‘ सूचना प्रविधिको प्रयोगबाट अब पन्छिनै मिल्दैन – विधार्थीहरू प्रविधि – मैत्री भैसके। भौतिकरुपमा कक्षा संचालन भएपछिपनि सूचना र प्रविधिको प्रयोग गर्छौं ।’

यो महत्वपूर्ण मुद्दा हो । जसरी भर्चुअल कक्षाका लागि टीम्स, मीट्स, जूम, भाइवर, मेसेन्जरदेखि विविध सूचना तथा संचारका माध्यमहरूको प्रयोग गरेर शिक्षण सिकाई शुचारु गरिएको छ ती पूर्वाधारलाई चटक्क छोड्ने हो भने गरेका सम्पूर्ण लगानी र मेहनत व्यर्थ हुनेछ।

इन्टर्नेशनल पब्लिक स्कुल, महेन्द्रनगर, कन्चनपुरका शिक्षक कृष्ण जोशी भन्छन्, ‘ भर्चुअल कक्षा राम्रो भइरहेको छ । भौतिकरुपमा कक्षा संचालन हुँदापनि सूचना तथा प्रविधिलाई प्रयोग गर्न सकियो भने शिक्षण सिकाई केही न केही उपलब्धिमुलक हुन्छ। ‘

यधपि, यो परिवर्तनको निरन्तरता रहने / नरहने कुरा मूख्य हो । यी सूचना तथा प्रविधिलाई सरकारले नितिगतरुपमै लागू गर्न सके मात्र दिगो परिवर्तनको रुपमा लिन सकिन्छ । तर अहिलेको अवस्था बाध्यात्मक हो ।

योजनाबद्धरुपमा वा नीतिगतरुपमा नआएकोले यो परिवर्तनको स्थायित्वमा शंका रहेको बताउँछन् काठमाडौं  विश्वविधालयका प्राध्यापक तथा शिक्षाविद् प्रा. डा. बालचन्द्र लुइँटेल । उनी भन्छन् , ‘ जुनरुपमा भर्चुअल कक्षा हुनुपर्ने हो त्यो भएकै छैन, यो त गर्नैपर्ने भएर – बाध्य भएर गरेको हो । नीतिगतरुपमा नआउँदासम्म देखिएको यो क्षणिक र बाध्यात्मक परिवर्तन टिक्दैन र यसको खासै अर्थ पनि हुँदैन ।’

पक्कै पनि अहिले भइरहेको शैक्षिक गतिविधिहरूको अनुगमन र मूल्यांकन हुनुपर्ने हो । विधालयहरू के कसरी शिक्षण – सिकाईमा संलग्न भइरहेका छन् ? कहाँ – कहाँ चुकिरहेका छन् ? यी विविध शैक्षिक क्रियाकलापहरूको निरीक्षण र अनुगमन गर्दै शिक्षविद्दहरूको सरसल्लाहमा दिगोरुपमा कायम गर्न सक्नुपर्छ ।

Facebook Comments Box