घुर्चुको महादेव बुक्टोअर्थात् सत्यश्वर गुफा ओझेलमा

२०७८ श्रावण २५, सोमबार ०७:४५

हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारको घुर्चुमा अवस्थित महादेव बुक्टोअर्थात् सत्यश्वर महादेव गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्णसमेत बन्दै गएको छ ।

त्रिधार्मिकधाम हलेसीबाट करिब दुई घण्टाको पैदलयात्रापछि पुगिने सत्यश्वर गुफामा हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीले परापूर्वकालदेखि पूजाआजा गर्दै आएको गुफा व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राईले बताउनुभयो । “सत्यश्वर गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो, “प्राकृतिक हिसाबले सुन्दर तथा ऐतिहासिकस्थल सत्यश्वर गुफा संरक्षण र प्रचारप्रसारको अभावले आझेलमा परेको छ ।”

सत्यश्वर महादेव गुफामा हिन्दू धर्मावलम्बीको महादेव, पार्वती, कृष्ण, हनुमानलगायतको मूर्ति रहेको छ । बौद्ध धर्मावलम्बीको आस्थाको प्रतीक छ्योर्तेन (माने), बोधिचित्तको दाना, गुरु रिम्पोचेको पदचापको मूर्ति र निशानासमेत रहेको छ । किराँत समुदायको पुर्खाले महादेव बुक्टोअर्थात् स्थानीय चाम्लिङ राई महादेव गुफामा किराँतीको मूलदेवताको प्रतीक तीन चुल्हा र नागेलुम र साकेलाको प्रतीक नागथानसमेत रहेको छ । उत्तरतर्फ फर्केको पहरामा अवस्थित गुफा वरिपरि ससाना गुफामा विभिन्न देवीदेवताको स्वरूप देखिने प्रतिमासमेत देख्न सकिन्छ ।

प्राकृतिक गुफाको दायाँतर्फबाट ओरालो झर्ने क्रममा सबैभन्दा पहिले भोलेश्वर गुफा भेटिन्छ । यहाँ विभिन्न किसिमका धार्मिक साधकले साधना गर्ने गरेको स्थानीय बासिन्दा एवं नेकपा एमालेका नेता जुद्ध पुलामीले बताउनुभयो । ढुङ्गैढुङ्गाले बनेको प्राकृतिक पहाराको फेदमा रहेको मुल गुफाभित्र शिव पार्वतीको मूर्ति रहेको छ । प्राकृतिक हिसाबले बनेको शिवको आकृति, शिव लिङ्ग र पार्वतीको मूर्तिमा स्तनसमेत स्पष्ट देख्न सकिन्छ । योसँगै जोडिएका अर्को गुफामा बौद्ध धर्मावलम्बीको छ्योर्तेन माने पनि छ ।

गुफाको आसपासमा हनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधिचित्तको दाना, गुरु रिम्पाचेको पदचिह्न, जलविहार गर्ने कर्कटको आसनजस्ता आकृति हेर्न पाइन्छ । यी सबै प्राकृतिक शिलाको दैविक चिनारी रहेको गुफाको शिरमा अर्को नागेलुम गुफा रहेको छ ।

नागथानका रूपमा चिनिने उक्त गुफाको बीचमा रहेको अर्को गुफाभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट कोशीतर्फ लम्कँदै गरेको नागको अर्को आकार देख्न सकिन्छ । गुफाभित्र केही अप्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेकी छन् । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा दूधकोशीको जयरामघाट स्थानीय राई भाषामा (वारीपुङ) आएका र त्यसपछि सत्यश्वर गुफामा एक रात लुकेर बसेको किंवदन्ती छ ।

सत्यश्वर गुफामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि गुफा वरिपरि पदमार्ग निर्माण गर्न नगरपालिकाले गत वर्ष रु १० लाख बजेट विनियोजन गरेको थियो । धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको घुर्चुको सत्यश्वर गुफा स्तरोन्नतिका लागि हलेसी महादेव विकास समितिबाट रु दुई लाख बजेट प्राप्त भएको स्थानीय बासिन्दा एवं पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरकुमार राईले जानकारी दिनुभयो ।

गुफैगुफा रहेको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रभित्रका पर्यटकीयस्थलको स्तरोन्नति गर्न नगरपालिकाले पहल थालेको छ । एघार वडा रहेको यस नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका दर्जनौँ गुफा तथा पर्यटकीयस्थल रहेका छन् । त्रिधार्मिकधामको नामले विश्व प्रसिद्ध हलेसी गुफा आसपासमा मात्रै दर्जन बढी प्राकृतिक गुफा रहेका छन् । प्राकृतिकरूपले समेत विश्व प्रसिद्ध हलेसीमा नेपालका सबै जिल्ला तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका देशबाट दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् ।

दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरिबोधिनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ ।

104 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal