केन्द्र र परिधिको दायराको मिति गुज्रिसक्यो

२०७८ श्रावण २२, शुक्रबार २२:१२

सीमा आभास विराटनगर निवासी युवा कवि तथा कथाकार हुन् । “साँझको सँघारबाट”, र “म स्त्री अर्थात् आइमाई” कवितासङ्ग्रह र ”टापूका स्वरहरू” कथासङ्ग्रह उनका प्रकाशित कृति हुन् । उनका कथा तथा कवितामा विशेष गरी नारीवादी आवाज पाइन्छ भने उनी एक निडर र अत्यन्तै जुझारु स्रस्टा हुन् । अङ्ग्रेजी बिषयमा एमए गरेकी उनी एक सक्रिय युवा साहित्य अभियन्ता, एक कुशल रेडियोकर्मीका साथै कार्यक्रम आयोजक पनि हुन् । प्रस्तुत छ रमा अधिकारीले सेन्ट्रल खबरका लागि उहाँसँग गरेको कुराकानीको सम्पादित अंश ।

कथा साहित्यबाट पुस्तक प्रकाशन आरम्भ गर्नुभयो । अहिले कवितामा सुपरिचित नाम हो सीमा आभास । कतातिर आफूलाई बढी सन्तुष्ट पाउनुभएको छ ? किन होला ?

२०६३ सालमा “साँझको सँघार” कविता सङ्ग्रहबाट प्रकाशन सुरु भएको हो । २०६६ सालमा “टापुका स्वरहरू” कथासङ्ग्रह र २०७३ मा दोस्रो कविता सङ्ग्रह “म स्त्री अर्थात् आइमाई” छापिएको हो । कविता भनेर कविता नै लेख्न सके कविता लेख्न र पढ्नजति आनन्द कुनै पनि विधा हुँदैन । राम्रो कविता पटकपटक लेख्न सकिँदैन तर पटकपटक पढ्न सकिन्छ । राम्रो लेख्न सके जुनसुकै विधामा पनि सन्तुष्ट भइन्छ । पढ्दाचाहिँ जोकदेखि दर्शनसम्म मुड अनुसार जे पढ्दा पनि आनन्द लिन सक्छु।

केन्द्र र परिधि भनेर थाक्दैनन् कतिपय मानिसहरू । तपाईँले विराटनगरमा बसेरै तथाकथित केन्द्र हल्लाइरहनुभएको छ । यो केन्द्र र परिधि भन्ने विभाजनका बारेमा तपाईंको धारणा के छ?

मेरो लेखनयात्राको सुरूदेखि नै मलाई केन्द्र र परिधिमाथि विश्वास थिएन । अहिले पनि छैन । लेखक हुन सबैभन्दा पहिला आफूमाथि विश्वास हुनुपर्छ । आफ्नो क्षमताको विकास गर्नुपर्छ । न्यूनतम सुविधा भएको ठाउँमा जहाँ बसे पनि हुन्छ । लेख्नको लागि काठमाण्डु नै हुनुपर्छ भन्ने सोंच पहिला त थिएन । अब त झनै त्यस्तो सोच्नै पर्दैन । लेख्नचाहिँ सक्नु प¥यो । छाप्नलाई पनि खासै टाउको दुखाइ हुँदेन । अनलाईन, पत्रपत्रिका, प्रकाशनगृह प्रशस्त छन् । पहिला लेखकले प्रकाशक खोज्थे । अब प्रकाशकले राम्रा लेखक खोज्न थालेका छन् । अब त केन्द्र र परिधिको दायराको मिति गुज्रिसक्यो ।

तपाईंका कवितामा विविध स्वर छन् । तर तिनमा सबैभन्दा मुखर स्वर भनेको लैङ्गिक समानताको पक्षमा छ । एक स्त्री, अर्थात् तपाईंकै भाषामा ‘आइमाई’ हुनुको बोधले तपाईंको लेखन कतिको बाधित, सहज वा प्रभावित भएको पाउनुभएको छ ?

लैङ्गिक समानता भनेको महिलाको पक्षमा भन्न खोज्नुभएको होला । सबैभन्दा पहिला म महिला हुँ । म महिला भएर यो समाजमा बाँच्दा समाजले मलाई कसरी क्रिया या प्रतिक्रिया गर्छ भन्नेबारेमा मेरा खुद अनुभव छन् । समाजका नियम कानुनले ममाथि गर्ने व्यवहारको महसुस मैले गर्न सक्छु । आम महिलाहरूको एक प्रतिनिधि पात्र म पनि हुँ । आफूले जे जानेको छ, जे भोगेको छ, साहित्यमा त्यही लेख्ने हो । साहित्य कोरा कल्पना मात्र हैन, आफ्नो भोगाइ र अनुभव पनि हो । त्यसैले महिलासँग सम्बन्धित लेख्न सहज हुन्छ ।

अङ्ग्रेजी पढ्नुभयो । नेपाली लेखिरहनुभएको छ । अङ्ग्रेजी साहित्यको अध्ययन र भाषाको ज्ञानले नेपाली लेखनमा कस्तो टेवा पु¥याउँदो रहेछ ? तपाईंको अनुभवले के भन्छ ?

अङ्ग्रेजी साहित्य पढेको कारणले टेवा त पुग्छ नै । तर हामीले लेख्दा र पढ्दा आफ्नो भाषाको जगमा नै उभिनुपर्छ भन्ने ज्ञानचाहिँ अङ्ग्रेजी पढेपछि नै थाहा पाएँ । हामीले हाम्रो साहित्यको अध्ययन र उन्नयनमा नै लाग्नुपर्छ । हामी उभिन सक्ने पनि यसैमा हो । आमाको काखमा बस्दा जानेको भाषा, एक्लै हिँड्दा सोचिने भाषा, सपना देख्दा प्रयोग हुने भाषा हृदयसँग जोडिने भाषा हो । लेख्नलाई हृदयको भाषा चाहिन्छ ।

हाम्रो समय धेरै सामाजिक मूल्यहरूमा तीव्र परिवर्तन आइरहेको समय हो । लैङ्गिक तथा जातीय विभेद, क्षेत्रीय तथा आर्थिक असमानता आदिका विरुद्ध आजको साहित्य मुखर रूपमा उभिएको छ । यस्तो समस्यामा कवि–लेखकको दायित्व के हुन्छ जस्तो लाग्छ?

यो समयमा कवि लेखकसँग ठूलो जिम्मेवारी छ । मुद्दा माथि साहित्य लेखिने समयमा छौँ । हामीले लेखेको साहित्य जवाफदेही, भोलिको पुस्तालाई समेत उपयोगी र अहिले उठेका कुनै पनि मुद्दालाई नबिथोलीने गरी लेख्नुपर्छ । लेखकका अक्षर र शब्दहरू खुकुरीको धारमा छन् । धारबाट जोगिएर लेख्न सकेन भने लेखक आफ्ना अक्षरले आफैँ रेटिनेछन् ।

276 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal