कविता – जात

मोहन सिह साउद

133

तिमी आफूलाई उपल्लो जातको भनी गौरव गर्छौ
अरुलाई निच जातको ठानी विभेदी मानसिकता बोक्छौ
तिम्रो शरीर काटे न त दूध आउँछ न त अमृत नै
रातो रगतले बनेको शरीर अरुको भन्दा फरक देख्ने
सबैका उस्तै अंगहरू भएको शरीर कसरी उचनिच भयो ?

जातमा ठूलो ठानेर के भो र सोंचमा कति नीच रैछौ नि
मानवजात ठूलोसानो सोच्ने तिमी कस्तो मानसिकरोगी
सक्छौ भने निच जातले छोएको हावामा श्वास नफेरी बाँच
तिमीले देख्ने अछुत जातले टेकेको पृथ्वीमा नटेकी हिंड
महामानव घोषित गर्दै अर्कै लोकमा बस्ती बसाली बस !

प्रकृतिले जैविक रुपमा छुट्याएको महिला पुरुष जातभित्र
उपजात निर्माण गरी आफूलाई ठूलो बनाई मख्ख पर्छौ
यो सानो ठूलो जात भनेको बनाउने कुरा पो रैछ
सक्छौ भने अब आफूलाई भगवान जात नै बनाइ
निर्जीव मूर्ति बनेर अमर भै सबैलाई दर्शन देऊ न के भो र !

Facebook Comments Box