कसैको चाप्लुसीमा घन्टौं बिताउनुभन्दा संगीत साधनमा समर्पित हुनु राम्रो हो

495

गायक शिव परियार अहिलेका पुस्ताका अत्यन्तै लोकप्रिय गायक हुन् । सांगीतिक जीवनको विभिन्न उतार चढाव छिचोल्दै सांगीतिक विरासत थामेका गायक परियार व्यक्ति पूजाभन्दा कर्म पूजामा बढी विश्वास गर्छन । उनी भन्छन्, ‘ कसैको चाप्लुसीमा घन्टौं – घण्टा बिताउनुभन्दा संगीत साधनमा समर्पित हुनु सांगीतिक जीवनका लागि राम्रो हो । पूर्वीय शास्त्रीय सङ्गीतको साधना गर्दै संगीतमा राम्रै जमेका परियार रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक संगीत गायन प्रतियोगिता – २०५९ मा गायनतर्फका विजेता पनि हुन् ।

उनका लोकप्रिय गीतहरूमा फेवातालमा साइँली, धेरै चोटी मरें म त, कहाँ थियौ तिमी, अलिकति नजर तिम्रो, पागल बनायौ प्रिय, संगी, क्या दामी भो, आँसुको अर्थ, पिलायो साथीले, पाकेर खाको फल मिठो लगायत दर्जनौं गीतहरू पर्दछन् । यी गीतहरू सुन्दा शिव परियारको गायनशैली, स्वरको गुणात्मकता र स्वरको माथिल्लो उँचाईका बारेमा पनि थाहा पाउँन सकिन्छ ।

शिव परियारसँग सेन्ट्रलखबर डट कमका लागि संजय सुमनले गरेको सांगीतिक संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

१. थोरै वि. स. २०५९ सालको रेडियो नेपाल राष्ट्रियव्यापी संगीत प्रतियोगीता सम्झिन पुगेँ, गायनतर्फ प्रथम भएको  तपाईंकै     गीत, ‘ जति बिर्स्यो तिम्रो याद आउँन खोज्छ किन होला ‘ थोरै गुनगुनाउँन मिल्छ कि ?

गुनगुनाउँने काम अन्तिमतिर गरौँ कि, सर । हुन्न ?

२. त्यसो भए, तपाईंको नयाँ गीततिर बढौं । के कस्तो छ संगीत बजारको प्रतिक्रिया ‘ धोकेवाज ‘ प्रति ?

मलाई चाहने मेरा स्रोतहरू पक्कै पनि मबाट मेलोडी म्युजिकको अपेक्षा राख्नु हुन्छ। पछिल्लो चरणमा मेरो गीतबाट    स्रोताहरू एकदमै खुशी हुनुहुन्छ । बजारको प्रतिक्रिया सकारात्मक छ । गीत हिट हुनु एउटा कलाकारकोलागि सुखद कुरा  हो । गीत हिट हुँदा कलाकारले स्टेज पाउँछ, मिडिया पाउँछ, सामाजिक संजालमा शेयर हुन्छ । यो राम्रो कुरा हो ।

संसारमा जोसुकैले चाहने नै प्रगति हो । प्रगति भएपछि मान्छे पक्कैपनि खुशी हुन्छ । अध्यात्मिक बाटोबाट हेर्ने हो भने  थोरै मान्छेले मात्र सांसारिक लोभ मोहबाट मुक्ति पाएको पाइन्छ । ती सिद्ध मानवबाहेक अन्य हामीजस्ता सबैलाई चाहिने प्रगति, सफलता नै हो र म पनि यस्तै मान्छेहरूको बीचमा जन्मेको एउटा सामान्य मान्छे भएकोले सफलतामा खुशी हुनु स्वाभाविकै हो । गायकको काम नै गीत गाउने हो । यसरी आफ्ना गीत हिट हुँदा खुशी हुनु स्वाभाविक हो र म  यस कुराले एकदम खुशी छु ।

३. अहिलेको युजुअल तर सान्दर्भिक प्रश्न सोधौं है त । लकडाउनमा विशेष के गर्नुभयो / के गर्दै हुनुहुन्छ ? यसको असर   पेसागतरुपमा के – कस्तो पर्यो ?

पेसागतरुपमा त अब – मेरो बाँच्ने आधार संगीत नै – जीउने आधार संगीत नै – अस्तित्व संगीत नै हो । संगीत रहँदा मेरो  अस्तित्व छ – म छु । संगीतमा अभ्यस्त रहन नपाउँदाको अवस्थामा म हुन्न की भने महसुस हुन्छ । यद्दपि, मान्छे जस्तोसुकै परिस्थितिमा प्राण नजाउञ्जेलसम्म त जसरी पनि बाँच्नु नै पर्छ । तैपनि आफूंले गर्ने कर्म गर्नबाट पूर्ण वन्चित रहनुपर्दा – घरभित्र बसिरहनुपर्दा – आफ्ना स्रोताहरूसँग प्रत्यक्षरुपमा संवाद गर्न नपाउँदा – भेटघाट गर्न नपाउँदा – बाँच्ने आधारसँग जोडिएको कर्म पहिलेका दिनमा जस्तो स्वाभाविकरुपमा गर्न नपाउँदा असाध्य दु:खी बनाएको छ ।  अब पनि कोभिड संक्रमणको यही अवस्था अझै लम्बिने हो भने, देशमा लगातार लकडाउन भइरहने हो भने प्रत्येक नेपाली सडकमा आउने अवस्था हुनसक्छ र त्यसबाट संगीत क्षेत्रपनि अछुतो रहन सक्दैन।

यधपि घरको बसाइले परिवारसँग समय बिताउन पाएको छु । कलाकारलाई बाहिरको कामले परिवारसँग अलि टाढा राखेकोजस्तो हुन्छ । लकडाउन भएर घरमा बस्न पाएकोछु – सुखद कुरा हो ।

४. लकडाउन हुँदापनि गीत- संगीत, रियाज , अध्ययनका काम त थोरै भएपनि भएका होलान् । शिव परियारकै लागि बनाइएका गीतहरू पर्खेका होलान् नि – शिव परियारलाई, होइन ?

यस्तो छ सर – मैले गीत रेकर्डिङ्लाई मात्र मेरो बाँच्ने आधार कहिल्यैपनि बनाउँन चाहिन । जहिल्यै पनि गुणात्मक शब्द सङ्गीतको खोजमा लागिरहें । संगीत भनेको आजको लागि मात्रै होइन । संगीत भनेको त युगौंयुगको लागि हो । यो भाषा, यो राष्ट्र रहेसम्मको लागि हो । त्यही भएर सबभन्दा पहिले मैले के सोंचे भने; – हामी आज स्वर सम्राट नारायण गोपाललाई के कारणले सम्झिन्छौँ । यदि हामी उहाँलाई सम्झिन्छौँ भने नेपाली सङ्गीत जगतलाई अमूल्य गुण लगाउन सफल उहाँका अजर अमर गीतहरूको कारणनै सम्झन्छौं । मेरो आफ्नो विषयमा भन्नुपर्दा लगभग म उहाँकै पथलाई पच्छ्याइरहेको छु । मेरा लागि बनाइएका यस्ता गुणात्मक गीतहरू मैले पक्कै गाउँने छु । यसका लागि निरन्तर सङ्गीत साधनामै व्यस्त छु।

५. नयाँ पुस्ताको गायन – संगीतबाट कतिको कन्भिन्स हुनुहुन्छ र युवा पुस्ताका संगीतकर्मीहरूले अझै कत्तिको मेहनत  गर्नुपर्ने देखिन्छ ?

जहिलेपनि हामीले नयाँ पुस्तालाई सकारात्मक रुपमा लिनुपर्छ। मान्छे एकैचोटी सिद्धहस्त – जान्ने हुँदैन । काम गर्दै गएपछि उ भित्रको अनुभवले खारिंदै जाने हो । म पनि शुरुमा आलोकाँचो थिएँ । काम गर्दै – गर्दै गएपछि – २२ वर्ष संगीतमा लगातार काम गरिरहँदा यी कुराहरूको अनुभव गरें । जीवन भनेको अभ्यास हो। युवा पुस्ताको जीवन नै अभ्यासको क्रममा रहेकोले उहाँहरूप्रति एकदम सकारात्मक छु । उहाँहरूले पनि नेपाली संगीतप्रति कर्तव्य वोधगरि नेपाली संगीतलाई अगाडि बढाउनु हुन्छ भन्ने आशा छ ।

तर कतिपय युवा पुस्ताका भाइबहिनीहरू साधना नै नगरेर यतिकै रातारात हिट हुने मनसायले पनि आउँनुभएको छ । यो कुरा उहाँहरूको सांगीतिक भविष्यका लागि पनि त्यति सकारात्मक होइन । संगीतको अध्ययन र साधना सँगसँगै गायनलाई अगाडि बढाउँदा संगीतप्रतिको उहाँहरूको अनुराग सफल बन्न सक्दछ ।

६. पछिल्लो चरणमा नेपाली संगीतमा राम्रा गीत संगीत किन नआएको होला ? शिव परियारकै कुरा गर्दा पनि पहिलेका सदाबहार गीतजस्ता आजका गीत किन बन्न सकेनन् ? नेपाली गीत संगीत गायन वा संगीत वा टेक्नोलोजी – केमा बढी चुकिरहेको छ जस्तो लाग्छ ?

म के भन्छु भने – संगीत भनेको समूहको काम हो – शब्द, संगीत, गायन, संगीत संयोजन तथा अन्य विविध पक्षहरूको सामूहिक कार्य हो । यसमा फेरिपनि अध्ययन, अनुसन्धान र साधनकै कुरो छ । यी तीनै पक्ष सबल नहुँदाको कारणले नेपाली सङ्गीतमा राम्रा गीत संगीत आउँन नसकेका हुन् । मेरो आफ्नो विषयमा कुरा गर्नुपर्दा म लगातार राम्रा गीत संगीत दिने प्रयास गरिरहेको छु । बाँच्नका लागि व्यावसायिक पनि बन्नुपर्ने र नेपाली सङ्गीतको मूलधारको सङ्गीत पनि पस्कनुपर्ने जिम्मेवारीले गर्दा तुलनात्मकरुपमा मेरा गीत सङ्गीत सङ्ख्यात्मक हिसाबले पहिलेकै सङ्ख्यामा आज आउँन नसकेको पक्का हो । भविष्यमा यी कुराहरूप्रति पूर्ण ध्यान दिएर काम गर्ने सोंचका साथ मेहनत गरिरहेको छु ।

जबसम्म संगीतलाई विधालयस्तरबाट नै मनोरन्जनको साधना मात्रै नसम्झेर जीवन बुझ्ने – संगीतको मूल्य मान्यता अनुरुप पाठ्यक्रम तयारगरि त्यही अनुसारको शिक्षाको विकास गरिदैन तबसम्म संगीतको उत्थान हुँदैन । यो अवस्था रहेसम्म नेपाली गीत सङ्गीतमा सुधार आउँन सक्दैन ।

७. तैपनि, मैले यति साधना गरेको छु । यस्तो संगीत आइदिए हुन्थ्यो भन्ने केही छ कि ?

म मात्रै हुँ – मैले मात्रै गाउनुपर्छ – त्यस्तो सोंच म राख्दिन । फेरि मैले साधना गरेको पनि कसैले गाउन दिन्छ भनेर मात्र पनि होइन । पहिला साधना मेरो रहर थियो – त्यसपछि बाध्यता भयो – अब जीवन भयो ।

८. तपाईं शास्त्रीय संगीतको पृष्ठभूमिबाट आउनुभएको गायक – विशुद्ध शास्त्रीय संगीतको गुरु भएर आउँने सम्भावना  कतिको छ ?

यस्तो छ – मैले पहिला नै वि. स. २०६३ – २०६५ सम्म दुइ वर्ष आर्को म्युजिक ट्रेनिङ् सेन्टर – राजकुमार मालाकार सरको इन्स्टिच्युटमा पढाएको थिएँ । त्यो गरिरहँदा मलाई के अनुभव भयो भने – लाऊ – लाऊ, खाऊ – खाऊ उमेरमा, बाहिर देश दुनियाँ घुम्ने उमेरमा, आफूपनि संगीतमा सुनौलो अक्षरले आफ्नो नाम लेखाउन सकिन्छ कि जस्तो लाग्यो। गाह्रो लाग्यो बिहानदेखि कोठाकै कोठामै रहिरहन । अनि छोडें ।

तर भोलि एउटा स्तरमा पुगेर एउटा रहर वा सौखको लागि ज्ञान बाँड्ने क्रमलाई चाहीं निरन्तरता दिने इच्छा छ । तर लडन्त-भिडन्त तरिकाले स्कुलनै चलाएर बस्न सक्दिन होला । स्वभाव अलि त्यस्तै भएर होला – मलाई एकै ठाउँमा बसिरहन त्यति मन लाग्दैन – घुमफिर , स्टेज शो आदि चाहिन्छ मलाई । मोनोटोनस हुन्छ नत्र ।

९. आफैंले आफैंलाई समीक्षात्मक र आलोचात्मक दृष्टिकोणबाट हेर्दा संगीतमा शिव परियारको अब्बल पक्ष के हो ? वा कुना पक्षलाई अझै सुधार्नु पर्छ जस्तो लाग्छ ?

अब्बल पक्ष केही छैन सर – सिक्ने क्रममै छु । अब चाहीं सङ्गीत पढ्नुपर्छ – बल्ल आँट आइरहेछ । र दुर्बल पक्षलाई विस्तारै बिट गर्दै जाने हो ।
अरु त दर्शक स्रोताले औंल्याउने कुरा हुन् ।

१०. अन्तिममा पहिलो प्रश्न है त सर !

गाउँदै ( जति बिर्स्यो तिम्रो याद आउँन खोज्छ किन होला )

Facebook Comments Box