कविले गद्य लेख्छ भने त्यो सुमधुर त स्वत: नै हुने भइहाल्यो

२०७८ श्रावण २०, बुधबार १६:२३

आफूले पढेका किताबहरूका बारेमा हत्तपत्त टिप्पणी गर्न अघि नसर्ने खालको चिसोचिसै मान्छे हुँ म । जुन किताब पढेर मन प्रफुल्ल हुन्छ, त्यस्ता किताबहरूका बारेमा मात्र दुई/चार शब्द लेखेर साथीहरूका बीचमा शेयर गर्ने बानी छ मेरो । यही प्रसंगमा आज भीष्म उप्रेतीद्वारा लिखित र शिखा बुक्सद्वारा प्रकाशित नियात्राकृति “हिमाल, शेर्पा र यती” का बारेमा केही भन्नै पर्ने लाग्यो र केही वाक्य लेख्ने धृष्टता गर्दैछु ।

भीष्म उप्रेती अत्यन्तै कोमलतम् भावहरूसँग खेल्दै लेख्न रुचाउने लेखक हुन् । वहुविधामा कलम चलाए पनि उनी मूलत: कवि नै हुन् । जब कुनै कविले गद्य लेख्छ भने त्यो सुमधुर त स्वत: नै हुने भइहाल्यो । यो कृतिमा पनि भीष्मले यसरी नै कोमलताका साथ आफ्ना पाठकहरूलाई सगरमाथाको आधारशिविरसम्म पुर्‍याएर घर फर्काएका छन् । संसारका अधिकांश मानिसहरूको चाहना हुने रहेछ कि आफ्नो जीवनकालमा एक पटक मात्रै भए पनि धर्तीकै सर्वोच्च शिखरको यो फेदीमा आफूलाई पुर्‍याऊँ । लेखकमा पनि यो रहर नहुने कुरै भएन । यो सपना बुनेर बसिरहेका लेखकलाई एक दिन यो सुनाैलो माैका हात पर्छ र उनी पनि तत्काल त्यसतर्फ प्रस्थान गर्दछन् । दैनिक भ्रमणतालिका (आइटिनरी) को शैलीमा वर्णन गरिएको यही यात्राको वृत्तान्त हो प्रस्तुत किताब ।

म आफैँ पनि सगरमाथाको आधारशिविरमा तीन पटक पुगिसकेको र २३ दिन लगाएर त्यहाँका तीनवटै उच्च पासहरू खोङमाला, चोला र रेन्जोला पार गरिसकेको पदयात्री बन्दै “सगरमाथाको आधारशिविरबाट” नामक किताबै निकालिसकेको हुनाले यो भूगोल मेरालागि नयाँ थिएन । तर भीष्मले मलाई पनि नयाँ यात्रीलाई सरह घुमाए । यही हो शब्दको शक्ति ! यही हो स्रष्टाको शक्ति भनेको । लुक्लापछि नाम्चेबजार आउँछ र नाम्चेपछि क्रमश: तेङबोचे, पाङबोचे, दिङबोचे, फेरिचे, लोबुचे, गोरक्सेप, कालापत्थर र आधारशिविर आउँछन् भन्ने मलाई पनि कण्ठै छ । तर भीष्मले यसरी घुमाए कि म आफैँ पनि आफ्नो सबै पूर्व जानकारी बिर्सेर किताबसँगै बग्दै गएँ । नाैजवान छोरो गुमाएकी एक विदेशी पदयात्रीले कुन भावनाले छोराको छविसँग साक्षात्कार गरिन् होला ! त्यो रगत जमाउने चिसोमा कसरी उनले समाधिस्थ भएको कल्पना गरिन् होला ? सगरमाथाको पहिलो दर्शन पाएका दिन लेखक स्वयं किन रोए होला ?

यी सबै कुराले के देखाउँछ भने हिमाल भनेको हिउँको थुप्रो वा एक भाैतिक वस्तु मात्र होइन, त्यो त आस्थाको पनि, विश्वासको पनि, सृष्टिको पनि र दृष्टिको पनि सर्वोच्च रूप नै हो । कल्पना गर्नोस् त, सगरमाथा संसारमा यही एउटा मात्र छ र तपाईं त्यसको फेदीमा झण्डै ५४०० मिटरको उचाइमा उभिनुभएको छ । अझ साेच्नोस् त, तपाईंले आधा सगरमाथा चढिसक्नु भयो । २७५ रूपैयाँको एउटा पकेट साइजको किताब किनेर यस्तो अनुभूति गर्न पाउनु सानो कुरो हो ?

मलाई सगरमाथाका सम्बन्धमा आफ्नै दृष्टिकोण मात्र थाहा थियो, तर अब यो किताब पढिसकेपछि भीष्मको दृष्टिकोण पनि थाहा भयो । म अझ धनी भएँ । मैले अझ खारिने माैका पाएँ । मेरो अनुभूतिको भण्डारमा थप पूँजी भित्रियो । ज्ञान बढ्यो । त्यसैले त भनिन्छ नि, किताब किन्नु भनेको आफूमाथिको लगानी हो । र, आफूमाथि लगानी गर्नेहरूले कहिल्यै हार्दैनन् ।

209 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal