जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

31

जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् ।

“पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती शुरु गरेका हौँ, कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक औषधिले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको हँुदा जलवायुमैत्री खेतीको शुरुआत गरेका छौँ”, सुनिलस्मृति–६ गजुलका अगुवा कृषक इन्द्रबहादुर थापाले भन्नुभयो ।

उहाँका अनुसार जलवायु परिवर्तनका कारण खेतबारीमा देखिएको मिचाहा प्रजातिले कृषकलाई हैरान बनाएको थियो । त्यही मिचाहा प्रजातिलाई मलमा उपयोग गर्न सकिने सीप सिकेपछि अचेल उनीहरुलाई हैरानी सहनुपरेको छैन । “मिचाहा प्रजातिलाई बायो चार्टका रूपमा मल बनाएर खेतबारीमा प्रयोग गर्छौं”, थापाले भन्नुभयो । मिचाहा प्रजातिलाई काटेर खाल्डोमा जम्मा गरी खरानी नपर्ने गरी जलाएपछि आएको अँगार खेतबारीमा मलका रूपमा प्रयोग गर्ने थापाले बताउनुभयो ।

त्यसरी बनेको अँगारमा सूक्ष्म जीवाणुहरु बस्न सक्ने ठाउँ रहने भएकाले बोटबिरुवालाई फाइदा हुने गरेको कृषकको भनाइ छ । अँगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्र्रता पनि रहिरहन्छ । गाईको मलमूत्र, भेली र बेसनको पीठो मिसाएर झोल मलसमेत प्रयोग हँुदै आएको छ । त्यस्तो मल किसानहरुले सात दिनमा तयार गर्छन् । त्यसरी बनेको मल हरेक बिरुवामा सिञ्चन गर्छन् । उनीहरुले कीटनाशक औषधिको सट्टा आफैँले तयार गरेको औषधि प्रयोग गर्छन् । तरकारी खेतीमा लाग्ने मित्र जीवलाई बचाएर शत्रु कीरो मार्न पानी पासो, बत्ती पासोलगायत विभिन्न पासो प्रयोग गर्ने गर्दछन् ।

यस्तो प्रविधि प्रयोग गरेर आफूले उत्पादन गरेको जैविक तरकारी अन्य तरकारीभन्दा महँगो हुने हँुदा बजारमा केही समस्या हुने गरेको थापाको भनाइ छ । जैविक तरकारीका रूपमा प्रमाणीकरणसहित स्टिकर टाँसेर काठमाडाँै आपूर्ति गर्ने धोको रहेको तर यो काम एक्लो प्रयासले प्रयासले मात्रै सम्भव नभएको थापाले बताउनुभयो । “स्थानीय सरकारले सहयोग गरे जैविक उत्पादनको प्रमाणीकरण गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनमैत्री खेतीमा लागेका किसानहरुलाई पहाडी साना किसानका लागि अनुकूलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईंले जानकारी दिनुभयो । मानव स्वास्थ्य र वातावरण नबिग्रने गरी किसानले गर्दै आएको खेती प्रणाली जलवायु अनुकूलनका लागि महत्वपूर्ण सिकाइ रहेको गुरागाईं बताउनुहुन्छ ।

सो गाउँले अभ्यास गर्दै गरेको जलवायुमैत्री खेती तथा अनुकूलनका उपायहरु वडाका अन्य बस्तीमा पनि विस्तार गर्न आवश्यक रहेको सुनिलस्मृति–६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाइ छ । गजुलका किसानहरू वडाका अन्य कृषकका पनि प्रेरणाका स्रोत बन्नुभएको सुवेदीले बताउनुभयो । “उहाँहरुको प्रविधि र सीप विस्तार गरेर वडालाई नै जलवायुमैत्री ग्राम बनाउने सोचमा छौँ”, वडाध्यक्ष सुवेदीले भन्नुभयो ।

यस्तो प्रविधि अपनाएर खेती गर्ने कृषकहरुले समूह बनाएर अनुभव आदानप्रदान गर्दै आएका छन् । तीस जना कृषक संलग्न रहेको सो समूहले हरेक १५ दिनमा बैठक बसेर अनुभव आदानप्रदान गर्नुका साथै आफूले जानेको प्रविधि तथा सीप पनि हस्तान्तरण गर्ने गर्छन् ।

Facebook Comments Box