प्रादेशिक बीउ बिजन प्रयोगशाला भवन शिलान्यास

२०७८ श्रावण १९, मंगलवार ०७:२६

गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गर्नुभयो ।

सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।

प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिनीयरिङ एन्ड बिल्डर्स पोखरासँग रु एक करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार निर्माण गरिने भवन विसं २०७९ पुस २२ गते भित्रमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनिक कार्यमा प्रयोग गरिने छ । उहाँले भन्नुभयो, “विगतमा भैरहवा कार्यालयले हेर्ने गरे पनि दुई वर्षअघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”

प्रयोगशालाले बीउ विश्लेषण तथा प्रमाणीकरण, प्रादेशिक बीउ उत्पादकहरुको अनुगमन तथा बीउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बीउ संरक्षण तथा सूचीकृत जातका बीउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।

कार्यक्रममा मन्त्री बुढाले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । गुणस्तरीय बीउको प्रमाणीकरणपछि मात्र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव सवनम शिवाकोटीले बीउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको बीउ मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

180 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal