अन्तर्निहित क्षमता पहिचान गर्न सक्नुपर्छ

२०७८ श्रावण १९, मंगलवार १६:४१

साउन महिनाको अन्तिमसम्म पनि बर्षात् नभएपछि गाउँको अत्यन्त गरिब किसान बेस्सरी दु:खी भयो । एकातिर रोजगारबिहिन हुनुको पिडा अर्कोतिर आफ्नो सानो सुर्को खेतमा धान रोप्न नपाउँदा किसान दु:खी हुनु स्वभाविकै थियो ।गाउँका महाजन यनकन बचे पनि गाउँका गरिब किसान भोकमरीको सामाना गर्नुपर्ने निर्क्योल गरिब किसानको थियो।सिंञ्चाईको वैकल्पिक स्रोत नदेखेको सदियौंदेखि आकासे खेतीमा भरपरेको किसानले अघिका दिनहरु कहालिलाग्दो देख्यो।आकासे पानी नपर्दा कुवा, पोखरी, पानीका मुहानहरु सुक्न थाले । भोकमरी पिडाबीच बाँच्नुभन्दा मर्नु नै बेस भन्ने ठम्याईमा गरिब किसान पुग्यो । एक रात आफ्नै घरको दलिनमा झुण्डिएर गरिब किसानले इहलिला समाप्त गर्यो । गाउँका मानिसहरु गरिब किसानको परम्पराअनुसार शव जमिनमा गाड्नका लागि खाल्टो खन्न लागे । दस बाह्र हात खन्दा जमिनमा पानीको मुल भेटियो । जमिनमुनि पानी देख्दा गाउँले चकित भए । पानीको वैकल्पिक स्रोत भेटिएकोमा गाउँलेहरुले खुसी व्यक्त गरे । समूहकै एउटा किसान गुनगुनाउँदै थियो-“धने दाईले यो पानीको मुहान देखेका भए आत्माहत्या नगर्दा हुन्।”

===============================================================================

मन्दिरको गेट छेउ वर्षौंदेखि एउटा जोगी सानो झुप्रोमा बस्थ्यो । झुप्रोबाट ढोकामा निस्केर दिनहुँ मागेर जीविका चलाउनु जोगीको दिनचर्या थियो । साहाराविहिन  जोगीको उमेर धेरै ढल्किसकेको थियो । बिरामीले थलिएपछि जोगी झुपडीबाहिर निस्कन छोड्यो । जोगी धेरै दिन बाहिर ननिस्केपछि मन्दिर वरपरका पुरोहित भक्तहरु जोगीको कुटीमा पुगे । कुटीमा पुग्दा मृत अबस्थामा भेटिएको जोगीको शव गह्नाउन थालिसकेको थियो । भेला भएका गुरु पुरोहित लगायतका मानिहहरुले जोगीको शव झुपडी हटाएर सोही ठाउँमा गाड्ने निधो गरे । जोगीको शव गाड्नभनि खनिएको खाल्डोमा टिनको बाकसभित्र जुहारत हीरा- मोती- सुन- असर्फि भेटियो । भेला भएका मानिसहरु चकित भए । भेलामा सहभागी पुजारी मलिन स्वरमा गुनगुनाउँदै थियो -” हीरा मोती असर्फि तल बसेर जीन्दगी भर भिख माग्दै मर्यो बिचरा !”

कस्तुरी आफैंभित्र रहेको वासना आउने बस्तु पहिचान गर्न नसक्दा भौंतारिन्छ । मानिस आफुभित्र आत्मामा रहेको ईश्वरलाई पाषण मुर्तिमा कैदगरि मन्दिरमा थन्काउछ । आत्माभित्र अवस्थित खुसी पहिचान गर्न नसक्दा मानिस जीवनका अस्थायी द्दैत बस्तुहरु; धन, दौलत, पद, प्रतिष्ठा, ऐश, आराम, यौवन, सुन्दरताप्रति आकर्षित हुन्छन् र जीवनको लक्ष्य भुल्छन् ।दम्पतिहरु श्रीमान श्रीमतीभित्र रहेको अथाह माया- ममता -समर्पण- विश्वास -भरोसा पहिचान गर्न नसक्दा घर बाहिर भौंतारिएर घर -परिवार -सम्बन्ध बिगार्छन् । समाजका सहयोगी सत्कर्म आध्यात्मिक चिन्तन सात्विक भोजन गर्ने मृदुभाषी व्यक्तिहरूप्रति मानिसहरु सहानुभूति त देखाउँछन् तर पथ भने कहिल्यै पछ्याउँदैनन् । असल सफल मानिसका जीवनी धेरै मानिसले पढ्छन् तर चिन्तन मनन गरेर व्यवहारमा उतार्ने जमर्को भने धेरै कम मानिसले गर्छन्।स्कुल विश्वविधालयको औपचारिक शिक्षाबिना पनि ध्यान- ज्ञान- योग- साधना भित्री ज्ञानको माध्यमबाट चम्किएका गौतम बुद्दले बाहिर शान्ति नखोजी आत्म केन्द्रित बन्दै ज्ञानको बत्ति बाल्न सफल भए । जीवनकाल भर अध्ययन गर्न नभ्याउने रामायण- महाभारत- गीता- वेद- उपनिषद लगायतका ग्रन्थहरु लेख्न विश्वविधालयका प्राध्यापक डाक्टर कोही चाहिएन । जीवनमा सबै चिज हुँदा पनि केही नभएकाहरुको खुसीले दु:खित बन्नेहरु पनि प्रशस्त भेटिन्छन् समाजमा।आत्मिक ज्ञानबिना बिषय ज्ञान लङगडो भए जस्तै विज्ञान अध्यात्मबिना उजाड निरस बन्छ । समयमा नै ज्ञान ध्यान योग साधना सात्विक भोजन सत्कर्म अध्यात्मिक चिन्तन सकरात्मक सोंचलाई जीवन मूल्य- मान्यता- सस्कारमा रुपान्तरण गर्दै अघि बढ्न सके जीवनको लक्ष्य सजिलै बोध हुन्छ।

 

172 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal