लघुकथा : अवकाश प्राप्त

केशव नेपाल

41

रामनारायण दाइ अवकाश प्राप्त शिक्षक हुन् ।शिक्षण पेशामा रहँदा असल शिक्षक थिए । बालबालिकाको ज्ञान, सीप र धारणा अभिवृद्धिमा दत्तचित्त हुन्थे । बचेखुचेको समयमा गाउँ – समाजमा असल अभियान पनि चलाउँथे । बिहानको खाली समयमा नजिकको कलेजमा एकछिन् पुग्थे । आजभोलि रिटायर्ड भएपछि उनी खाली छन् ।

अरुले – ” तिम्रो के काम छ ?” भनेर सोधिरहँदा उनी अचम्मित छन् ।

उमेरले अवकाश हुनु, सरकारले पनि अब त नसक्ने भइस्, काम लाग्दैनस् भनेर रिटायर्ड भएको हो । तर घरायसी काम त गर्नै पर्‍यो ।
रामनारायण दाइको आजभोलिको दैनिकी नातिनातिना स्कुल पुर्‍याउने हो । अफिस नभएपछि घरमा श्रीमती, छोराछोरी, बुहारी, नातिनातीनासम्मले पनि विभिन्न काम उनैलाई अह्राउँथे ।

” तिम्रो के काम छ ” भन्न थालेका थिए । सबैले काम लगाउने शैली अलग भए पनि बुझाइको अन्तिम चरित्र ” तिम्रो के काम छ ” भन्ने नै थियो ।

सामाजिक कार्य; जन्म, पास्नी, बिवाह, मरण-परण सबै भ्याउनुपर्थ्यो । अनि सबैले अलमल्याउनै खोज्थे, ” रामनारायण कति हत्तार गर्छौ । अब त तिम्रो के काम छ ? ” यसमै आजित थियो उसको मन ।

जीवनको उर्वर उमेर नै जागीरमा बित्यो । दिनरात खटेर काम गर्‍यो । सेवा दियो । अहिले आएर तिम्रो के काम छ भन्दा कुनै वेला उ भक्कानिन्थ्यो तर कसैलाई आफ्नो मनको कुरा भन्दैनथे । मनको बह कसैलाई नभनी मनभित्रै दबाएर राख्थे ।
चिया पसलमा साथी भाइको यस्तै कुरा आउँछ -” बस न रामनारायण बस । जति दु: ख गर्नु  थियो – गर्‍यौ – अब त रिटायर्ड भयौ ।

हैट ! फेरि त्यही शब्दले कतै नछाड्ने रहेछ । राम नारायण दाइ मनमनै सोंच्छ, फुस्रो हाँसो हाँस्छ ।
उफ !…… अवकाश प्राप्त जीवन !

Facebook Comments Box