‘ भर्सटाइल ‘ सजना

57

सजना बास्तोला नेपाली सांगीतिक दुनियाँको प्रतिभाशाली नाम हो । उनको जादुमयी स्वरको जति प्रशंसक उत्तिकै उनको सुन्दरताको प्रशंसा गर्नेहरु पनि भेटिन्छन् । २०६६ पछि मात्रै सांगीतिक दुनियाँमा आएकी उनी पछिल्लो समयकी रुचाईएकी मोडेल समेत हुन् । छोटो समयमै स्टेज पर्फमेन्समा जमेकी सजना सालिन र भद्र गायिकाका रुपमा चिनिन्छिन् ।

सफल भन्दा पनि नेपाली संगीत र समाजको मूल्य,मान्यता बुझेकी असली गायिका हुन्, सजना ।
उनले लेखेका, गाएका गीतमा चोट छ, आँसु छ, पीडा र दर्द छ । मिलन – विछोड, घात प्रतिघात छ , त्यो भन्दा बढि प्रेम छ, आशा र रुमानी यादहरु छ्न । उनको म्युजिक भिडियोमा परिवार छ, समाज छ, त्यो भन्दा बढी संस्कृति छ । समग्र देश छ ।

अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी उनी गीत रचनामा पनि दक्खल राख्छिन् । लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन् । छमछमी नाचेकी छिन्, धरधरी रुवाएकी पनि छिन् । म त गीत गाउँदै हिड्ने मान्छेबाट सँगीतिक बजारमा उत्रिएकी ‘भर्सटाइल’ गायिका बास्तोलालाई “नखोज भाउ” ले चिनायो । याद, रात बित्यो सूर्य उदायो, ज्यान खायो तिम्रै पीरले, डाँडा गाँउकी राममाया लगायत उनले गाएका गीत हुन् ।

मेहनतका साथ संगीत यात्रालाई निरन्तरता दिएकी बास्तोला संचार क्षेत्रमा पनि जोडिएकी छिन् । पोखराकै माछापुच्छ्रे एफएममा उनी लोक दोहोरी गीतको कार्यक्रम  चलाउँछिन् । गीत गायन, लेखन,मोडलिङमा जमेकी सजना पोखरा टेलीभिजनको दोहोरी जम्काभेटमा हरेक दिन भेटिन्छिन ।

गीतकार समेत रहेकी गायिका बास्तोलाले लोक गीतलाई समाजको गीतको रुपमा अर्थ्याइन् । “लोकगीत समाजको गीत हो, यो समाजले गाएको हुन्छ, समाजले बँचाएको हुन्छ ।” उनले भनिन् समुदायको साझा पहिचान पनि भएकाले लोकगीत पुस्तौं पुस्तादेखि हस्तान्तरित हुँदै आएको संस्कृति हो ।

चर्चाका लागि अनेक उपाय अपनाउने शैली उनलाई मन पर्दैन । गीत, संगीत मनोरञ्जनको माध्यम भए पनि मनोरञ्जनका नाममा उत्तेजना फैलाउने प्रवृत्तिका गीत घातक हुने उनको बुझाइ छ । ‘ गायक वा गायिकाले कला र गला देखाउने हो ‘, बास्तोला भन्छिन्, ‘समाजमा विकृति ल्याउने, उत्तेजना फैलाउने गीत धेरै टिक्दैन । ‘ बर्खामा जहाँ पनि भेल आउने कुराप्रति संकेत गर्दै उनी भन्छिन्, ‘कला, साहित्य, संगीत भनेको जीवन्त, शालीन र मधुर हुनुपर्छ ।’ नेपाली गीतसंगीत सँगसँगै नेपाली संस्कृति पनि जोगाउनुपर्छ भन्ने भावना बोकेकी सजनाको आफ्नै रचनामा एउटा फरक शैलीको गीत “माया विरानो” चाडै श्रोता,दर्शनमाझ आउदैं छ ।

Facebook Comments Box