शहीद मनोज जोशीको ३० औँ स्मृति दिवस मनाइयो

२०७८ श्रावण १५, शुक्रबार १९:३२

शहीद मनोज जोशीको हत्याकाण्ड भएको आज ३० वर्ष पूरा भएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा विसं २०४८ साउन १५ गते निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका जोशीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको मृत्यु भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’का रुपमा चिन्ने गरिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौतानुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीको अगुवाइमा निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवं नेकपा (माओवादी केन्द्र)का नेता सुमन श्रेष्ठले बताउनुभयो । आन्दोलनका क्रममा मृत्यु भएका जोशीलाई सरकारले विसं २०७४ माघ २२ गते शहीद घोषणा गरेको थियो ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउनेलगायत दुव्र्यवहारसमेत गरेका थिए । सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी १३ जना कर्मचारीलाई जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

दिक्तेल निवासी बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज जोशी विसं २०३० असोज २३ गते जन्मनुभएको थियो । उहाँको वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रेणी सांस्कृतिक समाज तथा युवा सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

विगतका वर्षहरुमा सप्ताहव्यापी कार्यक्रम गर्दै स्मृति दिवस मनाउने गरिए पनि यसपल्ट कोभिड–१९ का कारण शुक्रबार जोशीको समाधिमा माल्यार्पण एवं श्रद्धाञ्जलीसभा मात्र गरिएको छ । सभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य ध्रुवकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको छ ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले मनोज जोशीलाई शहीद घोषणा गर्ने जिल्लाबासीको माग पूरा भए पनि जोशीको हत्यामा संलग्न दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको बताउनुभयो ।

यसैबीच, जिल्ला अस्पताल खोटाङमा कार्यरत ल्याब टेक्निसियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । जिल्लामा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा अग्रणी भूमिका खेलेको भन्दै टेक्निसियन अधिकारी र चालक गुरुङलाई जनही रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले टेक्निसियन अधिकारी र चालक गुरुङलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद मनोज जोशीकी आमा अम्बिका जोशी, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागिता थियो ।

115 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal