कवितामा मेरो पहिचान सानो दुःखले बनेको होइनः रामगोपाल आशुतोष

240

रामगोपाल आशुतोष भक्तपुरका युवा श्रष्टा हुन् । विगत करिब दुई दशकदेखि कविता, गीत र गजल लेखनमा सक्रिय उनका रचनामा नेवारी संस्कृति, परम्परा र मिथकको स्पष्ट सुवास पाइन्छ । हालसम्म उनको कवितासङ्ग्रह ‘‘ईश्वर र फूलहरू” र फूटकर रूपमा कयौँ रचना प्रकाशित छन् । पेशाले शिक्षक कवि आशुतोष एक कुशल रेडियोकर्मी र कार्यक्रम प्रस्तोता पनि हुन् । प्रारम्भमा नेपाल भाषाबाट कविता लेख्न सुरू गरेका उनी काठमाडौँ उपत्यकाको सेरोफेरो र परिवेशलाई समेटेर कविता लेख्छन् । उनी विशेष गरी पर्यावरण, स्थानीय नेवारी संस्कृति र मिथकमा टेकेर आफ्नै मौलिक शैलीमा कविता लेखिरहेका छन् । कविताका माध्यमबाट उनी समाजमा विद्यमान विभेद र विकृतिको घोर भत्र्सना गर्छन् । प्रस्तुत छ  सेन्ट्रल खबरका लागि रमा अधिकारीले कवि आशुतोषसँग गरेको कुराकानीको सम्पादित अंश ।

करिब दुई दशकदेखि कविता लेखिरहनुभएको छ । तपाईंको एउटा पहिचान छ, एउटा नाम छ । तपाईंको सिर्जनाको पहिचान चाहिँ के हो ? के तपाईंका पाठकले तपाईंको सिर्जनाको पहिचान ठम्याएजस्तो लाग्छ?

प्रश्न अलि सर्कास्टिक लाग्यो । व्यञ्जनापूर्ण पनि । प्रश्नको उत्तर सजिलै दिन नसकूँला । अलि विस्तृत जान्छु होला ।

पहिचान र नाम सबैका हुन्छन् । सृष्टि, सिर्जना वा प्रकृति, प्राणी आदिको । र, तिनका मूल्यमान्यता पनि । सर्वथा, सिर्जनाको पहिचान, जात, वर्ग, लिङ्ग वा प्राज्ञिकस्तरका आधारमा हामीले नै निर्माण गरेका पर्खाल हुन् । फेरि, नेपालमा प्रज्ञा राजनीतिक नियुक्ति र नश्लको उपज लाग्छ । कमसेकम यो बोध मेरो मात्र होइन । सरकारी र सत्तापक्षले – होइन, गलत हो, कहाँ छ यस्तो भन्छन् । नत्र सबै सिर्जना नेपाली हुन् ।

जहाँसम्म मेरो सिर्जनाको पहिचानको सवाल छ, मैले पटकपटक भनेको कुरा वा दिएको जवाफ के हो भने, म विश्वसभ्यताको केन्द्र भक्तपुरमा जन्मेको नेपाली हुँ । पाँचै महादेशको सभ्यता झल्कने कलाको खुल्ला सङ्ग्रहालय हो भक्तपुर । यहाँ के छैन ? नृत्य, सङ्गीत, धातु, काष्ठ, मूर्ति, स्थापात्य वा बास्तुकला, लोक वा शास्त्रीय साहित्य, संस्कृति र सामाजिक रीतिरिवाजको सिङ्गो नेपाल चिनाउने देश भक्तपुर आफैँमा एक कविता हो । यहाँ प्रत्येक पाइलामा कविता छन् । दरबारपरिसरभित्रका उनान्सय चोकका नाम छन्, पहिचान छ । मिथक छन् । पहिले र अहिलेका सरकारी कविता वाह्य सौन्दर्य मात्र हुन् । मेरा कविताले आन्तरिक सौन्दर्यको प्रतिनिधित्व गर्दछ । मेरो पहिचान यहीँ छ । यही हो ।

नेपाल उन्नाइस पर्यावरणले सजिएको छ । हो, नेपाल राम्रो छ । हिमाल, पहाड, नदी, गुराँस आदिले मात्र नेपाल राम्रो बनेको हो ? यही मात्र कविता हो ? कविताको स्रोत र सीमा हो ? यही मात्र मानक सौन्दर्य हो ? तत् तत् भूगोलका जाति, भाषा, कला, संस्कृति, रहनसहन, जनजीवन आदिको कुनै मूल्य छैन त ? हिमाल, पहाड, मधेश र तराईको महिमा गाउँदा हिउँ थाम्ने चुचुरा, गुराँस फुलाउने छाती (पहरा) र सीमा बचाउने आदिवासी र तिनका सौन्दर्यको मूल्य खोइ त ? के उनीहरू मात्र प्रदर्शनीका सामान हुन् ? सबैलाई थाहा छ, नेपाली वाङ्मयमा उत्कृष्ट कविता विकास भएकै यिनै मौलिक पहिचान, आदिबासी संस्कृति र जनजातिसौन्दर्यबोधजन्य लेखनको क्रम चुलिएपछि हो ।

कविता लेखनको कुरा गर्नुपर्दा दुई दशकदेखि अरूको कविता पढिरहेको छु । नसुनिने, नपढिने, वयष्क, सम्मानित, लैङ्गिक विभेद भोगिरहेकाको कविता सुनाउने स्थल बनाउने प्रयासमा छु । वर्षको एकजना अग्रज साहित्य, सङ्गीत, कला, संस्कृति आदिका अग्रणी साधकलाई पुरस्कार र सम्मानको परम्परा थालेको छु । १७ वर्ष भयो । बश, मैले हल्ला गर्न उचित नठानेको होे, नजानेको होइन । नत्र, डोनेशन उठाएर पुरस्कारमा खाममात्र दिनेको चर्चा कति छ त्यो जगजाहेर छ ।

कविता लेख्न थालेको त सानैदेखि हो । हिमाल राम्रो छ गुँरास राम्रो छ वाला क्लिसे वा प्रतियोगी टाइप होइन । समता र पहिचानवाला । हिँडे साहित्यसँग, साहित्यकारसँग । गीत, गजल, मुक्तक, कथा, लघुकथा, साहित्यिक टिप्पणी आदिमा । मास्टर अव् नन् यद्यपि ।

मलाई कवितासँग गहिरो प्रेम छ । कवितामा मेरो पहिचान सानो दुःखले बनेको होइन । तपाईंलाई थाहा छ फास्टफूड रचनाको हाइहाइ कस्तो छ ? पाठकले मेरा कवितालाई चिने – चिनेनन् भन्ने मूलभूत प्रश्न होइन । मूलभूत प्रश्न नेपाली सभ्यताको सौन्दर्य हो ।

नेवारले आफ्नै कुरा मात्र लेखेर हुन्छ ? मलाई प्रायः, बेलाबखत सत्ताले यस्तै प्रश्न गर्छन् । सभ्य र संस्कारयुक्त पाठकहरूले मलाई खोजीखोजी पढिरहेका छन् । नश्लको विरोध गर्दै आफ्नो नश्लको जरा गाडिरहेकाबाट पहिचान र आदिवासी सौन्दर्य खतरामा छ ।

जे देखिन्छ त्यही बिक्छ भन्ने भनाइ त्यसै बनेको होइन । संस्कारी पाठकलाई विभेद गर्न आउँदैन । चार करोड जनसङ्ख्याको तीस प्रतिशत मात्र शिक्षित जनशक्ति भएको यस देशमा पाठकको स्तर, सोँच, सौन्दर्य–मनोविज्ञान र उनीहरूको मस्तिष्कसम्म पुग्ने ल्याकत मसित छ भनेर दावी गर्दिन । (यो दावी नेपालका एकदुई सरकारी प्राज्ञ, वामपन्थी र एलिटहरूले गरेका छन् । र, काठमाडौँमा उनीहरूको ठूलो इज्जत र सम्मान पनि छ । दुईचार सय घर र एकदुई सय अर्व सम्पत्ति पनि ।) बरु मेरो बोध, संस्कार, संस्कृति, सभ्यता आदिको सौन्दर्य यसरी नै प्रचारप्रसार हुँदै गयो भने एकदिन अन्य पाठकसम्म अवश्य पुग्छु ।

एउटा कुरा, अर्को पनि बताइदिन्छु । महाकविले लेखे– निबन्ध, उपन्यास, महाकाव्य, कथा कविता, पागल बनाइए । मुनामदन लेखे, अमर भए । सबैलाई थाहा छ मुनामदनको जग नेवार समाज, संस्कृति र सभ्यता वा पहिचान हो ।

तपाईंको लेखनको भावभूमि काठमाडौँ उपत्यका भएको बुझिन्छ । यसै उपत्यकाका सूक्ष्म अनुभूति तपाईंका कवितामा आउँछन् । उपत्यकासँगै यहाँको समुदाय, समाज र संस्कृति पनि आउँछन् । लेख्दै जाँदा यसो भएको हो वा यो तपाईंको नियोजित विषयचयन हो ? किन ?

महत्वपूर्ण विषय उठाउनुभयो । धन्यवाद । तर, प्रश्नभन्दा पहिले प्रश्नको मनोविज्ञान र विश्वसनीयताको अध्ययन गर्नु जरुरी देख्छु । यो प्रश्नबाट मैले चीरस्मरणी गोविन्द वर्तमानलाई सम्झेँ । एक अन्तर्वार्ताको क्रमलाई बीचैमा रोकेर अन्तर्वार्ताकारलाई फर्काउनुभएको थियो । काठमाडौँ नेपाल नै हो । आदरणीय कवि कृष्णभूषण बलले काठमाडौँ एक्लैले देश धान्न सक्दैन भनेर लेख्नुभएको दशकौँ भइसक्यो । खै, देश भनेकै काठमाडौँजस्तो प्रतीत भइरहेको छ । यसको राजनीतिक र सामाजिक अभिष्ट छुट्टै छ । तर, त्यो कलुशित मानसिकताले देशका गाउँ वा ग्रामीण बस्ती सुक्दै गएको रूखजस्तो भएको प्रायःले देखेर पनि नजरअन्दाज गरिरहेका छन् ।

खैर, ‘ ईश्वर र फूलहरू ‘ शीर्षकका कविता राजनीतिक र आर्कीटाइप कविता हुन् । ‘ इन्द्रेणीको रङ ‘ राजनीतिक र वैदेशिक रोजगार र रेमिटन्ससँग सम्बन्धित कविता हुन् । विचार, दर्शन, प्रेमदेखि आर्थिक, सामाजिक र सामाजिक जीवनका विविध पक्षका ५८ कविता त्यसमा सङ्ग्रहित छन् ।

फेरि, जोकोहीले लेख्ने आफ्नो समाज र सामाजिकता नै हो । काफ्का, चेखव, मिल्टन, जोन किट्स, एलेन गिन्सबर्ग, पाब्लो नेरुदा, रवीन्द्रनाथ टेगोर, बाल्मीकी वा व्यासले पनि आफ्नै समाज र परिवेश लेखेका थिए । बैरागी काईँला, इन्द्रबहादुर राई, भूपी शेरचन, रिमाल, पूणै वैद्य, वानिरा गिरी वा प्रतिसरा सायमी, उषा शेरचन, मोमिला, श्रवण मुकारुङदेखि वर्तमान युवापुस्ता पनि आफ्नै सामाजिक र साँस्कृतिक परिवेश र पृष्ठभूमिलाई कवितामा उतारेको पाउँछु । राजा महाराजा, सत्ता र सरकारको महिमामण्डित कथा–कविता वा खण्डकाव्य–महाकाव्यको परम्परालाई छिचोल्दै आमनागरिकले आफ्नो भोगाइ, दुःख, पीडा, अनुभव, अनुभूति आदिलाई आफ्नो मौलिक पहिचान, सभ्यता, संस्कृति वा मिथकमा उनेर कलात्मक प्रस्तुति दिन थालेका छन् । त्यसमध्येको एक म पनि हुँ ।

समस्या पाठमा होइन पाठक मनोविज्ञानमा पनि छ । अँ, सत्ताको अभिप्रायद्वारा निर्देशित सञ्चार र साहित्यिक संस्थाहरूको सीमाले पनि नेपाली साहित्यको विकास र विस्तारलाई खुम्चाएको सत्य हो ।

उहिल्यै भनेको हुँ, बजार, के लेख्यो भन्दा पनि कसले लेख्यो भनेर खोजीनीति गर्छ । माथि नै भनिसकेँ कि मेरो पहिचान नेपालकै उत्कृष्ट सम्पदा, संस्कार, संस्कृति र रीतिरवाजमध्ये पहिलो क्रममा संसारमा उभिएको छ । साहित्यलाई सीमाले लेपन गर्दा यस्ता प्रश्न उब्जने हो । नत्रभने, कुनै पनि कविले आफ्नै संस्कार, संस्कृति, रीति, पर्यावरण, परिवेश, परम्परा र सभ्यताको जगमा उभिएर तिनका सौन्दर्य र शक्तिलाई कलामा ढालेर अभिव्यक्त गर्ने हो । नियतवस् होइन गौरवबोधले भन्दा सभ्य सुनिन्छ कि । किन भन्ने प्रश्नको उत्तर मैले माथि नै दिइसकेको छु ।

कवि हुनुका साथसाथै सञ्चारकर्मी पनि हुनुहुन्छ । धेरै कविलेखकहरू सञ्चारक्षेत्रसँग असन्तुष्ट देखिन्छन् । सञ्चारक्षेत्रले नामचलेका केहीलाई काखी च्याप्ने र अरूको उपेक्षा गर्ने गरेको आरोप छ । तपाईंको अनुभवले के भन्छ?

मैले कतै पढेको छु सन्तुष्टि नै विकास र वृद्धिको बाधक हो । केही गर्ने भनेकै असन्तुष्टहरूले हो । सबैलाई थाहा छ, सरकार, साहित्य र सञ्चारमा सिन्डिकेइट छ । काठमाडौँको आदिवासीले त यो समस्या भोगिरहेका छन् भने दुरदराजको कुरा छोडौँ । आप्रवासी सञ्चारकर्मीलाई जीवन चलाउन गाह्रो छ । उनीहरू प्रायःले जहाँ खाना पाइन्छ र जसले खल्तीको समस्या सल्टाइदिन्छन् लाई महत्व दिन्छन् । कारण एक लोभ हो । अर्को भोक हो । अर्को आफ्नो कर्मको सौन्दर्य र जिम्मेवारीबाट च्युत हुनु । प्रायः सङ्गीतकार, सञ्चारकर्मी, गायक–कलाकार डोनेशनले बाँचिरहेका छन् ।

मेरो अध्ययन अनुसार हाम्रा अग्रज सञ्चारकर्मीहरू स्टार वा सेलिबृटी जन्माउँथे । अहिलेका पछि लाग्छन् । बजारमा जसको हल्ला छ उसैकोमा धाउँछन् । अझ आफ्नै नश्लका छन् भने सहयोग गर्छन् । प्रायः कलाकारको आफ्नै च्यानल र अनलाईन छ । आफ्नो हल्ला आफैँ गराउँछन् । पैसा तिरेर । पहिला पत्रकारहरू, सञ्चारकर्मीहरूको भरोसा हुन्थ्यो चर्चाका लागि । भारतमा स्टारसेलिबृटी पापाराजीदेखि बचेर हिँड्थे । नेपालमा पत्रकारहरूले कलाकारलाई आत्महत्या गर्न बाध्यसमेत पारेका छन् ।

जहाँसम्म मेरो सन्दर्भ छ, मैले मेरो सञ्चारकर्मको १५ वर्षमा करिव १२०० नवप्रवेशी र समकालीनको अन्तरवार्ता लिएको छु । देशभरिका करिव सात सय कविका कविता रेडियोमा वाचन गरेको छु । पाँच दर्जनभन्दा बढी उपन्यास र त्यसकै हाराहारीमा कथा स-स्वर वाचन गरिसकेको छु । मेरो लक्ष्य एक हजार कवितामा स्वर दिने । अनि सन्यास लिने । यदि मैले जानी नजानी कसैमाथि अन्याय गरेको छु भने सार्वजनिक क्षमा याचना गर्न तयार छु ।

सामाजिक सञ्जालको युगमा छौँ हामी । तपाईं पनि सामाजिक सञ्जालमा सक्रिय देखिनुहुन्छ । सिर्जना राख्नुहुन्छ, बहस गर्नुहुन्छ । के सामाजिक सञ्जालमा कुनै सिर्जनाको शक्ति वा सीमाको निरूपण हुन सक्छ ? के सञ्जालमा आउने प्रतिक्रियाहरू विश्वसनीय हुन्छन्?

बहुत मीठो सवाल । तर, जवाफ सजिलो छैन । जसले सामाजिक सञ्जालको दुरुपयोग गरेका छन्, गरिरहेका छन् तिनीहरू चर्चामा छन् । जसले हान्छ उसैले जान्छ भन्ने मनोविज्ञानबाट प्रेरितहरूले कमाइ पनि गरिरहेका छन् । म मध्यम प्रयोगकर्ता हुँ। म कविता लेख्दालेख्दै, लेख्नेका लागि मञ्च तयार गर्दागर्दै, रेडियोमा बोल्दाबोल्दै फेसबूक चलाउँछु । आफ्ना लागि कमै चलाउँछु । तर, मलाई व्यङ्ग्य गर्न मेसेञ्जरमा कचकच गर्न आउनेलाई व्यङ्ग्य गर्न पनि लाइक–कमेन्टको लफडा गर्न आइरहन्छु । थोरैले बुझ्नुहुन्छ । धेरैले मैमाथि आरोप थोपर्छन् । स्वाभाविकै होला ।

अँ, फेसबूकलगायतका सामाजिकसञ्जाल धेरै थोक भएसकेको दावी गर्नेहरूको कमी छैन । केही होइन भनेर सामान्यीकरण गर्नेहरूको भीड पनि छ । मलाई भने सामाजिक सञ्जाल सारङ्गीजस्तो लाग्छ । जान्नेले सही तरिकाले बजाए धुन सुमधुर बन्छ।

सञ्जालमा सबै प्रकारका लेखक, पाठक र प्रकाशक, प्रचारक छन् । तिनमा निहित स्वार्थ पनि फरक हुने नै भए । उनीहरूका आ-आफ्ना स्वाद, सीमा, शक्ति र शिक्षा छन् । सामाजिक सञ्जाल सबैथोक होइन । तर, कम पनि होइन । त्यहाँबाट स्तरीय मुल्याङ्कनको आशा राख्नु आफैंलाई दुखाउनु मात्र हो । यहाँ कीरालाई हीरा र हीरालाई कीरा बनाइरहेको हुन्छ । सामाजिक सञ्जालले समाज र सभ्यता विकासक्रमलाई फराकिलो बनाउनुको साटो विकृत बनाएको सत्य हो । सबैले आफूलाई देखाइरहेका छन् । अरूलाई हेर्ने, अरूलाई सुन्ने वा अरूको सम्मान गर्ने संस्कार, संस्कृति र परम्पराको अन्त्यप्रायः भएको छ। संसार सञ्जाल बाहिर छ । पाठक र प्रेरक पनि । त्यो नै वास्तविकता हो ।

सञ्जाल चित्रहरूको भीड हो । चरित्र हेर्न त डुब्नुपर्छ । चरित्रभित्र । हतारमा आउने र बेगले फर्कनेको भीडबाट सिर्जनाको मुल्याङ्कन सम्भव हुँदैन । ति प्रतिक्रियाको विश्वसनीयतामाथि सन्देह नगरौँ । र, तर विश्वस्त नरहौँ ।

राज्यव्यवस्थामा जस्तै साहित्यमा पनि निश्चित वर्गका मान्छेको दबदबा छ भन्छन् कतिपय मानिसहरू । यसमा तपाईंको धारणा के छ? यसलाई कसरी चिर्न सकिएला?

यो गम्भीर र नेपाली समाज र राजनीतिकेन्द्रित सारभूत प्रश्न हो । सत्तादेखि सडकसम्म वर्ग हावी छ । सत्ताको चरित्र र मनोविज्ञान कहिल्यै देश, नागरिक र व्यवस्थाको विधिविधानकेन्द्रित भएन । यो पृथ्वीनारायण, राणा, राजादेखि गणतन्त्रसम्म पनि यथावत् छ । उनीहरूको ध्येय केवल शासन र सत्ता रह्यो । साहित्यमा नश्ल हावी भयो, वर्ग हावी भयो, व्यक्ति वा सत्ता हावी हुनेबित्तिकै साहित्य, कला, संस्कृति वा सभ्यता गौण हुन्छ । भक्ति हावी हुन्छ । महेन्द्रकालमा महेन्द्रका दूत हावी थिए । अहिले पनि उनैको भूत हावी छ । योभन्दा ठूलो विडम्बना के होला ?

यसको ज्वलन्त उदाहरण प्रज्ञा प्रतिष्ठानलाई लिन सकिन्छ । कुनै पनि प्रज्ञावान मानिस कसरी दास मानसिकताले पद ओगटिरहन सक्छन् ? राजनीतिक नियुक्ति र निर्देशनले साहित्यको विकास र संरक्षण हुन सक्दैन । मैले माथि पनि अलिकति निवेदन गरिसकेको छु ।

यसलाई चिर्न धेर कुरा गर्नै पर्दैन । सम्पूर्ण साहित्यकारले चर्चाको लोभ र कुर्सीलोलुप्ता त्यागे सब ठिक हुन्छ । राजनीतिक शरणार्थी नबन्ने । राजनीतिक नियुक्ति बहिस्कार गर्ने । साहित्यिक कार्यक्रम वा पुस्तक सार्वजनिकीकरण आदिमा राजनीतिक कार्यकर्ता र नेतालाई स्रोता वा दर्शक बनाउने । उनीहरूलाई पाठक बनाउने । प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता प्रतियोगिता खारेज गर्ने । प्रादेशिक प्रतियोगिताबाट कविता छानेर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने । त्यस प्रतियोगिताबाट चयन भएका एक कविलाई दुई वर्षका लागि राष्ट्रकवि घोषणा गर्ने । प्रतियोगिताविधि पारदर्शी बनाउने । सार्वजनिक सुनवाई गरी राजनीतिक पृष्ठभूमि, सार्वजनिक पद धारण गरेका व्यक्ति, उद्योगी, व्यवसायी र मिडिया र सञ्चारगृहमा रहेका बाहेकलाई निर्णायक चयन गर्ने । उनीहरूको राजनीतिक र चारित्रिक पृष्ठभूमि, व्यक्तिगत योग्यता, सामाजिक जीवन आदिलाई योग्यताको कसी बनाउने ।

कुनै पनि साहित्य प्रकाशनका लागि सम्पादन अनिवार्य गराउने । सम्पादकहरूको निश्चित योग्यता निर्धारण गरी विधा र स्तर मापन गर्ने । निजी प्रकाशनलाई नियमन गरी वर्ग छुट्याउने प्रावधान बनाउने ।

सरकारले साहित्य, कला, सङ्गीत आदिको विकासका लागि वार्षिक बजेट बिनियोजन गर्ने । साहित्यिक संस्थाहरूलाई सहयोगका नाममा भइरहेको ब्रम्हलुट, दलीय पक्षपोषण र जातीय संरक्षणलाई नियोजन गर्न वर्षको एकचोटि उनीहरूका क्रियाकलाप सार्वजनिक गर्ने । सरकारी कार्यक्रममा राजनीतिक नेता, कलाकार, उद्योगी–व्यवसायी र सार्वजनिक पद धारण गरेकालाई प्रमुख अतिथि, वा मञ्चआसिन नगराउने । कार्यक्रममा बढीमा तीनजना आसनग्रहण गराउने । साहित्यकारले महल बनाउन सक्छन् भन्ने प्रमाणित गर्न बजार व्यवस्थापन गर्ने ।

Facebook Comments Box