आजदेखि मैलुङखोलाको आइपिओ खुल्यो, अरू दुई कम्पनीको पनि खुल्ने

71

आजदेखि मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।

कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सिडिएससीको मेरो सेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।

केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ। औसतमा यो कम्पनी कमजोर स्तरको जनाउँछ। बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।

आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ।

लगत्तै दुई कम्पनीको आइपिओ आउँदै
मैलुङखोलापछि सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तको आइपिओ खुल्ने छ।

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा बिक्री खुल्ला हुने भएको छ। कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो। जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो।

कम्पनीको आइपिओलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनी आफ्नो दायित्व वहन गर्ने क्षमतामा औसत स्तरमा रहेको संकेत गर्छ। यस्तो रेटिङमा एएए सबैभन्दा राम्रो मानिन्छ भने डी सबैभन्दा कमजोर मानिन्छ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसको प्रधान कार्यालय कमलादीमा छ। ११८ शाखा कार्यालय संचालनमा छ।

त्यस्तै मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।

श्रोत: setopati

Facebook Comments Box