झुटो व्यस्तता

२०७८ श्रावण १२, मंगलवार ११:५६

एकमुठी न्यानो घामले
हिमाली जाडो हटाउन आतुर छ
भोकमरी
लाचारी
महामारी इत्यादि सबै
पीडालाई बिर्सेर क्षणभरको
आनन्द लिने होडबाजी छ
निद्राबाट ब्युँझेका छन्
पाँच वर्षसम्म निर्धक्क सुतेकाहरू
निमुखाहरूको भाग खोसी अघाएर डकार्दै
भुँडी छाम्दै
गद्दीमा लमतन्न भएर कुम्भकर्ण झैँ निद्रामा
बिलीन थिए हिजोसम्म!

ब्युँझेर भोकले आतुर हुँदै
फेरि धाएकाछन् सबैको ढोका ढोकामा
चोर ओँलाको खोजीमा
भोका-नाङ्गाहरूको अथाह सागरमा
बल्छी थाप्ने तरखरमा छन्
एकमुठी चारो झुन्डाएर

सबै पीडा भुलेर
उनीहरूले फिँजाएको रंगमञ्चमा
नाच्दैछन् ठूला-बडाहरू
रातो पहेँलो इत्यादि रङ्गको झन्डा बोकेका जुलुस लिई
हिँडेका छन् बाटा-बाटामा मदिरामा लट्ठ भएर
भोलिको चिन्ता छैन् कसैलाई
अाजको रमझमले भोलिलाई बिर्सेका छन्
विवेकहीनहरूले
एकथाल मासुभातमा बेचेका छन्
अाफ्नो इमान होटेल होटेलमा

अाफ्नो स्वार्थपूर्तिका लागि देखापरेका छन्
पुछ्रेताराहरू गाउँ गाउँमा
पुराना घाउ निको पार्छु भन्दै

भव्य जनभेला भएको छ उनीहरूको स्वागतमा
आश्वासनको ठूलो स्वर गुन्जिएको छ आकाशसम्म
एक कप गुलियो चियामा भुलेकाछन्
धेरै तथाकथित भलाद्मी!

आस्था र विश्वासको यो वुनियादी लडाइँमा
कहिले बोलेर कहिले तोलेर
मनुष्यताको खिल्ली उडाएका छन् कसैले
झुठो चाल खेलेर नेताले
सत्ताको स्वाद चाट्दछन्
भोट ठोक्नेहरू चाहे भोकै मरुन्

राजनीतिको यो खेल हो
जहाँ कागजी सत्य दोहोर्‍याइन्छ
कहिल्यै यथार्थ नहुने कहिल्यै न्याय नहुने।

200 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal