मैयाँको दोस्ती

२०७८ श्रावण १०, आईतवार २२:५२

पोहरसालको लकडाउनको बेला एक्कासी बिहानै फोन बज्यो । हेरेँ घरबाट रैछ । बुवा – आमसँग प्राय: राति बातचित हुन्थ्यो । बिहानीको फोनले केही कौतुहलता बढायो । उठाएँ ।

‘ संजय ! मैयाँ लड़खड़ागेल हौ , न ऐबही। ‘
मधुरो सुने । मैले बोलिन । अङ्कललाई फोन लगाएँ । सँगै घर जाने टुङ्गो लाग्यो । गाडी खोज्न हिँडे । बाटो शान्त थियो । मन अशान्त ।

-मैयाँ कहाँ हौ ? न हौ घरे ?
-कते होतौ ? – उहे अड्डामे – मुसरी टोल

गाउँको दक्षिणओर एउटा सानो टोल थियो – मुसरी टोल। मुसहरको बस्ती । स – साना घरहरू । तर अँटिन्थ्यो ती कदहरू। एउटा घर छिर्दा त्यहीँबाट सबैको घर पुगिन्थ्यो। उसकोबाट उसको – उसकोबाट उसको । लस्करै थियो । अझै छ। त्यो टोल भएर सजग भएर हिड्थे अरु जातका मान्छेहरू । छोइञ्छ कि भनेर । अहिले जस्तै । कोरोनाको यो कहरमा मान्छेदेखि मान्छे अल्लगै भाग्ने जस्तै ।

तराईमा मुसहर अछुत मानिन्छन् ।

त्यही मुसरी टोलमा मैयाँको अड्डा हुन्थ्यो, बिहान – बेलुका । पवनी- तिहारमा त बासै उतै । दोस्ती जो थियो जमुनियावालीसँग । ( गाउँमा विवाहित महिलालाई उसको गाउँ/ ठाउँको नामबाट बोलाउने चलन छ । हरीपुरको – हरिपुरवाली / जगतपुरको – जगतपुरवाली/ जमुनियाको – जमुनियावाली )

म पनि मैयाँको प्यारो पोता , मैयासँगै हुन्थेँ प्राय:। मैयाँसँगै ओहोर- दोहोर गरिरहन्थें । सुँगुरको मासुमा पल्केको थिएँ । कहिलेकाहीं त मुसाकै चल्थ्यो। छुवाछुतको कुनै नामो निसान थिएन – मैयाँको मनमा । एक अर्काको घरमा आवत- जावत, खानपिन, झन् ठर्रा भएपछि त कुरै नगरौँ । यो दोस्ती खै केमा अडिएको थियो । निस्वार्थ थियो । जमुनियावालीलाई चाउर् , दाल, बगीया, अलुवा विभिन्न खानेकुरा पुर्याउनु हुन्थ्यो । घरको अरूले देख्छ कि भनेर सारीमा लुकाएर लानु हुन्थ्यो । हाटको दिन गाउँको रौनक, त्यसमा पनि यी दुइ दोस्तको चमक अर्कै हुन्थ्यो । शनिवार कान्तिबजार , सोमवार गौशाला बजार । जाँदा सँगै – आउँदा सँगै । बजारको खानपिन – सुंगुरको मासु र ठर्राको जादुले गाउँलाई रातिसम्म दिउँसै राख्थ्यो त्यो हल्ली – खल्लीले। झन् मैयाँ त गाउँकै गायक । विवाह होस् वा पवनी तिहार । सबै जिम्मा उहाँलाई नै हुन्थ्यो ।
यो तहको आत्मियता/ अवचेतन चेतना थियो यी दुइको दोस्तीमा ।

जमुनियावालीलाई पनि मैयाँ नै भन्थे । मैयाँको दोस्तजो थियो !

गाउँमा छुवाछुतको अवस्था भयावह थियो । भोजमा छुट्टै बस्नु पर्ने – सबैले खाएर उठिसकेपछि । पानी खान दिंदा पनि चिरुवामा खानुपर्ने – भाँडो नछोइकन। यी अवस्थाका वावजुद यो दोस्ती एक मिसाल थियो ।

एक्कासी झसंग भएँ । गाडी झन्डै छोएर गयो । गर्व लाग्यो ती कुरा सम्झिँदा । मैयाँका यी किस्साहरू सम्झिन पाउँदा ।

लक्डाउन अलि खुकुलो भएको थियो। प्राइभेट गाडी जोड बिजोड गरि चल्न दिइएको थियो ।
एउटा ट्याक्सीवालालाई सोधें,

-कतिमा जाने हो सर्लाही ?
-२० हजार ।

अङ्कललाइ फोन गरेर गाडी भएन, उतै खोज्नुस् भनें । उहाँले एउटा प्राइभेट कार ८ हजारमा फेला पार्नु भयो । मैयाँको सास बाँकि रहेन भनेर फोन आको आइ थियो । ठिकै भो , १०० वर्ष पार गरिसक्नु भएको थियो । बुढेसकाल धेरै लामो हुनु हुँदैन भनेर मन शान्त पार्न खोजें । मनले भने गन्थन गरिरह्यो ।

– मैयाँ ! कते गेल रहले ? कथि अन्ले ?
– ले ( कुनामा गएर कहिले मासु, कहिले चकलेट, कहिले बिस्कुट , कहिले चप, कहिले पकौडा ; के -के हो के के )
चबाउन खोजें । माक्स चबाएछु ।

एउटै कारमा दुइजना बच्चासहित् ६ जना , चालक लगाएर ७ जना थियौं । सब चुपचाप । घरबाट फोन आको आइ थियो ।

‘ कैजा ऐले? ‘

बल्ल राति ९ बजे घर पुग्यौं । अन्तिम संस्कारको लागि हामीलाई पर्खिनु भएको थियो ।

मैयाँ मरेकोमा कुनै दु:ख छैन । सार्थक जीवन ; सुख दुख सबै बाँच्नु भो । तर ती दोस्तीको स्मरण गर्दा र आजका कथित् विद्वानवर्ग / ज्ञानका प्रवर्तक / किताबकै सिरानी लिएर सुत्ने यी मनुवाहरूको चेतनामा घाम लागेको हेर्न मन छ । मेरो मैयाँको स्वस्फुर्त चेतनाको थोरै अंश यिनीहरूमा वृष्टि भएको हेर्ने मन छ ।

समानता, समता, न्यायोचित समाज हेर्ने मन छ ।

मैयाँका ती पाइलाहरूलाई सत्सत् नमन छ ।

 

थारु शव्दार्थ :

मैयाँ – हजुरआमा

‘ संजय ! मैयाँ लड़खड़ागेल हौ , न ऐबही। ‘ – ‘ संजय ! हजुरआमाको अवस्था गम्भीर छ, नआउँने । ‘

मैयाँ कहाँ हौ ? न हौ घरे ? – हजुरआमा कता हुनुहुन्छ ? घरमा हुनुहुन्न ?

कते होतौ ? – उहे अड्डामे – मुसरी टोल = कहाँ हुनु ?- त्यही अड्डामा – मुसरी टोल

पवनी- तिहार = चाडवाड

पोता = नाती

चाउर् – चामल

बगीया – चामलको पिठोले बनाएको ढीकरी ; एक विशेष थारू परिकार

चिरुवा- अंजुली

मैयाँ ! कते गेल रहले ? कथि अन्ले ? – हजुरआमा कता जानुभाथ्यो ? के लिएर आउनु भयो ?

ले – लेऊ

कैजा ऐले? – कहाँ पुग्यौ?

226 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal