कविता : मेरा गुरु

२०७८ श्रावण १०, आईतवार २३:०९

मलाई अझै याद छ,
साथीले धकेलेर म भुईमा लडेको दिन,
हजुर आउनुभयो, जुरुक्क उचाल्नुभयो,
अनि अफिसमा लगेर टफी दिनुभयो,
म मख्ख पर्दै टफीको गुलियो रस
घुटुक्क निल्दै मुसुक्क हाँसेको दिन
मलाई अझै याद छ ।

मलाई अझै याद छ,
खेल्दा खेल्दै जुत्ताको तुना फुस्केको दिन,
हजुर आउनुभयो टुसुक्क बस्नुभयो
अनि म सँग गफ गर्दै तुना बाँध्नुभयो,
म फुरुक्क भइ साथीलाई
अंगालो हाल्दै हिँडेको क्षण,
मलाई अझै याद छ ।

मलाई अझै याद छ,
वर्षाको हिलोमा म चिप्लिएको दिन,
हजुर आउनुभयो, मेरो हात समाउनुभयो,
अनि धारामा लगेर हिलो पखालीदिनु भयो,
होस्टेलबाट अर्को स्कर्ट मगाइ लगाइदिनुभयो,
म प्रफुल्लित भइ कक्षामा गएर बसेको दिन
मलाई अझै याद छ ।

मलाई अझै याद छ,
पहिलो पटक स्कुलको चित्र बनाएको दिन,
हजुर आउनुभयो, चित्र हेर्नुभयो,
अनि स्यावास, कति राम्रो भनी गुड दिनुभयो,
म खुसीले गदगद भइ अर्को दिन
स्कुलसँगै हजुर र मेरो चित्र बनाएको
मलाई अझै याद छ ।

मलाई अझै याद छ,
परीक्षामा कम अंक आयो भनी रोइरहेको दिन,
हजुर आउनुभयो, मलाई अलि पर लानुभयो,
अनि उदाहरण दिइ कथा सुनाउनुभयो,
म शान्त भएँ, निर्धक्क भए,
दृढ संकल्प लिइ हलुको भइ कक्षामा गएको दिन,
मलाई अझै याद छ ।

मलाइ अझै याद छ,
ती सबै दिनहरू, ती सबै क्षणहरू,
हजुरले दिनुभएको माया र ममता,
हजुरले भर्नु भएको साहस र आत्म सम्मान,
हजुरले जगाउनुभएको प्रेरणा र सौहाद्रता, त्यसैले त हजुरलाई पछ्‌याउँदा पछ्‌याउँदै,
अहिले म शिक्षक भएकी छु,
अनि हजुर जस्तै गुरु बन्न प्रयासरत छु ।

हजुर जस्तै गुरु बन्न प्रयासरत छु,
सदा हजुरको मार्गदर्शन र शुभाशिषको आकांक्षी छु,
सदा हजुरको मार्गदर्शन र शुभाशिषको आकांक्षी छु ।

(शिक्षक – श्री सरस्वती मावि वनगाउँ, टीकापुर, कैलाली)

338 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal