मैले गरेको भूमिकाले मान्छेलाई सोच्न बाध्य बनाओस् : रक्षा थापा

0

रक्षा थापा मूलतः रङ्गमञ्चको कलाकार हुन् । उनले आफूलाई फिल्महरूमा भन्दा रङ्गमञ्चमा नै बढी रमाएको पाउँछिन् । कनन हरलता, झिम्के मामा, किन  लगायत धेरै नाटकहरूमा आफ्नो अभिनयले लोकप्रिय बनेकी थापाले नाटकको साथसाथै सर्ट मुभी, विज्ञापन, र म्युजिक भिडियोहरूमा आफ्नो कलाकारिता  देखाएकी छिन् ।

सेन्ट्रल खबरका लागि अनिल खतिवडाले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अहिले विशेष के मा व्यस्त हुनुहुन्छ ?

अहिले मेरो बोर्ड परीक्षा चलिरहेको छ । त्यसैले आजकल परीक्षाकै तयारीमा लागेको छु । एकदुईटा बाँकी रहेका प्रोजेक्टहरू पनि छन् त्यसमै अलिकति व्यस्त छु ।

कोरोनाले कतिको क्षति पुर्यायो पेशागत तहमा ?

कोरोना कहरले रङ्गमञ्च नखुलेको र नाटकहरू नचलेको पनि अब त दुई वर्ष लागिसक्यो । तर सौभाग्यवश मैले भने बिचमा पनि धेरै क्यामराको कामहरू गर्न पाएँ । त्यसैले म आफूलाई एकदम नै भाग्यमानी ठान्छु किनभने अहिलेको स्थितिमा धेरै कलाकारहरूलाई गाह्रो परिरहेको बेला यति कामहरू गरिरहन पाउनु भनेको एकदमै ठूलो कुरा हो । त्यसमा मेरो कुनै गुनासो छैन ।

रङ्गमञ्च र मुभी दुबैतिर सक्रिय हुनुहुन्छ ?  बढी मज्जा के मा लाग्छ ?

काम गर्न मज्जा आउने त रङ्गमञ्चमा नै हो । एउटा नाटक गर्दा सुरुदेखि अन्तिमसम्म कुनै रोकावट बिना काम गर्न पाइन्छ । इमोसनको फ्लोमा जान पाइन्छ । रङ्गमञ्चको ऊर्जा र माहौल छुट्टै रमाइलो हुन्छ । अगाडि पूर्वाभ्यासको बेला हुने रमाइलोको त झन् कुरै नगरौँ ।

क्यामराको काममा पनि रमाइलो नहुने त हैन अलि धेरै टेक्निकल भइदिन्छ अनि आफूले फ्लोमा काम गर्न पाइँदैन, इमोसन नै ब्रेक हुन्छ ।

तपाईँलाई कस्तो खालको भूमिका मन पर्छ ? वा गर्न पाए जस्तो लाग्छ ?

कुनै पनि भूमिका जसले एउटा कथा बोकेको होस् । कसैको नसुनिएको, नभनिएको कथा भन्न पाइयोस् त्यो भूमिका र अभिनयबाट । अनि पो मज्जा आउँछ नि काम गर्न त । अझ त्यो भूमिकाले मान्छेलाई सोच्न बाध्य बनाओस् ।

त्यसैगरी मलाई सधैँ एकै खालेभन्दा पनि फरक फरक भूमिका गर्न मन लाग्छ । चुनौतीपूर्ण होस् न गर्न पनि । तर, नेपालमा महिला कलाकारलाई एउटै खालको भूमिका दिइरहेको हुन्छ जसमा उनीहरू राम्री देखिनुपर्ने हुन्छ । आँखाको लागि देखाउन मात्र राखिएको जस्तो । मलाई चैँ फरक काम गर्न मन छ । क्यारेक्टर त जस्तो पनि हुन सक्छ नि ! शो पिसको रुपमा मात्र देखिन नपरोस् जस्तो लाग्छ ।

मुभी / म्युजिक भिडियोको प्रस्ताव आउँदा के को आधारमा स्वीकार वा अस्वीकार गर्नु हुन्छ ?

पहिलो त कथावस्तु र स्क्रिप्ट नै हेर्छु । म्युजिक भिडियो भए गीत पनि सुन्छु । अर्को भनेको कास्ट र क्रुमा को छ भन्ने हेर्छु । अचेल टिमको पहिलाको कामहरू पनि हेर्न थालेको छु ।

कलाकारको रूपमा आफूलाई हेर्दा विशेष के खुबी भएजस्तो लाग्छ ?

कलाकारको रूपमा हेर्दा विशेष खुबी चैँ, कामको बेलामा रातदिन नभनी काम गरिरहेको हुन्छु । त्यही नै होला । र नयाँ कुरा सिक्न, जान्नलाई सधैँ तत्पर रहन्छु । अर्को मुख्य कुरा चैँ मसँग एकदम नै धेरै सुन्न सक्ने क्षमता छ जुन एउटा कलाकारमा हुनपर्छ जस्तो लाग्छ ।

समाजको सनातन र रुढीगत संरचनाविरुद्ध कतिपय कलाकारहरू प्रखर नै देखिन्छन्। चाहे यौनका कुरा हुन् वा महिला हिंसा वा सामाजिक विषयवस्तु । समाजमा स्थापित त्यस्ता केही कुरीतिकाविरुद्ध तपाईँको विशेष धारणा छ ?

हाम्रो देशमा यस्ता कुरीतिहरूले जरा गाडेर बसेका छन् । गाह्रो हुन्छ यसलाई निकालेर फाल्न । तर सम्भव भने छ । आजकल मलाई अलि खुसी किन लाग्छ भने मान्छेहरू बोल्न थालेका छन् । कुराहरू बाहिर आउन थालेको छ । आवाज उठ्न थालेका छन् । यो भनेको पनि ठूलो कुरा हो । हजुरहरू नै हेर्नुहोस् न हामी कस्तो स्थितिबाट कस्तो स्थितिमा आइपुगेको छौँ। त्यसैले बिस्तारै परिवर्तन आउँछ जस्तो लाग्छ मलाई । हामीले हार मान्नु भएन । यस्ता कुरीतिविरुद्ध डटेर लाग्नु पर्छ ।

मलाई चैँ सहानुभूति भन्ने कुरा एकदम शक्तिशाली लाग्छ । सबै मान्छेमा अरूको ठाउँमा उभिएर हेर्न सक्ने र महसुस गर्न सक्ने क्षमता भइदिएको भए अहिले हाम्रो समाज नै छुट्टै हुन्थ्यो होला जस्तो लाग्छ । यस्तो समस्याहरू नै हुन्थेन कि जस्तो लाग्छ ।

तर त्यति सजिलो भने छैन यो पितृसत्तात्मक सोच हटाउन । स-साना कुराले हाम्रो मानसिकतालाई दास बनाएको हुन्छ र स्वीकार्दै जाँदा समस्या जटिल हुँदै जान्छ । संरचना नै बन्छ । समाजले जस्तो बनायो त्यस्तै हुने हो मान्छे ।  अब परिवर्तन ल्याउनु पर्छ भन्नेतिर लाग्न पर्छ । मान्छेलाई शिक्षित बनाएर होस् वा आवाज उठाएर होस् अथवा त्यस्तो मान्छेलाई दण्ड दिएर नै किन नहोस् । हामीले नै हो परिवर्तन ल्याउने चैँ ।