झुपडीको दैलो

0

उसको पनि एउटा घर छ
आकाशमुन्तिर
बादलले मात्रै देख्छ

जब उसको घर छ
सपना सजाउँछ उसकै ढङ्गले
उसको भोकसँग
महलको भोक
दाँज्न ऊ चाहँदैन

सम्पति भुट्टो भाङ केही छैन
उसको घरमा
कोठैकोठाले सजिएको छैन
उसको घर
आधुनिकता र कृत्रिमताले छोपेको द्वैत कोठा
कल्पना गर्न सक्तैन ऊ
साँचो भन्नु हो भने
घर भन्ने उसको घरै छैन
जहान र परिवार छन्
अनि छ आत्मीयता
प्रेमले बाँधिएका मानिस मानिसजस्ता देखिने
केही प्राणीहरू

उसको घरमा अहङ्कार छैन
अहङ्कार गर्नु पर्ने कुनै वस्तु छैन उसका घरभित्र
तर पानीमा भिज्न नसक्ने गरी
घाममा डढ्न नसक्ने गरी
हावा-हुन्डरीले उडाउन नसक्ने गरी
भोकमा मर्न नदिई
जोगाएर राखेको छ
स्वाभिमानको बीउ
अनिकालकै बिच

ऊ भुईँ टेक्दै हिँड्छ घामलाई निहार्दै
ऊ बच्चा हुर्काउँछ सगरमाथाको उँचाइ हेर्दै
बाँच्नु छ उसले मनुष्यता बोकेर
हिड्नु छ उसले माटोको रक्षक बनेर

सभ्यता विकासका कथाहरू
उसले सुनेको छ
अन्तरीक्ष पुग्ने मानिसका पखेटाहरू पनि
उसले देखेको छ
सुनेको छ उसले
ऐनहरू धेरै बनिए रे यसपालि
ऊ र ऊजस्तैको करेँसाको ओझेल हटाउने
योजनाहरू बनिए रे यसपालि
सुन्न र देख्नुको कति फरक हुन्छ
कुनै अङ्क गणित पढाउने शिक्षकलाई सोधेन उसले

बिउ उमार्छ उसैले
कोदो फलाउँछ उसैले
तैपनि
ऊ हेपिन्छ महलहरूदेखि
महल रोज्ने प्रतियोगीहरूदेखि

सानो झोपडी नै उसको
घर हो रमाउने
शहर हो निदाउने
जुन शहरमा आमा बुवा उसका अटाउँछ
प्रेम-पिरती अँटाउँछ

अहङ्कार भित्रिएको महलको पीर भन्दा
झोपडीको खिर नै राम्रो
किनकि
झोपडीमा भुईँ टेक्ने मान्छे बस्छ्न्
मान्छेजस्ता बाँदरहरू
झोपडीमा पस्न सक्तैनन्
दैलो सानो हुन्छ।