पर्यटकीय लेक चढ्न पदमार्ग

२०७८ श्रावण ४, सोमबार १०:१७

पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।

गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ । पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए । गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताउनुभयो । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो । पदमार्गले घुम्टे चढ्न सजिलो र छरितो बनाएको उहाँको भनाइ छ । सिद्धथानका सात घरमा सामुदायिक घरबास सेवा छ । घरबाससँग घुम्टेको पर्यटन पनि जोडिएको छ । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे जिल्लाकै आकर्षक गन्तव्यस्थलमा पर्छ । त्यहाँ बर्सेनि वैशाखे पूर्णिमा र नयाँ वर्षका अवसरमा मेला लाग्ने गर्छ । घुम्टेको धुरीमा रहेको सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमै गुराँस उत्सव आयोजना गर्दै आएको छ । जैविक विविधताले भरिएको घुम्टेमा चैत÷वैशाखमा दर्जनौँ थरीका गुराँस फुल्छन् । घुम्टेको चुचुरोबाट छिमेकी जिल्लाका समेत रमणीय ठाउँको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पखको दृश्यावलोकनका लागि घुम्टे उपयुक्तस्थल हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्र समेटिएको घुम्टे लेक चढ्न यसअघि हरिचौर, मल्म हुँदै पनि पदमार्ग जोडिएको छ । घुम्टेलाई सडक सञ्जालसँग जोड्न अहिले मार्ग खोल्ने काम भइरहेको छ ।

135 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal