जात व्यवस्थाबारे साहित्यकारले प्रखर स्टाटस् / विचार लेख्न किन सक्दैनन्/ चाहदैनन् ?

63

रुपा सुनारको घटना सामान्य लागे पनि यो एउटा प्रतिनिधि घटनाले जात व्यवस्थाबारेको सम्पूर्ण बुझाई र संरचनागत अवशेषलाई छताछुल्ल पारेको छ। माओवादी युद्धले मात्रै देशलाई अशान्त पारेको रैन छ त, न त शान्ति प्रक्रियापछि देशमा शान्ति छाएको छ। नबोलेर, सहेर पो शान्त देखिएको रहेछ । अझै नबोलेर सहिदिने हो भने त कति शान्त हुन्छ है – हाम्रो देश !

भो है ! म त बोल्छु। बौद्धिक कहलिनु छ भने तपाईंहरू चुपचाप तमासा हेर्दा भो। होइन भने बोल्नुस्, बरु नाङ्गो हुनुस् । म त नसकिने भएँ। लेखिहालेछु यति।

यो घटनाको उठानले, कतिपयले प्रायोजित भने पनि, जात व्यवस्थाको नाममा भइरहेको शोषण, उत्पीडनलाई बहसमा ल्याउँनु आफैंमा सकारात्मक रहेको पंक्तिकारको बुझाई छ। अझ देशको राजधानीमै यस्तो घटना हुनुले गाउँ र विकटक्षेत्रको अवस्था सजिलै आँकलन गर्न सकिन्छ। कति घटना आउँदा हुन् त मिडियामा ? कतिले बोल्दा हुन् यसको विरुद्धमा ? हिसाब छ कोहीसँग ? अझै पर्खिंदै बस्ने हो की?

होइन भने – यस्ता घटनामा बहस हुनुपर्छ र बहसमा बौद्धिक तह तप्का प्रखररुपमा उत्रिनु पर्छ – जात व्यवस्था ठिक वा गलत छ भन्दिनु पर्छ । बौद्धिक र सार्वजनिक भनिएका साहित्यकार/लेखकको ‘ जात व्यवस्थाको बहसमा ‘ न्यून उपस्थितिले उनीहरूप्रति वैचारिक प्रष्टता खोज्नु /हुनु अहिलेको आवश्यकता हो। प्राय : साहित्यकारहरू जात व्यवस्थाको प्रतिक्रियामा सामान्य टिप्पणी ‘ म छुवाछुत मान्दिन / गर्दिन ‘ भन्दै पन्छिन खोज्छन्। के साहित्यकारको धर्म लेख्नु – सिर्फ साहित्य लेख्नु नै हो त ? हो भने – साहित्यमा पनि जात व्यवस्थाकै पक्षपोषणमा लेख्दा पनि हुन्छ। होइन र ?

होइन भने –

जात व्यवस्था वा अन्य कुनै पनि सामाजिक विकृतिबारे साहित्यिक सिर्जनामा प्रखर लेख्ने सर्जक लेखकले एउटा स्टाटससम्म पनि लेख्न किन डराउँछ ?
स्तम्भकारको उपर्युक्त जिज्ञासामा कवि तथा साहित्यकार अविनाश श्रेष्ठ भन्नु हुन्छ ‘ म आफू जातीय भेदभावको कट्टर विरोधी हुँ । आजको एक्काइसौं शताब्दीमा पनि नेपालमा जातीय भेदभाव छ भन्ने सम्झँदा मलाई लज्जाको अनुभूति हुन्छ । हाम्रो पुस्ताले त्यति प्रखर रूपमा यस कुप्रथाको विरुद्ध सङ्घर्ष गर्न नसकेको सत्य हो । भावी पुस्ताले नेपालबाट जातीय भेदभावको यस कुप्रथालाई एकदिन निमिट्यान्न पारेरै छाड्ने छ भन्ने कुरोमा ठूलो विश्वास छ। ‘

त्यस्तै, लेखक, समालोचक तथा वरिष्ट पत्रकार हरि अधिकारी भन्नु हुन्छ, ‘ किन लेख्ने मन नलागेको विषयमा ? जात-पातका कुरा उठाउनेहरू छन् नि – तिनले लेख्छन् । यो २१औँ शताब्दीमा जातपातका कुरामा अल्झिने भनेको वाहियात होइन र ? तर म चाहिँ जातका आधारमा मान्छेलाई नहेर्ने हुनाले यसका बारेमा प्रष्ट छु । ‘

कवि तथा लेखक परशुराम कोइरालाका अनुसार नेपालमा जातीय समस्या समाधानका सोंच राख्ने लेखकहरू कमै छन् । उनि भन्छन्, ‘ नेपालका जातीय समस्या समाधानको सोंच राख्ने लेखकहरू कमै छन् । धेरै त कर्मकाण्डी छन् । उनले यस्ता लेखक नै समाज रुपान्तरणका समस्या भएको बताउँछन् । उनि रोष प्रकट गर्दै भन्छन्, ‘ जनताले फेरी तिनै कर्मकाण्डीलाई पत्याउँछन् । सत्तासेवीहरू विभेद कायमै रहेकामा पनि बोल्दैनन् ।’

तर जात व्यस्थाविरुद्ध आवाज बुलन्द भइरहेको बेला साहित्यकारजस्तो बौद्धिक र सार्वजनिक सर्जकले ‘ म छुवाछुत मान्दिन/गर्दिन ‘ भन्दै सार्वजनिक सामाजिक उत्थानको विषयबाट पन्छिन मिल्छ र ? साहित्यिक सिर्जनामा उद्दरण गरेका प्रसंगसमेत विचारमा बोल्न / लेख्न नसक्नु के हो त ? साहित्यिक र वैचारिक प्रष्टता नभएर वा साहित्यिक उपभोगको लागि मात्रै ! या त साहित्यिकरुपमा आएका सिर्जनाले स्टाटस् / विचारजतिको प्रत्यक्ष र अविलम्ब प्रतिक्रिया पाउँदैन र कित्ताकाटको डर कम हुन्छ। साहित्यकार जोगिन्छ आलोचना वा समर्थनबाट। यो मध्यमार्गी उपाय हो र यसले विकृतिको पक्षमा खतरनाक भूमिका खेलिरहेको हुन्छ। अन्य धेरैलाई बोल्न / लेख्नको लागि मार्ग अवरुद्ध गरिदिएको हुन्छ। जो अरुको धारणा पर्खेर बसेको हुन्छ। हुन त अरुको धारणा पर्खेर आफ्नो धारणा व्यक्त गर्ने अत्ति नै कायर हो ।

कवि तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रिय सदस्य कृष्ण विश्वकर्माको टिप्पणी छ, ‘ साहित्यकारहरू जसरी साहित्यमा क्रान्तिकारी वा रुपान्तरणको पक्षधर बन्छन् , व्यवहारिक जीवनमा प्रायः त्यसको ठीक उल्टो दिशा वा पश्चगमन या यथास्थितिवादी हुन पुगेको देखिन्छ ।’ उनको विचारमा साहित्यकारहरू विरोधाभासपूर्ण र अस्पष्ट जीवन र व्यवहार प्रकट गरिरहेका हुन्छन् / छन् । त्यही भएर विचारकोरुपमा लेख्न डराउँछन् । थप प्रष्ट पार्दै उनि भन्छन् , ‘ प्रायः साहित्यकारहरू यदाकदा साहित्यमा बोलिहाले पनि गैर साहित्यिक वा स्वतन्त्र विचारका रुपमा खुलेर बोलेको पाइंदैन। शासकीय धारका चिन्तकहरू, साहित्यकारहरू वा भनौं बुद्धिजीवीहरू जात व्यवस्थाबारे यो अर्थमा पनि खुलेर आफ्नो विचार राख्न चाहदैनन् कि यो बारे बोल्दा जात व्यवस्थालाई टिकाउन जबर्जस्ती निर्माण गरिएका कैयन् मानक, भाष्य, मिथक र सौन्दर्य मूल्यहरू भताभुङ्ग हुन सक्छन् भन्ने मनोवैज्ञानिक त्रास छ। ‘

पक्कै पनि साहित्यिक वृतमा अधिकांश कृतिहरू सामाजिक विकृतिकै विषयवस्तुमा लेखिएका छन्। तर आफूले लेखेकै विषयवस्तुलाई विचारमा व्यक्त गर्न भनियो भने साहित्यकारको सातो जान्छ । कथामा लेख्ने – कवितामा लेख्ने – उपन्यासमा लेख्नेले आफैंले लेखेको विषयवस्तुमा बोल्न / लेख्न किन डराउँछन् ? दाइजोको विरुद्ध लेख्ने तर आफू दाइजोको हिसाब किताब पहिला नै गरेर राख्छन्। मधेशको मुद्दामा प्रखर लेख्छन् साहित्यमा तर जब त्यही मुद्दा छरपस्ट उठ्छ साहित्यकारका अक्षर र कलम मौन बसिदिन्छ। यस्ता विरोधभास लेखक विचार/स्टाटस लेख्न डराउँछन्।

अर्को, साहित्यिक सिर्जना साहित्यिक वृतका पाठकमाझ मात्रै पुग्छ। यो समस्याका भुक्तभोगीसमक्ष प्राय:पुग्दैनन् । वा साहित्यमा दखल नभएका वा सामान्य साक्षरले त्यो सिर्जना बुझ्दैनन् । जसले गर्दा त्यो तप्काको आक्रोशबाट जोगिन्छ साहित्यकार । तर स्टाटस सामान्य शिक्षितले पनि बुझ्न सक्छ र एउटा गतिलो डिस्कोर्सको वातावरण बन्न सक्छ । त्यसैले डराउँछन् साहित्यकारहरू स्टाटस लेख्न । उसले बिम्बको प्रयोग गरेर मात्रै आफ्नो विचारको पक्षपोषण गर्ने गर्दछ।

युवा साहित्यकारमा मनोवैज्ञानिक त्रास झन् बढी छ। प्राय : अग्रज पुस्ताको छत्रछायाँमा हुर्केका युवामा अभिभावकत्वलाई चुनौती दिएर बागी बन्न सहज कहाँ छ र ? फेरी साहित्यमा भर्खर लागेका – लामै हिड्नु छ – चुनौती कहाँ लिन सक्छन् ? विभिन्न पुरस्कारको लोभ पनि भइहाल्छ। प्रतियोगितामा गयो – निर्णायक उही। केही लेख्यो – ‘ भूमिका ‘ लेखाउँन उही कहाँ जानु पर्यो। यस्तो त्रासले युवा पुस्ता आफ्नै विचार निर्माणमा पनि कमसल देखिएका छन् । तर युवा पुस्ताले यस्ता अवरोधलाई छिचोल्न सक्नुपर्छ। विचार निर्माणमा अग्रगामी पहल गर्ने पर्छ।

राजनीतिक स्टाटस फेरी मज्जाले लेख्छन् हाम्रा साहित्यकारले – नडराइकन। राजनीति छरपस्ट भैसकेकोले पनि हामी अभ्यस्त भइसकेका छौँ
की ? वा राजनीतिमा कित्ताकाट सामान्य भएर पनि होला। तर सामाजिक मुद्दा – त्यो पनि जात व्यवस्थाबारे खुल्लारुपमा बोल्न तयार छैनन् हाम्रा साहित्यकारहरू।

आफूले त यसरी विचार लेखिहालें – साहित्य त खै ! कहिले लेखिने हो ! की होइन !