एउटा लेखकका लागि किताब आउनु परीक्षा हो : महेश कार्की क्षितिज

131

भोजपुरका स्रष्टा महेश कार्की क्षितिज मूलतः समालोचक हुन्, तर पछिल्लो समय कवितासङ्ग्रह ‘एक्लो महारथी’ प्रकाशित गरेपछि उनले कविको रूपमा पनि चर्चा पाएका छन् । यसअघि उनका ‘व्यावहारिक समालोचनाका आयाम’ र ‘नयनराज पाण्डेका उपन्यासमा सबाल्र्ट’ गरी समालोचनाका दुई कृति आइसकेका छन् । पत्रपत्रिकामा उनका समालोचकीय लेख र समीक्षाहरू पनि बाक्लै प्रकाशित हुने गरेका छन् । नेपाली भाषासाहित्यको अध्यापकसमेत रहेका र शरीर राजनीतिमा विद्यावारिधि गर्दैगरेका क्षितिज, पछिल्लो समय आख्यानको तयारी गरिरहेका छन् । सेन्ट्रल खबरका लागि रमा अधिकारीले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईं कवि पनि, समालोचक पनि । अलि अलि कथाकार पनि । छरिनुमा कस्तो आनन्द छ ? एउटै विधा लेख्दा हुँदैन?

पोखरी बनेर बस्नु र नदी बनेर बग्नुमा धेरै भिन्नता हुन्छ । छरिनु बग्नु हो सङ्गतिको धारमा । अनेक विधामा स्रस्टा छरिनु उसको क्षमता र रुचिको पनि कुरा हुन्छ । विधा ओगट्नका लागि मात्र छरिने होइन भन्ने बुझिन्छ भने एउटै विधामा किन सीमित हुनु ?

 

भर्खरै कविता आएको छ — एक्लो महारथी । चर्चामा पनि छ । समीक्षा–समालोचना भइरहेका छन् । एउटा प्रकाशित कवि हुनुले कस्तो दायित्वबोध गराउँदो रहेछ एउटा स्रस्टालाई? के फरक पाउनुभएको छ आफैँमा ?

किताब आउनुभन्दा अगाडि र पछाडि एउटा लेखकमा फरक अनुभूति त हुन्छ नै । किताबको तयारीको समय आफ्नो निजी हुन्थ्यो । तर तयारीको क्रममा रचनामा मेरा मात्रै व्यक्तिगत कुरा भए कि ? समाजसँग समानधर्मिता नगर्लान् कि भन्ने एउटा प्रश्न घुमिरहन्थ्यो ।
किताब आएपछि त्यो समाजको भयो, मेरो मात्र रहेन । एउटा लेखकका लागि किताब आउनु परीक्षा हो । समीक्षा— समालोचनाले मलाई मेरो लेखनको शक्ति र सीमाको पाटो देखाइदिएको छ । हामीले लेखेको साहित्य, हरेक पढ्ने मान्छेले आफ्नै हो भन्ने अनुभूति गर्न सक्ने हुनुपर्छ भन्ने बोध भएको छ ।

 

समालोचना पनि गर्नुहुन्छ । समकालीन साहित्यलाई गम्भीर रूपमा अध्ययन गरिरहनुभएको छ । आजको समग्र नेपाली साहित्य हेर्दा, यसको गर्भमा कस्तो छटपटी वा आत्मविश्वास पाउनु हुन्छ? त्यसबाट नेपाली साहित्यको भविष्यबारे के सङ्केत पाइन्छ? कि पाइँदैन?

मेरो पहिलो प्रकाशित किताब नै समालोचनाको हो । समालोचनाको विद्यार्थी भएको नाताले पनि समग्र साहित्यको बारेमा लेखपढ हुन्छ नै । मेरो पुस्तामा हेर्ने हो भने समालोचनामा कलम चलाउनेहरू ज्यादै थोरै हुनुहुन्छ । तर, सिर्जनालेखनमा हेर्ने हो भने कति ठूलो प्रतिस्पर्धा छ । यही भीडमा पनि छटपटीको आवाज छ — किताब बिक्दैन, पढ्ने संस्कार छैन, युवा पुस्तालाई स्थापित स्रस्टाले चिन्न चाहदैनन् आदि आदि । तर, हामीले बुझ्न जरुरी छ कि हामीले मानक बनाएर पुजेका नामहरूले अन्तर्वार्ताका लागि भनेका कुराहरू व्यावहारिक होइनन् । सस्तो चर्चालाई ध्यान नदिएर लेख्नेहरूलाई हेनुहोस् न आत्मविश्वास गर्ने ठाउँ कति ठूलो छ । अध्ययन कम र मेहेनत नगर्ने त सुकिहाल्छन् नि खहरेजस्तै । समयको गतिसँगै लेखक दौडिन नसक्दा दुर्घटना भइहाल्छ नि ।

 

नेपाली भाषामा पनि तपाईंको ध्यान छ । लेखकहरूको नयाँ पुस्ता नेपाली भाषामा त्यति पोख्त देखिँदैन । यसको कारण के होला? समाधान नि?

म नेपाली भाषाको विद्यार्थी हुँ । थुप्रै वर्ष स्कुलमा पढाएको अनुभव पनि छ । मैले बुझेको कुरा — नेपाली भाषाजस्तो गहन र महत्त्वपूर्ण विषयलाई उपेक्षा र सङ्कुचित धारणाले हेरिन्छ । नयाँ पुस्ता नेपाली भाषामा पोख्त नदेखिनुको कारण यही हो — ‘बुझे भइहाल्छ’ भन्ने मानसिकता । धैर्य नहुनु, सिक्न नचाहनु र अरूले लेखेको कुराबाट आफूलाई नसच्याउनु युवापुस्ता नेपाली भाषामा पोख्त नहुने कारण हुन् । तर, जब लेख्न सुरु गर्छन् युवापुस्ताले त्यतिबेला महसुस गर्छन् नेपाली भाषाको महत्त्व ।
नेपालीजस्तो सजिलो विषय त जुन शिक्षकले पढाए पनि हुन्छ भनेर अरू विषयमा पनि कमजोर भएका मान्छेले नेपाली पढाउने चलन अहिले पनि छ कति स्कुलहरूमा । अङ्ग्रेजी गतिलो बोल्यो भने मेरो सन्तानले ठूलो प्रगति गर्छ भन्ने सोच्ने अभिभावक र नेपाली विषयलाई सामान्य लिइदिने स्कुलहरूले नेपाली भाषाप्रति विद्यार्थीलाई वितृष्णा जगाइदिएपछि नयाँपुस्ता नेपाली भाषामा कमजोर हुने नै भए नि ।

 

विद्यावारिधि गर्दैहुनुहुन्छ – शरीर राजनीतिमा । यो शरीर राजनीति भनेको चाहिँ के रहेछ? नेपाली साहित्य वा समाजमा यस सिद्धान्तको के उपादेयता छ ? अलिकति भन्दिनू न?

उपभोक्तावादी संस्कृति अन्तर्गत वस्तुलाई बढी उपभोग्य बनाउनका लागि मानिसको शरीरको दुरूपयोग कसरी भएको छ भन्ने कुराको अध्ययन साहित्यको शरीर राजनीतिमा गरिन्छ । आफ्नो फाइदाका लागि कसैको शरीरमाथि राजनीति गरिन्छ भने त्यो शरीर राजनीति हो ।
शरीर राजनीति साहित्यिक कृति विश्लेषणको एउटा सैद्घान्तिक अवधारणा हो । मान्छेको शरीरलाई प्रयोग गरेर बढीभन्दा बढी फाइदा लिनका लागि मान्छेले कस्तो रणनीति अपनाएको छ भन्ने कुरालाई यसमा अध्ययन गरिन्छ । नारीले पुरुष र पुरुषले नारीका शरीरप्रति राख्ने दृष्टिकोणबाट साहित्यमा लैङ्गिक दृष्टि प्रतिबिम्बन भएको हुन्छ । त्यसै गरी समाजमा शक्तिशाली वर्गले आफ्नो शक्ति कायम राख्न मान्छेको शरीरमाथि दमनका प्रक्रियाहरू चालु राख्छ । मान्छेले मान्छेप्रति राख्ने लैङ्गिक दृष्टि कस्तो छ ? सत्ता र शक्तिको कस्तो भूमिका छ ? पहिचान र प्रतिरोध चेतना कति छ भन्ने कुरालाई यस सिद्धान्तबाट बुझ्न वा अध्ययन गर्न सकिने हुँदा नेपाली साहित्य वा समाजमा यस सिद्धान्तको उपादेयता महत्त्वपूर्ण रहेको छ।