उत्तरार्द्धमा प्राप्त प्रेमको मूल्य

रञ्जुश्री पराजुली

25

बि. सं. २०७८ असार २८ गते सोमवार सेन्ट्रल खबरमा लक्ष्मी उप्रेतीको ” उत्तरार्ध प्रेम ” नामक कथा अनलाइनमा छापिएको पाएँ । कथाको शिर्षकले मलाई त्यो कथा पुर्ण रुपमा पढ्न कुत्कुत्यायो । समयको अन्तरालमा जवानीका प्रेम सम्बन्धी विभिन्न विषयका कथाहरु पत्रपत्रिकामा पढ्दै आए पनि ” उत्तरार्ध प्रेम ” बारे कथाहरु त्यति प्रकाशित भएका छैनन् । त्यसैले मैले यो कथा पढेँ । दोहर्याएर फेरि पढेँ  । पढदै जादाँ समीक्षा तर्फ पनि आफ्नो कलम चल्ने भएकोले यो कथाको समीक्षा गर्न मन लाग्यो। अनि उनले लेखेको यो “उत्तरार्ध प्रेम ” नामको कथाबारे आफ्ना केही धारणाहरू शब्दमा कोर्न थाले ।

लक्ष्मी उप्रेती नेपाली वाङमयमा स्थायित्व प्राप्त गरिसकेकी एक महान हस्ती हुन् । साहित्यका विविध विधा कथा, कविता, नियात्रा, बालसाहित्य, गीत तथा चित्रकला आदिमा कलम चलाउने यिनले २३/२४ वर्षदेखि साहित्यिक पत्रिका ” वनिता ” को पनि सम्पादन तथा प्रकाशन गर्दै आएकी छिन् । दर्जनौ कृतिहरूकी सर्जक लक्ष्मी उप्रेती साहित्यिक संगठानिक कार्यमा पनि कुशल छिन् ।

“उत्तरार्द्धको प्रेम ” कथा सामाजिक परिवेशमा लेखिएको मार्मिक कथा हो । भारतीय मुल अर्थात् गुजराती बासिन्दा बेलायती सेनामा भर्ती भएपछि श्रीमतीका साथ बेलायतमा बसोबास गर्न थाले । त्यहीँ नै उनीहरूका छोरा छोरी जन्मिए । त्यहीँ नै श्रीमतीको मृत्यु हुदाँ उनि निवृत्त पनि हुन्छन् । अनि हुर्किएका छोराछोरीलाई लिएर फेरि आफ्नै जन्मथलो गुजरात फर्किएको घटनाले आफ्नै समूहको खोजी हुन्छ भन्ने दृष्टान्ट यो कथाले देखाएको छ ।

हुर्किएकी छोरीको बिहे गुजरातमा नै गरिदिएको र छोरीको बैवाहिक जीवनमा बिस्तारै ज्वाईद्वारा पीडा, कष्ट भोगेर पनि छोरी जन्मिएको र अन्तत: ज्वाईको मृत्यु भएको मार्मिक भाव यहाँ व्यक्त भएको छ । त्यसपछि छोरीले लोग्नेको घरमा अनेकौ दु:ख भोगेको, देवर ससुराको गिद्धे दृष्टिबाट बच्न खोज्दा खोज्दै देवरद्वारा झन्डै बलत्कृत भएको आदि घटनाहरु कथाको मध्य भागमा सलल बगेका छन् ।

कथाकी मुलपात्र शुरुमा तृतीयपुरुष पात्रको रुपमा देखिएकी छिन् । उनको जीवन गुजरातमा कष्टकर भएपछि हुर्कदै गरेकी छोरीको शिक्षा-दीक्षा र सुरक्षित जीवनको लागि आफ्नो जन्मभूमि लन्डन नै फर्किन्छिन् । ती नारी पात्र अहिले सत्तरी बर्षकी भएकी छिन् । उनकी छोरी आफ्नी बुढी आमालाई कत्ती पनि मतलव गर्दिनन् । आफुले मन पराएको प्रेमीसँग बिहे गरेर जुम्ल्याहा सन्तान जन्माएर खुशी साथ बसेकी छे । ती आमालाई नातिनातिनी काखमा लिएर खेलाउन मन लाग्छ । तर छोरी बच्चाहरु लिएर कहिल्यै आउँदिनन् । आफूलाई पैसा चाहियो भने मात्र सम्पर्क गर्छे ।

ती महिला नन्दिता नाम गरेकी कामकाजी नेपाली नारीको बच्चा हेर्ने अर्थात् बेबी सिटरको काम गर्दछिन् । पैसाको लागि मात्र नभएर समय कटाउने र आफ्नो घरभित्र पारिवारिक वातावरण होस् भन्ने हेतुले उनले त्यो काम गरेकी हुन् । नन्दिताकी आमाकी साथी उषा आन्टी एउटा सेमिनारमा त्यहाँ पुगेका बेला नन्दिताले ती महिलालाई भेट गराउँन लान्छिन् । उषा आन्टी लेखिका पनि हुन् । नन्दिता ती सत्तरी बर्से महिलाको जीवनकथा च्याट भएको बेला अनलाइन या फोनमा उषालाई भनी रहन्थिन् । सत्तरी बर्षे नारीको व्यक्तित्व नन्दिताबाट सुनेर उषा आन्टी निकै प्रभावित भएर ती महिलासँग भेटघाट गर्ने उत्कट इच्छा राखेकी हुन्छिन् । दैवले, ‘ तँ चिता म पुर्याउँछु ‘ भने जस्तै उषा आन्टीलाई सेमिनारमा भाग लिन लन्डनबाट निम्ता आउँछ । सेमिनार सकेर नन्दिताले एयरपोर्टबाट नै उषा आन्टीलाई लिएर पहिले ती महिलाको घर आफ्नी छोरीलाई लिन जान्छिन् । यसरी उषा आन्टी र ती नारीको भेटघाट हुन्छ । ती महिला आफ्नो घर आएको पाहुनालाई एकछिन् भलाकुसारी गरेर फलफुल टक्र्याएर अतिथी सत्कार गर्दछिन् । ती महिलाले त्यस क्षण आफ्नो जीवन वृतान्त सबै नयाँ पाहुनालाई पूर्व दीप्ती शैली अपनाउँदै प्रत्यक्ष रुपमा भन्दछिन् । वर्तमान अवस्थामा एकदिन पार्कमा आफुले बेलायती विदुर प्रौढ जोनसँगको भेटमा दुबैको कुराकानी मिलेर बिस्तारै मायाको जालो बुनिएको, जोनले आफुलाई अमेरिकामा बस्ने आफ्ना छोराहरुसँग भेटाएको, उसका छोराहरुद्वारा बुबाको प्रेमीका बनेकी उनले मान सत्कार पाएको घटनाहरु कथामा मार्मिकरुपले उल्लेख भएको छ । पछि प्रत्येक सप्ताहको अन्तयमा जोन र आफू भेटेर घुमघाम, किनमेल, बाहिर खाने आदि गरेर जीवनको उत्तरार्धमा आफूले सच्चा प्रेमीद्वारा पाएको उत्सर्ग प्रेमले जीवन सार्थक बनाएको सारतत्व आफ्नै मुखारबिन्दुबाट  ती पाकी नारी आफुलाई भेट्न आएकी अर्की पाहुना नारीलाई व्यक्त गर्छिन् । परिवारबिना जीवन सुख्खा हुने भएकोले पैसाको लागि नभै पारिवारिक सुखको लागि आफू नन्दिताको छोरीको बेबी सिटर भैरहने इच्छा पनि व्यक्त्त गर्दछिन् ।

यो एक डायस्फोरिक कथा पनि हो । यस कथाले प्रेमको शाश्वत पक्षलाई अत्यन्त सुन्दर तरिकाले व्यक्त गरेको छ । प्रेम जीवन बाँच्ने आधार भएकाले प्रेमको सारतत्व यस कथामा सालिनरुपमा प्रस्तुत भएको छ । प्रेमबिना जीवन शून्य छ भन्ने सन्देश यो कथामा उजागर छ । मीठो र सरल भाषाशैली अपनाउँदै लेखिएको यो कथाले केही हदसम्म बेलायती देशकाल र वातावरण पनि अपनाएको छ ।