मेरो चिन्ता

मोहन सिंह साउद

115

म एक बफादार पाटीभक्त चिन्तक
मैले उहिल्यै बन्ध्याकरण गरिसकेको छु मेरो विवेक
पाटीको शूलीमा चढेको देशभक्त जिउँदो लाश म
मलाई चिन्ता हुन्छ मेरो पाटी सरकारमा जान्छ जान्न भन्ने
मलाई चिन्ता हुन्छ मेरा नेता (प्रधान)मन्त्री हुन्छन् हुन्नन भन्ने
म त पाटीको एक सिपाही न हुँ
भेडो हुँ वा अरिङ्गाल हुँ
पाटीले हामफाल भने हाम फालिदिन्छु
पाटीले झम्ट भने झम्टीदिन्छु
तालिवान झैँ एकोहोरो
म त आत्मघाती बन्न तयार रहने
घोडाको लगाम झैँ दायाँबायाँ
चल्न नसक्ने
अन्धभक्त
म एक अनेपाली न हुँ !

महङ्गी बढोस् बालमतलव
कोही वेरोजगार हुन् बालमतलव
भोकमरी होस् बालमतलव
कसैले शिक्षा स्वास्थ्यसेवा नपाउन् बालमतलव
हत्या हिंसा बलत्कार बढोस् बालमतलव
गरिब जनता मरून् बालमतलव
बस मेरो आस्थाको पाटी बाँच्नुपर्छ
मेरा नेता बाँच्नुपर्छ
नेताले सातपुस्ते कमाउन पाउनुपर्छ
सरकारी गाडी चढ्न सक्ने हुनुपर्छ
सहरमा महल बनाउन सक्नुपर्छ
बस मेरो चिन्ता यही न‌ै छ !

विपक्षी नेता र पाटीलाई होच्याउँन सक्दा
म गहिरो निद्रा पर्ने मान्छे
आफ्नो नेता र पाटीलाई कसैले होच्यायो भने
उसको जिउँदै रगत पिउँ झैँ लाग्ने मान्छे
विपक्षीका नराम्रा कुरा खोजी खोजी सेयर गर्ने
आफ्ना पक्षका नराम्रा ढाकछोप गर्न कुतर्क गर्न खप्पिस
त्यसैलाई आफ्नो धर्म ठान्ने, नेतालाई देउता मान्ने
म यो देशको अनेपाली !

मैले सन्तुष्टीको सास फेर्न पाउनुपर्छ
आफू नाङ्गैभोकै रहे पनि
मेरा नेता टाइसुटमा सजिदै जिउनार गर्न पाउनुपर्छ
कमिसन भ्रष्टाचार गरी कुम्ल्याउन पाउनुपर्छ
भोट किनेर भए पनि अर्को चुनाव जित्न पाउनुपर्छ
यति भएन भने
मेरो चिन्ता झन्झन् बढ्न सक्छ
म अनिद्राको सिकार हुन सक्छु
म रातदिन‌ै तड्पिरहन सक्छु
मेरो स्वर्गमा जाने बाटो नखुल्न सक्छ
मलाई यो बाहेक अरु केही चिन्ता छैन
किनकि म एक पाटीको अनेपाली नागरिक !