शिक्षामा साहित्यको अभाव

0 152

शिक्षण तथा सिकाइलाई सहज, सरल र उपलब्धिमूलक बनाउन धेरै शोध,अनुसन्धानहरू भएका छन् र भइरहनेछन्। समय अनुसार शिक्षण सिकाइलाई ती विधि, प्रविधिहरूले धेरै हदसम्म चलायमान बनाएका छन्। शिक्षाका विभिन्न विषय जस्तै मनोविज्ञान, पाठ्यक्रम, शिक्षा शास्त्र आदिले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन मद्दत गरेको छ भन्ने कुरामा दुई मत हुनै सक्दैन । यद्यपि साहित्य र शिक्षाले एक अर्कालाई अङ्कमाल गर्नुपर्छ। साहित्यविनाको शिक्षा र शिक्षाविनाको साहित्य अपूरो हुने नै भयो। विकसित देशहरूले सङ्गीत, खेल, साहित्य / कला शिल्पको मद्दत लिएर वास्तविक जीवनमा उनीहरूलाई सम्मिश्रण गरी गणित, विज्ञान, आदि सिकाउने प्रयास गर्दछन् ताकि सिकाई अर्थपूर्ण होस् । कक्षाकोठामा साहित्यको प्रयोग साहित्य मात्रै पढाउनको लागि मात्र पनि होइन यो त सहजीकरणको लागि पनि अति उपयुक्त हुन्। यद्यपि, नेपालजस्तो विकासशील र अविकसित देशहरूमा अझै पनि कक्षाकोठाको सिकाई रुखोजस्तो लाग्छ। के के नपुगे जस्तो लाग्छ।रसिलो लाग्दैन। र त्यो हो साहित्यको अभाव।शिक्षण सिकाई मा मानव रस, मानव संवेदना हराएजस्तो लाग्छ। विज्ञान, गणित, कम्प्युटर जस्ता विषय किन सिक्न सजिलो भएन?

सजिलो उत्तर हो कला र साहित्यको अभाव।

शिक्षकमा कला तथा साहित्यिक चेत हुन जरुरी छ। साहित्य भनेकै जीवन र जगतको कुरालाई सहज ढङ्गमा अभिव्यक्त गर्ने माध्यम हो। साहित्यले संस्कार दिन्छ र संस्कार पाएका विद्यार्थी जहिले पनि समाज तथा राष्ट्रको हितमा सभ्य र दक्ष साबित हुन्छ। यसर्थ समाजलाई सभ्य,योग्य तथा सर्वाङ्गीण विकासको निम्ति कक्षाकोठैबाट साहित्यिक पठन र प्रवृत्तिको विकास तथा यसको निरन्तरता दिनु अपरिहार्य हो। शिक्षा शास्त्र र अन्तर्राष्ट्रिय अध्ययनका स्नातकोत्तर भानुभक्त भट्टले “जापानमा विद्यालय तहमा प्रत्येक शिक्षकले गीत गाउन जानेकै हुन्छ” भने जस्तै कुनै न कुनै कला, साहित्यका माध्यमबाट शिक्षण सिकाइलाई हृदयस्पर्शी बनाउँदा सिकाई सहज हुन सक्छ। आखिर सिकाई दिमागबाट मात्र होइन संवेदनशील हृदयबाट पनि गर्न र गराउन सकिन्छ।

शिक्षक उत्पादन गर्ने शिक्षा सङ्कायमा पनि कला तथा साहित्यिक चेत उजागर गर्ने केही पठन सामग्री मनोविज्ञान, पाठ्यक्रम जस्तै राख्दा राम्रो होला कि जस्तो लाग्यो। शिक्षा सङ्कायबाट शिक्षण पेसामा प्रवेश गर्नेहरू पक्कै पनि शिक्षण कलामा निपुण र तीक्ष्ण हुन्छन्। साहित्यको थोरै सम्मिश्रण भयो भने शिक्षाको चमक नै अर्को हुन्छ। यसको लागि शिक्षा सङ्कायमै साहित्यका केही पाना थप्दा सुनमा सुगन्ध हुने थियो। हुन त साहित्य पढेरै मात्रै पनि साहित्यिक संवेदना उजागर कहाँ हुन्छ र सबैमा।

  • साहित्यले सिकाइको लागि तत्परता प्रदान गर्दछ। कक्षाकोठामा लगातार पाठ्यपुस्तककै विषयवस्तुमा अल्झिरहँदा सिकाई अर्थपूर्ण हुन सक्दैन। विषयवस्तु सुरु गर्नु भन्दा पहिला र छोटो-छोटो समयको अन्तरालमा साहित्यिक र कलात्मक क्रियाकलापहरू प्रस्तुत गर्न सक्दा पढाई रुचिकर हुन्छ।
  • सिकाइमा दिमागी रूपमा मात्रै बच्चाको मूल्याङ्कन भएको देखिन्छ जबकि सिकाई संवेगात्मक प्रक्रियाबाट पनि सम्भव छ।
  • मानवीय मूल्य मान्यताको उजागर गर्दछ।
  • कक्षामा शान्त वातावरण बनाउन पनि मद्दत गर्दछ।
  • शिक्षक र विद्यार्थी बिच राम्रो सम्बन्धको विकासको गर्न मद्दत गर्दछ।
  • शिक्षक र विद्यार्थीलाई हिंसात्मक हुनबाट बचाउँछ। साहित्यले धेरै हदसम्म विद्यालयमा हुने हिंसात्मक गतिविधि रोक्न मद्दत गर्न सक्छ।
  • अनुशासनमा अभिवृद्धि गर्न सक्छ।
  • सिकारुमा कल्पनाशीलता, सोच्ने क्षमताको विकास गर्न सक्छ।
  • सहरमा समाजको कमीलाई थोरै भए पनि साहित्यको मार्फत बुझ्ने र बुझाउने वातावरण निर्माण गर्दछ।
  • सिकाइलाई दीर्घकालीन बनाउँछ।
  • साहित्य पठनले विद्यार्थीको विश्व दृष्टिको निर्माण गर्दछ। उसले विश्वको विभिन्न कालखण्डका साहित्यका अनेकौँ विद्यासँग सामीप्यता निर्माण गर्ने अवसर प्राप्त गर्दछ।
  • साहित्यमा रुचि भएको विद्यार्थीले साहित्यमार्फत आ-आफ्ना मातृभाषाका साहित्य जगेर्ना, संरक्षण र संवर्द्धनमा भूमिका खेल्न सक्छ।

Facebook Comments Box
Leave a comment