अस्ताएको घमण्ड

२०७८ असार २९, मंगलवार १६:५२

अहङ्कारको कालो बादलले
चारैतिरबाट छोपेपछि
देख्दैन ऊ ज्ञानरूपी सूर्यको प्रकाश
आफूभित्र भएको उज्यालो सर्वोच्च लाग्छ
एउटा जुनकिरीलाई

डुल्छ ऊ जताततै
रमाउँदै
इत्रिँदै
आफ्नो ज्योतिको घमण्ड बोकेर
आफ्नो पुच्छरमा

झट्ट उदाउँछन् आकाशमा
अनगन्ती ताराहरू
अनि हराएर जान्छ जुनकिरीको प्रकाश
उसको सेखी झारी खित्का छोडेर हाँस्न थाल्छन् ताराहरू
आफूमा रमाउँछ्न्
आफ्नो मृदु ज्योतिको अहङ्कारलाई
सर्वोच्च मान्दै

केहीक्षणपछि
टलक्क टल्किन्छ जून
ताराहरू नगण्य हुन्छन्
उनीहरूको अहङ्कार चूर्ण हुन्छ निमेषभरिमै
अब जून आफूलाई सर्वोच्च मान्दै हेप्न थाल्छ ताराहरूलाई

बिस्तारै सूर्य उदाउँछ पूर्वतिर
आफ्नो टड्कालो ज्योतिका साथ
हराए जुनकिरी, तारा
हरायो जूनको प्रकाश
उसको उज्ज्वल तेजिलो प्रकाशमा

सूर्यको उज्यालो बिना अर्थहीन छ धर्ती
अर्थहीन छन् जून, तारा सारा
तर पनि,
सूर्यलाई आफ्नो प्रकाशमा
रत्तिभर घमण्ड छैन
उसलाई थाहा छ
बेलुकी ऊ अस्ताउनु पर्नेछ।

232 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal