विद्यालयमा सी‍.सी. क्यामरा आतङ्क

0 186

सी‍.सी. क्यामरा सुरक्षा संवेदनशील तथा सार्वजनिक ठाउँहरूमा जडान गर्नुपर्दछ भन्ने कुरामा दुई मत हुनै सक्दैन। तथापि विद्यालयमा, त्यो पनि कक्षाकोठामै, सी‍.सी. क्यामरा राख्नु शैक्षिक तथा मनोवैज्ञानिक दृष्टिकोणले कति जायज छ भन्ने हेक्का राख्नु जरुरी छ। विद्यालय एउटा पूर्णतः शैक्षिक संस्था बाहेक केही पनि होइन जहाँ बालबालिकाहरू स्वच्छ,शान्त तथा समतामूलक वातावरणमा पढ्न र सिक्न पाउनुपर्दछ। बालबालिकाहरूको कोमल मनमस्तिष्कलाई अभिव्यक्त गर्ने माध्यम नै व्यवहार हो। उनीहरूको व्यवहारलाई बुझेर नै सिकाकाईका माध्यम, विधि,प्रविधि निर्दिष्ट गर्ने गरिन्छ। बालबालिकाहरूको प्राकृतिक व्यवहारको अध्ययनविना शिक्षा शिक्षणको पाइला अगाडि सारे पनि उपलब्धिमूलक हुँदैन। र यसको लागि बालबालिकालाई पूर्ण स्वतन्त्र वातावरणमा विना अवरोध भाषिक तथा व्यवहारिक रूपमा अभिव्यक्त हुन दिनुपर्दछ। जबकि सी‍.सी. क्यामरा जडित वातावरणमा उ खुल्न पाउँदैन।

सी‍.सी. क्यामरा उचित हो भन्ने विद्यालयको दाबीमा यस्ता प्रश्नहरू उठ्नु र उठाउनु स्वाभाविक हो भन्ने ठान्छु ।

विद्यालयको दाबी

सी‍.सी. क्यामराको निगरानीमा बालबालिका अनुशासित हुन्छ।

प्रश्नहरू

  • सी‍.सी. क्यामराको अगाडी मात्रै अनुशासन चाहिएको हो?
  • सी‍.सी. क्यामरा अगाडी अनुशासित बनाइएका बालबालिका भोलि के हुन्छ हेक्का छ?
  • आफ्नो विद्यालयभित्र अनुशासित भए भै गो नि पछि जे सुकै होस् विद्यालयलाई के मतलब?
  • अनुशासित हुनुको अर्थ यही हो?

विद्यालयको दाबी

सी‍.सी. क्यामराको निगरानीमा बालबालिका राम्रो पढ्छन्।

प्रश्नहरू

  • सिकाई के हो? निगरानीमा राख्दैमा, कलम किताब अगाडि राख्दैमा, पढे जस्तो गर्दैमा, पढाए जस्तो गर्दैमा सिकाई हुन्छ?
  • विद्यालयलाई रिजल्टसम्मको सिकाई मात्रै चाहिएको हो?
  • विद्यालयलाई राम्रो रिजल्ट मात्रै चाहिएको हो?
  • पाठ्यक्रमले परिकल्पना गरेको दीर्घकालीन सिकाई यही हो?

विद्यालयको दाबी

शिक्षकलाई निगरानीमा राख्दा राम्रो पढाउँछ।

प्रश्नहरू

  • नराम्रो शिक्षकलाई निगरानीमा राख्दा राम्रो पढाउँछ? पढाएको जस्तो चाहिँ पक्कै गर्छ।
  • रिजल्ट राम्रो नआएमा शिक्षक दोषी के अर्थमा त्यसो भए ? फुटेज हेर्नुस्। पढाको छ त? भन्नुको मतलब निगरानी होइन परिवेश र परिवेक्षण चाहिन्छ।

सी‍.सी. क्यामराको निगरानीले परीक्षालाई निष्पक्ष बनाउनेमा कुनै शङ्का छैन। यो बाहेक अरू केही होइन। सी सी क्यामराले बालबालिका आतङ्कित बनाउँछ। के गर्ने के न गर्ने उसले छुट्याइएर राम्रो देखिनेगरि व्यवहार गर्छ। नराम्रो सञ्चय गर्छ पछिको लागि। उसले राम्रो भएको ज्ञानी भएको नाटक गर्छ। भ्रममा पार्छ। विद्यालयलाई यही चाहिन्छ। बालबालिकालाई खुल्ला छोड्दा उसले आफ्नो असली रूप देखाउँछ। अनि सुधार्न विद्यालयलाई सजिलो हुन्छ।

Facebook Comments Box
Leave a comment