‘आफूलाई अथाह आनन्द आउने क्षेत्र नै मुख्य पेसा बन्छ भने जीवनमा पुगिहाल्यो नि, हैन र !’

२०७८ असार ३०, बुधबार ११:०५

सङ्गीतमा स्नातकोत्तर गरेका योगेन्द्र उपाध्याय निरौला एक दशकदेखि नेपाली आधुनिक गीत सङ्गीतका सक्रिय स्रस्टा हुन्।समकालीन स्रस्टाहरू नाम र दामको पछाडि कुदिरहँदा उनि सङ्गीतको गहन अध्ययनमा क्रियाशिल छन् ।  झापा, मेचीनगर काँकरभिट्टाका निरौला काठमान्डौलाई कर्म क्षेत्र बनाएर गीत सङ्गीतमा धैर्यताका साथ् अनवरतरुपमा सक्रिय छन् ।

उनले पटक पटक आफुलाई रेडियो नेपाल आधुनिक गायन प्रतियोगितामा गायन र सङ्गीतमा उत्कृष्ट सावित गरिसकेका छन् । रियालिटी सो ‘नेपाल आईडलका’ प्री जज् को समेत भूमिका निभाइसकेका उनी ‘द भोईस अफ नेपाल’ सिजन-१ का कडा प्रतिस्पर्धी थिए । उनले ‘ भीडमा, मान्छेहरूको भीडमा ‘ गीतबाट ‘प्रतिभाशाली नव गायक’ को रुपमा इमेज अवार्ड समेत प्राप्त गरेका छन् । दर्जनौ आधुनिक गायन तथा भजन प्रतियोगितामा सम्मानित भएका उनले रेडियो नेपालबाट गायन तथा सङ्गीतमा ‘क’ श्रेणीको प्रमाणपत्र प्राप्त गरेका छन् ।

योगेन्द्र उपाध्याय निरौलासँग संजय सुमनले गरेको सांगीतिक भलाकुसारीलाई सेन्ट्रल खबरले  यसरी प्रस्तुत गरेको छ :

१ : लकडाउनले सामान्य जनजीवन थिलथिलो भएकोबेला तपाइँलाई व्यक्तिगतरुपमा कतिको असर पारेको छ ?
व्यक्तिगत रुपमा भन्नुहुन्छ भने…यो चुनौतिपूर्ण समयमा पनि घर बसी बसी जीवनमा कहिल्यै सिक्न नपाइने र नभ्याइने
कामहरु सिक्ने अवसर पाएँ । विशेषत: संगीतसँग सम्बन्धित प्राविधिक कामहरु मज्जाले सिक्न पाएको छु । लगभग डेढ वर्ष जति घरभित्रै थुनिएर बस्दा पनि यो संवेदनशील समयले जीवनमा निरासा भन्दा आशाहरु चाहिँ बढाएको अनुभव पनि गरेको छु । यद्यपि जागीर गुमाएँ । ३/४ वटा स्कुलमा पढाउथेँ । तसर्थ मेरै लागि चैं यो अवधि आपत संगसँगै अवसर पनि भयो ।

२ : गीत -संगीतको क्षेत्रमा लामै समय बिताइसक्नु भएको छ । अहिलेसम्मको उपलब्धिहरूलाई कसरी मूल्यांकन गर्नु     हुन्छ?
तपाईंको प्रश्नमै उत्तर पनि छ । गीत संगीत क्षेत्रमा लागेरै घर व्यवहार सम्हाल्दै लामो समय यसैमा बिताउन सक्नु नै मूख्य उपलब्धि मान्छु । आफुलाई अथाह आनन्द आउने क्षेत्र नै आफ्नो मुख्य पेसा बन्छ भने जीवनमा पुगिहाल्यो नि, हैन र ! एकेडेमिक पढाइ पनि संगीतमै गर्न पाएकोमा खुशी छु । यति लामो समय सङ्गीत क्षेत्रमै क्रियाशील हुन पाउनु पनि उपलब्धि नै ठान्छु । धेरे समकालीन साथीहरू विविध कारणले सङ्गीत क्षेत्रबाट पलायन हुनु परेको छ । मैले त यति लामो यात्रा तय गरेको छु । जीवनलाई यात्रा मान्ने हो भने यो मेरो उपलब्धि नै हो । सन्तुष्ट छु । खुशी छु ।

३ : तपाईंसँग रियालिटी शोहरूको प्रत्यक्ष अनुभव छ । रियालिटी शोमा कतिको रियालिटी हुन्छ ?
सवै क्षेत्रमा सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन् । आखिरमा आर्थिक नाफा कमाउने उद्देश्यले गरिएको हुनाले रियालिटी सो भनिए पनि रियालिटीमा कतिपय अवस्थाहरु स्कृप्टेड हुन्छन्; योजनाबद्ध हुन्छन् । व्यक्तिगतरुपमा कसै कसैलाई अन्याय भएको हुन पनि सक्छ । रियालिटी शोहरू अलि बढी नै कमर्सियल हुँदा पनि सिर्जनशीलता र न्यायिकतामा चुकेको हो जस्तो लाग्छ । तर पनि यस्ता प्रोग्रामहरुले देश र समाजका लागि धेरै चैं सकरात्मक असर नै छोड्छन् ।

४ : संगीतका यूवा पुस्तालाई यस्तो रियालिटी शोमा जान / नजान के सल्लाह दिनु हुन्छ ?
तपाईंलाई यदि हतार छ भने जानुभएको राम्रो । नत्र तपाईं सक्षम हुनुहुन्छ भने तपाईंको समय यस्ता शोहरुमा नगए पनि आउँछ । नेपाली संगीत क्षेत्रमै पनि यस्ता उदाहरण थुप्रै देख्न सकिन्छ । यस्ता शोका बिजेताहरु पनि कोही कोही डिप्रेसनको शिकार भएका छन् भने कोही भाग नलिएका पनि अत्यन्तै सफल छन् । सङ्गीतमा लाग्नेहरूका लागि अध्ययन, रियाज र धैर्यता मूख्य कुरा हुन् । रियालिटी शोमा जाने / नजाने कुरा त तपसिल हुन् । शो त एउटा माध्यम न हो , माध्यम अरू पनि हुन सक्छ ।

५ : कोभिड र यो लकडाउनले सांगीतिक क्षेत्रमा केहि उथलपुथल हुने सम्भावना कतिको छ ? मैले सोध्न खोजेको के हो भने पुरानो पुस्ता ( जो अघिल्लो समय चर्चित छन् ) लाई नयाँ पुस्ताले विस्थापित गर्छ ? या अरु केहि ?
मेरो चैं दृष्टिकोणमा कोविडकै कारणले उथलपुथल हुने त देख्दिन । गीत संगीत क्षेत्र पनि समय ,काल र परिस्थितिसँगै  स्वभाविक रुपले परिवर्तन हुँदै आएको छ र हुन्छ पनि । तर पुराना पुस्तालाई नयाँले विस्थापित नै गर्ने भन्ने चाहिं लाग्दैन ।
सवै कालखण्डमा संगीतकर्मीहरु जस्तै दर्शक श्रोता पनि नयाँ र पुरानामा रुचि राख्ने दुवै प्रकारका हुने हुनाले डिभाइड भने हुन सक्छ । तर कोविड अथवा लकडाउन जस्तो समयमा नै यसरी उथलपुथल चाहिं नहोला । यधपि यो अवसरलाई  नयाँ पुस्ताका संगीतकर्मीले सिर्जनशीलता र अन्तर्निहित क्षमतामा निखार ल्याउँन भरपूर उपयोग गर्न सक्छ ।

६ : नेपालमा प्राय: सबै क्षेत्रमा सिन्डिकेट छ । सांगीतिक क्षेत्रमा के -कस्तो छ ? यसले कस्तो असर पारेको छ ?
मज्जाले छ । नयाँ पुस्ताका नयाँ सृजनाहरु चैं बरु धेरै हदसम्म सुरक्षित होलान् । पुराना श्रष्टाका गीत संगीत त पचासौं वर्षदेखि गिरोहहरुकै कव्जामा छ । आफ्नै सृजनाबाट बञ्चित छन् श्रष्टा आफैं । आफ्नै गीतमा अरु कसैद्वारा कपीराईट लाग्छन् नेपालमा । श्रष्टाहरु पनि बेला बेला आन्दोलित भएको समाचार सुन्नुभएकै होला । सरकारको भनूँ या सामान्य जनजीवनको…यो विषयमा ध्यानाकर्षण मात्र नभएको हो ।

७ : गीत संगीतमा रुचि राख्ने प्रवासी नेपालीहरूले संगीत क्षेत्रलाई धानेको भनिन्छ नि ? कतिको सत्यता छ यसमा ?

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय प्रवासी नेपालीहरुको सक्रियता बढेको देखिन्छ । त्यसले सांगीतिक क्षेत्रलाई टेवा पुर्याएकै हो । तर यस क्षेत्रलाई धानेको नै चाहिँ नभनौं की ! महत्वपुर्ण भूमिका भने खेलेको छ । अधिकांस संगीतकर्मी कुनै न कुनै रुपमा लाभान्वित भने भएकै हो ; सिर्जना वा अर्थ । यधपि प्रवासमा रहेर सङ्गीत कर्म गरिरहेका सर्जकहरूले गुणस्तरमा संवेदनशील हुनुपर्ने  भने देखिन्छ । लगानीले मात्रै पनि सङ्गीत क्षेत्र धान्ने होइन आखिर !

यो सत्यतालाई अर्को कोणबाट हेर्दा यसो पनि भन्न सकिन्छ; देशको नेतृत्व गर्नेहरुको असक्षमता र अक्रमण्यताका कारण नेपालीहरु प्रवासी भइहेका छन् । यो क्रम क्रमशः आकाशिदो छ । सांगीतिक क्षेत्रका नेपाली त झन बढी ।

190 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal