भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदान नपाएकालाई तीन लाख दिइने

38

भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले रु तीन लाख आवास अनुदान दिने भएको छ । भूकम्पको छ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो ।

गाउँपालिकाको हालै सम्पन्न नवौँ अधिवेशनले पुनःनिर्माण प्राधिकरणको लाभग्राहीमा सूचीकृत नभएकालाई आवास अनुदान बराबर रु तीन लाख दिने निर्णय गरिएको हो । यसका लागि कानून, नीतिनियम बनाएर आगामी आवको शुरुवातसँगै छानबिन गरेर अनुदान रकम वितरण गरिने गाउँपालिका अध्यक्ष गुमानध्वज कँुवरले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कानून बनाएर वास्तविक भूकम्पपीडित छानबिन गरी अनुदानस्वरुप घर बनाउन प्रतिपरिवार रु तीन लाख दिन्छौँ ।”

उहाँका अनुसार तत्कालीन अवस्थामा लाभग्राहीमा सूचीकृत भएकालाई गाउँपालिकाको अनुदानले निकै राहत पुग्नेछ । गाउँपालिकामा रहेका दश वडामा करीब एक सयभन्दा बढी परिवार पुनःनिर्माण प्राधिकरणको अनुदानबाट छुटेका हुनसक्ने अनुमान गरिएको छ । अनुदान रकम वितरण गर्न गरिने अनुगमनले वास्तविक भूकम्पपीडित परिवार तथा कति परिवारले प्राधिकरणको अनुदानबाट आवास निर्माण गरे नगरेको एकीन तथ्याङ्क आउने कुँवुरले बताउनुभयो ।

आवास पुनःनिर्माणका लागि जिल्लाका ८४ हजार ५७० भूकम्पपीडित परिवारले पुनःनिर्माण प्राधिकरणसँग आवास अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ७८ प्रतिशतले आवास पुनःनिर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जनाएको छ । सो कार्यालयले निषेधाज्ञाका कारण केही भूकम्पपीडित लाभग्राहीलाई भूक्तानीमा दिलाइ भएको जनाएको छ ।

Facebook Comments Box