उत्तरार्धको प्रेम

लक्ष्मी उप्रेती

119

नेटमा च्याट गर्दा होस् वा फोनमा कुरा गर्दा होस् नन्दिताले केही न केही उसबारे नयाँ कुरा भन्थी । तर ऊ र म बीचको भेट्ने सम्भावनाको धर्ती निकै टाढा थियो … ।
तँ चिता म पुर्‍याउँछु भन्दै एकदिन ऊ भएकै ठाउँमा हुने सेमिनारको निमन्त्रणापत्र मेरो हातमा पर्‍यो । यो अवसरलाई मैले छाडिनँ र सेमिनारमा सहभागी हुन लन्डन पुगेँ ।
लन्डन पुग्नासाथ सेमिनार सकिने दिनको जानकारी नन्दितालाई फोनबाट दिएँ । मेरीे साथीकी छोरी नन्दिता सेमिनार सकिएकै भोलिपल्ट आई र मलाई आफ्नो घरमा लिएर गई ।
आज पनि नन्दिताले आफ्नी पाँच वर्षकी छोरी उसकैमा छोडेर मलाई लिन आएकी रहिछ । त्यसैले पहिले छोरी लिन उसकै घरमा गयौँ हामी ।
अलिकति ढप्किएको ढोका बिस्तारै उघारी नन्दिताले । उघ्रिएको ढोकाबाट हामी सुरुक्क उसको कोठाभित्र पस्यौँ ।
अलि परको ओछ्यानमा छोरी निदाइरहेकी, ऊ सोफामा पल्टिएर पुस्तक पढिरहेकी । सुन्दर चित्रको क्यानभास ओछ्यान र सोफामा सजिएको आभाष भयो मलाई ।
हामी कोठाभित्र पसिसकेर ढोका ढप्काएको आवाज सुनेर होला पढ्दापढ्दैको पुस्तक एक हातले छेउ लगाएर हामीतिर पुलुक्क हेरी र हाँस्दै उठी ऊ ।
सत्तरी वर्ष पुगिसकेकी ऊबारे नन्दिताबाट सु्न्दा मैले जे सोचेकी थिएँ आज उसलाई देख्ता त्योभन्दा कति फरक पाएँ ।
“अन्टी !  छोरीले खाएर सुती कि नखाई सुती ?” मेरो लगेज एक छेउतिर राख्दै नन्दिताले सोधी ।
“खाएर सुती नि ।” हाँस्दै मतिर हेरेर उसले छोटकरीमा उत्तर दिई ।
त्यसपछि ऊ बसेकै छेउमा मलाई बस्न नन्दिताले इसारा गरी र आफू पनि बसी । अनि फटाफट  मेरो परिचय गराई । “उहाँ एउटा सेमिनारमा नेपालबाट आउनुभएको मेरी आमाकीे साथी उषा आन्टी हो । उहाँ कहानी लेख्नुहुन्छ । यदि तपाईँलाई आपत्ति हुन्न भने तपाईँबारे पनि कहानी लेख्न चाहनुभएको छ ।” कुनै भूमिका नबाँधी मेरा मनका कुरा नन्दिताले भनी ।
नन्दिताको कुरो सुनेर ऊ मुसुक्क हाँसी र “मेरो कहानी लेख्ने अरे । तपाईँले मबारे केही जान्नु भएको छ र ?” उत्तेजित भावले प्रश्न गर्दै हातमा भएको किताब उसले थन्क्याई ।
“हो, साँच्ची तपाईँको कहानी लेख्न चाहन्छु । तपाईँबारे केही केही कुराहरू नन्दिताले भन्दै आएकी छिन् । तर तपाईँका कुरा तपाईँले नै भन्नुभयो भने अझ राम्रो लेख्न सक्छु कि जस्तो लाग्छ । कृपया भन्न हुने तपाईँको जीवन भन्दिनु न ।” उसको स्वभावबाट अपरिचित मलाई भित्र कतै सङ्कोच लागे तापनि अनुरोध गरेँ ।
“म भन्छु, मैले भोगेको जीवनका सबै कुुराहरू सम्झी सम्झी भन्छु ।” आशावादी भाव उसले व्यक्त गरी र आफ्नो जीवन सुनाउन थाली ।
“मेरा पितापुर्खाहरूको थलो भारतको गुजरात नै भए पनि बुबा ब्रिटिस साम्राज्यवादको पक्षमा लड्ने योद्धा  हुनुहुन्थ्यो । त्यसैले बुबासँग आमा पनि बेलायतमै हुनुहुन्थ्यो । त्यहीँ मेरो र भाइको जन्म भयो । हाम्रो बाल्यकाल, शिक्षादीक्षा यहीँको परिवेशमा सम्पन्न भयो । हाँसी खुसी म यौवनको उकालो चढ्दै थिएँ । दुर्भाग्य आमाको मृत्यु भयो । आमाको मृत्युले बुबा निकै विचलित हुनुभयो । अन्ततः भाइ र मलाई लिएर बुबा गुजरातमै फर्कनुभयो ।
गुजरातमा केही महिनापछि बुबाले त्यहीँको केटासँग मेरो बिहे गर्दिनुभयो । मेरो दाम्पत्य जीवन सुरुसुरुमा त सुखद्  नै रह्यो । तर समयले मेरो सुख सहेन सायद । लोग्नेले रक्सी खाएर मलाई दुःख दिन सुरु गरे । बुबाको पनि मृत्यु भयो । त्यही स्थितिमा मेरी छोरी जन्मी । छोरी जन्मिएपछि त लोग्नेको अनेकन यन्त्रणा सहँदै बाँच्न बाध्य भएँ म । एकदिन अचानक मेरो लोग्नेको पनि मृत्यु भयो । त्यसपछि त म बेसहारा भै गएँ । जे-जस्तो भए पनि आइमाईका लागि लोग्ने हुनु भनेको सुरक्षाको कवच रहेछ । त्यही लोग्ने नभएपछि आइमाईलाई बाँच्न कति गाह्रो, बाफ रे बाफ ! ”
बोल्दाबोल्दै आँखा चिम्म गरेर अनुहार अँध्यारो पारिन् । त्यसपछि जुरुक्क उठी र भान्छामा पसी । एकछिनमा नै नास्पाती र स्याउ भएको ट्रेसँगै चक्कु र प्लेट लिँदै आई । अनि नन्दिताको हातमा थमाउँदै “नानी, यी फल काटेर प्लेटमा राख त” भनी र आफ्नो ठाउँमा आएर बसी ।
मैले चुपचाप उसको क्रियाकलाप हेरिरहेँ । फेरि ऊ शब्दमा बहकिन थाली ।
“ आमाबुबा नभएको माइतमा भाइ पनि बिहेपछि बदलिसकेको थियो । उसकोमा आश्रय पाउने कुरै भएन । घरमा अधबैँसे ससुराको गिद्धे दृष्टिबाट बच्न हरक्षण डर र त्रासले विक्षिप्त हुन्थेँ । बिहे नभएको उमेरदार देवरका अस्वाभाविक क्रियाकलाप, बुबाको आँखा छलेर मलाई आँखा सन्काउने, च्याप्प समाउन खोज्ने, गाला चिमोट्ने गर्दा गर्दै संवेदनशील अङ्ग समेत छुन, समाउन खोज्थे । यसरी दिन बित्दै गयो । म पराजित हुँदै गएँ । ससुरा र देवरबाट यसरी तर्किँदै बाँच्न खोज्दा मेरा अभावका दिनहरू सुरु हुन थाले । त्यसपछि चार-पाँच वर्षकी बालख छोरी लिएर यता र उता भड्किएँ ।
एकदिन त घरमा ससुरा नभएको मौका पारेर मैले थाहै नपाई देवरले आफ्ना बलिष्ठ पाखुरामा मलाई च्याप्प कसेर जबरजस्ती ……. । धन्न ससुरा त्यसक्षण घर आइहाल्नुभयो, नत्र त ……….. ।” लामो स्वास तानी र आँखामा भरिएका आँसु हातले पुछी । अनि पीडाका भावहरूमा मुस्कुराउँदै अतीतमा फर्किन थाली ।

“ यसरी अभावसँगै असुरक्षाले मलाई डस्न थाल्यो । गुजरात नै मेरो लागि बिरानो भएपछि आशाको केन्द्रबिन्दु ब्रिटेन सम्झेँ । त्यहीँ जन्मिएकी हुनाले ब्रिटेनसँग मेरो अस्तित्व गाँसिने नै भयो । छोरीको भविष्यसँगै अभावमुक्त जीवनको सपना ब्रिटेनको भूमिमा हु्न्छ भन्ने सोच भयो । अनि बुबाका साथीको सहयोगमा केही समयपछि छोरीलाई लिएर लन्डन आइपुगेँ ।
यहाँ आएर पनि केही समयसम्म त अनेक समस्यासँग जुध्दै म भड्किनसम्म भड्किएँ । तर ब्रिटिस सरकारको सुव्यवस्थित नियम कानुनको छातामुनि बिस्तारै बिस्तारै व्यवस्थित भएँ । छोरीको लालन-पालन, शिक्षा-दीक्षा र मेरो जीवनका अभावयु्क्त स्थितिबाट मुक्त भएँ ।” एकछिन अघिसम्म अँधेरिएर दुखित भएको उसको अनुहार एकाएक उज्यालियो । नन्दिताले काटेर भाग लगाएको स्याउ र नास्पातीको प्लेट मतिर सार्दै मुसुक्क हाँसी र “खाऊँ पहिले अनि बाँकी कुरा गरौँला” भनेर आफू पनि लिई ।

अनि ऊसँगै नन्दिता र मैले पनि आ-आफ्नो भागको प्लेट समातेर छिटोछिटो खायौँ । उसको अतीतले मलाई तान्नसम्म तान्यो ।
उसको जीवन जान्न म बढी उत्साहित भएकाले एकैछिनमा प्लेट रित्याएर ऊतिर केन्द्रित भएँ । हामीले रित्याएको प्लेट उठाउँदै उसले मुसुक्कुराएर भनी- “तपाईंलाई दिक्क त लागेको छैन मेरा यस्ता कुरा सुन्दा ?”
“अँहँ पटक्कै दिक्क लागेको छैन । अझ उत्सुक पो छु त कुरा सुन्न । बरु तपाईंका कुरा नसकुन्जेल अरू केही नगरौँ न ।” आशातीत भाव व्यक्त गरेँ मैले ।
मेरो कुरामा सहमति जनाउँदै “ल सुन्नुहोस् त्यसपछिको मेरो रामकहानी” फिस्स हाँसेर आफ्ना कुरा फेरि सुरु गरी ।
“दिन बित्दै गयो । बास बस्ने घर भयो । जीवन बाँच्ने आधारहरू बने । छोरी बढ्दै गई । अभावबाट मुक्त त हुँदै गएँ तर म टुक्रँदै गएँ । छोरीले साथी बनाएर आफ्नो मात्र जीवन निस्फिक्री बाँच्न थाली । उसले त्यसो गर्दा मैले केही भन्नु हुन्नथ्यो बाझेर चौपट्ट गर्थी । मलाई टेर्न, मसंग राम्ररी कुरा गर्न नै छाडी । म चुपचाप सहेर बस्थेँ, एक्लै रुन्थेँ ।
बिहे नै नभईकन कलिलै उमेरमा ऊ गर्भवती भई । यसको प्रतिवाद गरेँ मैले । मसँग निकै रिसाई । उसले त्यही केटासँग बिहे गरी । बिहे गरेको केही समयमा जुम्लिया नाति-नातिनी पाएर उसले आफ्नो संसार बसाई । तर मेरो छेउमा न ऊ परी न नाति-नातिनीलाई पर्न दिई । पैसा चाहिँदा मात्र मसँग सम्पर्क राख्ने उसको पहिलेदेखिकै स्वभाव आजसम्म पनि बदलिएको छैन । छोरी-ज्वाइँ, नाति-नातिनी भएर पनि म एक्लो नितान्त एक्लो । त्यसक्षण म खुब विक्षिप्त भएँ । विरक्तिएर भौँतारिन थालेँ । फेरि अर्कै खै कस्तो कस्तो झन् गाह्रो गाह्रो छटपटी मुस्किलले सहेँ । ती कटु क्षणमा मर्दैै र बाँच्दै बिताएको जीवनको लामो समयको यादले यसबेला पनि विचलित बनाउँछ ।
समयकै कुरो रहेछ । दश वर्ष अगाडिको कुरा हो । एकदिन निराशा र औडाहाको बादल ओडेर म पार्कमा घुम्दै थिएँ । मेरो जीवनको सुखद संयोग नै हो सायद । त्यही पार्कमा एकदिन अचानक जोनसँग भेट भयो । त्यस दिनदेखि नै त्यो पार्कमा हाम्रो भेटले निरन्तरता पाउन थाल्यो । पार्कमा भएको त्यो भेटले मित्रताको रूप लिन केही समय लागेन । बिस्तारै बिस्तारै त्यो मित्रताको दायरा पृथक बनेछ, थाहा  नै नभई । त्यसपछि दुःख-सुखका केही भावनाहरू साट्ने क्रम सुरु भयो । समय बित्दै गयो । एक अञ्जुली घामको न्यानो र एक पलक जूनको शीतल छाया जोनसँगको मित्रतामा पाएँ ।
श्रीमतीको मृत्युपछि एक्लिएका जोनसँगको भेटले मेरो जीवनमा एकाएक नौलो आयाम थपियो । एकान्तका अनुभूति बाँड्ने प्रेमको कुनै मानक हुँदो रहेनछ । हाम्रो प्रेम आत्मिक भएर होला हाम्रो सम्बन्ध पनि पृथक बन्यो । शारीरिक रूपमा हाम्रो प्रेम मतलबको कुरो हैन तर मानसिक रूपमा हाम्रा जीवनका हरेक अंश एकै छन्, सायद । त्यसैले त होला नि अमेरिकामा भएका उसका दुइटै छोराको परिवारले साथ दिएका छन् । गत साल जेठो नातिको बिहेमा जोनले मलाई पनि अमेरिका लिएर गएका थिए ।
सबै मिलाएर जोनसँग जीवनका सम्बन्धहरू बुझें । हामी कुन सम्बन्धको कसीमा बाँचेका छौँ, थाहा छैन । तर ऊ मेरो ब्वाईफ्रेन्ड, म उसकी गर्लफ्रेन्डको नामले जानिन्छौँ ।
कुनैकुनै सम्बन्ध त नाता बिना पनि आफ्नो आफ्नो हुँदोरहेछ । सम्झौता बिना पनि मीठो मीठो हुँदोरहेछ । अनर्थमा आफन्तको सम्बन्ध खोज्दै भौँतारिएका ती दिनका स्मृतिहरू बिर्सन चाहेर पनि बिर्सन सक्दिनँ ।” चाउरिएर मुजैमुजा परेको सुकिलो अनुहारको बाटो गर्दै उसको आँखाबाट मनका बह उम्लिएर बगे । अनि लामो श्वास लिई र घुटुक्क थुक निल्दै मतिर हेरेर हाँस्ने प्रयास गरी । दुःख र खुसी मिश्रित उसको हाँसोमा जीवनबोधको मीठो तिर्सना छरपष्ट खनियो । ।
सिमसिमे पानीका बाछिटाहरू तप्पतप्प झ्यालको सिसामा ठोकिएर तरल बनिन्छ, सिसामै मिसिँदै । बाहिर चिल्ला सडकमा गुडिरहेका अनेक प्रकारका बाहनहरू र एउटै आकारमा निर्मित घरहरू, बाटो छेउ पातको रङ बदल्दै उभिएका अग्ला होचा रूखहरू अनि प्रकृतिका केही अवयवहरूमा ठाउँ सरीसरी तुवाँलोले पोतिदिन्छ । शब्दहीन चित्कार …….. विरक्त मन बिना अर्थ दुख्छ भित्र कतै । बाहिर आकाश छोपेर धमिलिएका बादलका आकृतिहरू मडारिँदै बदलिरहन्छन् । आवाजहीन कोठामा एकछिनको मौनतापछि फेरि जीवनका बाँकी अंश बल्झँदै ऊ बहकिन थाली ।
“जोन हरेक शुक्रबार आफ्नो गाडी लिएर यहाँ आउँछ । शनिबार हामी सँगसँगै सपिङ जान्छौँ, नयाँ ठाउँ घुम्न जान्छौँ अनि रातीको खाना रेस्टुरेन्टमा नै खाएर लेट नाइट फर्कन्छौँ । अनि आइतबार अबेला खाना खान्छौँ, सँगै बसेर । त्यसपछि चार-पाँच बजेतिर ऊ आफ्नो घर जान्छ । म आउने शुक्रबारको प्रतीक्षामा खुसीखुसी बस्छु ।
यसरी जीवन जोडिएपछि प्रकृतिबाट अलग्ग हुन पनि नसकिँदो रहेछ । हामी बीचका सबै पर्खालहरू भत्किसकेका छन् । एउटै घर एउटै कोठा मात्र नभई एउटै ओछ्यानमा बिताएका हाम्रा हरेक प्रेमिल रातहरू अविस्मरणीय छन् ।
हरेक मानिसको घर व्यवहार, आनीबानी, खानपिन, जीवनशैली फरक हुन्छ । तर दुःखसुखका अनुभूति एउटै हुँदो रहेछ । जहाँको जो भए पनि माया माया नै त हुँदो रहेछ नि । मायालु मनमा घृणा पलाउँदो रैन रैछ । तर मेरो यो खुुसी मेरी छोरीका लागि अभिशाप भएको छ । ऊबाट मैले बारम्बार त्रसित हुनुपर्छ । एकपलको खुुसी आफूले पनि दिन नसक्नु अरूबाट मैले पाउने खुसीमा पनि ईष्र्या गर्नु कस्तो नियति हो सन्तानको । मेरो ठाउँमा तेरी आमा भए तँ के गर्थिस्, नन्दिता !” औडाहाले होला अचानक नन्दितातिर फर्कदै ठाडै प्रश्न गरि ।
“आमा खुसी हुने कुरामा म त खुसी हुन्थेँ, अन्टी । हुन त हाम्रो समाजले स्विकार्दैन तर त्यो समाजले मेरी आमालाई कहिले पो साथ दियो र ? दादा, दिदीले के गर्नुहुन्छ म जान्दिनँ, तर आमाले त्यसरी खुसी भेट्नुभयो भने म त खुसीखुसी आमालाई साथ दिन्छु र म पनि खुसी हुन्छु । त्यसैले अन्टी तपाईँको जीवन देख्दा मलाई खुसी लाग्छ नि आन्टी ।” आत्मविश्वासका साथ हाँस्दै नन्दिताले जवाफ दिई ।

नन्दिताको कुरा सुनेर ‘जे होस्, अब हाम्रा छोरीहरूले हाम्रो जस्तो एकाङ्की र नैराश्यको जीवनबाट मुक्त हुने रहेछन्’ भन्ने सोचेर म भित्रभित्र नै गद्गद्  भएँ ।
नन्दिताका भावबाट ऊ पग्लिन्छ सायद अनि जुरुक्क उठेर नन्दितालाई अँगालेर बरबरी आँसु झार्दैै “नन्दिता, तेरी छोरीलाई मैले पैसाका लागि मात्र हेरेको होइन । पैसा पनि केही कुरो त हो, तर तेरी छोरीसँग दिन बिताउँदाको खुसीको मूल्य नै अपार छ । ऊ मसँग भएको दिन उसले थकाएर हो वा उसको स्पर्शको आनन्दले हो राती चैनको निद्रा निदाउँछु । त्यसैले पैसाको चिन्ता तैँले लिनै पर्दैन, अब तेरी छोरी पनि मेरो खुसीको एक हिस्सा भै सकी । तेरी छोरी मबाट छुटाएर मेरो खुसी नखोस् है ?” भावविभोर हुँदै ऊ सुँकसुँकाउन थाली ।
अचल भएर मैले हेरिरहेँ ओछ्यानमा सुतेकी निर्बोध नन्दिताकी छोरी र उनीहरूलाई पालैपालो ।
एकछिनपछि नन्दिताबाट अलग्गिएर मलाई अँगाल्दै “जोनको साथ पाएर म खुसी छैन त भन्न सक्दिनँ, तर सन्तानबाट प्रेम नपाउँदा मातृहृदय खुसी हुन सक्दो रहेनछ । म कता कता अपुरोअपुरो भएजस्तो अनुभूत गर्छु । रित्तोरित्तो जस्तो खै कस्तो कस्तो ! मेरा यी कुनै कुरा आफ्नो कहानीमा लेख्नुभयो भने म खुसी हु्न्थेँ सायद । मेरा जीवनका कुरा यिनै हुन् ।” आशातीत आवाजमा उसले मनको बोली बोली ।
उसका कथाव्यथा सुनेपछि कतिबेला उसको कथा लेखु भन्ने आँधीबेरी चल्यो ।

Facebook Comments Box