शून्यमा पुगेर तिमीसँगै विलीन हुनु छ

23

आज पनि आङ्नै सिरिङ्ग हुनेगरि हावा चल्दैछ । यो त्यही हावा हो नि ! जुन तिमीले मलाई पहिलोपटक स्प्रर्श गर्दा तिम्रो छुवाईबाट निस्केको थियो। हरेक हावाको स्प्रर्शले तिम्रो हातकोभन्दा पनि कोमल स्प्रर्श गराएर जान्छ, सायद यो हावामा तिम्रो सास मिसिएको भएर होला।

प्रेम त त्यस्तो होस्, जसले मानिसलाई कल्पनामा डुबाओस् तर कल्पनै नसक्ने कहिल्यै नबनाओस् । तिमी कल्पनाबाट पनि कल्पनै नसर्ने ठाउँमा छौ । कहाँसम्मको कल्पना ! म मनलाई त्यति पर लग्नबाट डराउँछु । यी हावासँगै उड्न खोज्दा मनलाई चुडाएर तिम्रो स्प्रर्शसँग परिचीत गराउन खोज्छ। तिम्रो स्पर्शमा यतिसम्म नजिकिँदो रहेछ कि, हावालाई छुँदा मात्र पनि तिमिले लगाएको त्यो नेबि ब्लु कलरको सर्ट मेरो आँखाले प्रष्ट देख्न सक्छ । अब पनि भनौँ र ? तिमी कल्पना गर्नै नसक्ने ठाउँमा छौ भनेर ।

झ्यालको छेउमा बस्दै गर्दा आकाशबाट परेको त्यो बाछिट्टाले पनि तिमिसँग भेटेंजस्तै गालामा काउकुती लगाउनेगरि तप्प एकथोपा पानी छोडेर जान्छ । झ्यालबाट छिरेको त्यो घामको किरण मेरो हातमा पर्दा पनि ओठ मुस्कुराउँछन् । त्यो किरणले तिमी बनेर मलाई स्प्रर्श गराए जस्तो लाग्छ। तिमी मेरो लागि घाम हो । हावा हो । पानी हो । विशेषत:तिमी मलाई इन्द्रेणीजस्तो लाग्छ। तिम्रो इन्द्रेणीको सातौ रङ्गमा जिन्दगीभर रंगिने सपना देख्न मन छ ।

तिमी बनेर आएको यो हावासँग तिमी नै भनेर कुरा गर्दैगर्दा पनि मभित्र लाज लपक्कै पोतिँदो रहेछ । चनाखो हुँदै म मेरा घर वरिपरि आँखा नचाउन थाल्छु । कसैले हाम्रो वार्तालाप आफ्नो कौसीबाट, आँगनबाट , झ्यालबाट चिहाइरहेको पो छ कि भनी । सिमसिम परेको पानीसँग मलाई आफ्नो घनिष्ठ सम्बन्ध छ जस्तो लाग्छ । पानीलाई अञ्जुली भरी थाप्दा, अञ्जुलीमै हेर्दा पनि त्यस पानीभित्र तिम्रो आकृति देख्छु । तिमीलाई त म हरेक आकृतिमा कोर्न सक्ने भएकी छु । मैले कोरिरहेको आकृतिबाट तिमीले मलाई सहजै आफ्नो अंगालोमा बेर्न सक्छौ जस्तो लाग्छ । हकिकतमा माया त मैले मात्र गरेकि छु जस्तो लाग्छ । तर तिमीलाई कल्पन खोज्दा तिम्रो हरेक आवरणमा म नै म छु जस्तो लाग्छ । मेरो सामिप्यतामा तिमी हृदय खुल्नेगरि हाँसेको छौ जस्तो लाग्छ ।

यी मायाका छालहरुले मलाई भन्दापनि तिमीलाई बढी बाँधेका छन् जस्तो लाग्छ । तिमी खुसी भएको कुरा यि हावाले सरर सररररर सरररर गरि मेरो कानमा सुस्केरा हाल्दै सुनाउँदै जान्छ ।

तिमी अप्ठ्यारोमा पर्दा मेरो दाहिने आँखा सधैँभरि फरफराई रहन्छ, अब तिमी आफैं भन, के कल्पनामा मात्रै माया हुदैन..?

तिमी पर्खाइ र कल्पनामा मात्रै सिमित थियौ। तिम्रो आगमनले मेरो बन्द ओठ र मन खुल्न थालेका छन् । तिम्रो अङ्गालोमा मेरो भावनाहरु खुल्दैछ्न । भावनाले नयाँ कथा बुन्दैछ।

ओठ शान्त थियो,

आँखा तिम्रै यादमा भिजिरहन्थ्यो

भिजिरहेको आँखाले आँसु पुस्ने
हात तिम्रै खोज्थ्यो

मुस्कुराइरहने बानी कसरी बस्यो?
यादमा हराइरहन्थें

हराएरै हारि रहन्थें

हारेरै तिमिलाई खोज्ने कसरी भए ..?

गुनगुनाइरहने बानी
किन बस्यो, कहिलेदेखि बस्यो..?

एउटा खबर सुनाएर हावा
मैदेखि बेखबर कसरी भयो ?

मेरो आफ्नै मन तिम्रो स्प्रर्शले
सिरिङ्ग कसरी भयो..?

त्यो खुसीले मेरो जिन्दगी भरियो
चरा जसरी उड्न सक्छ मन

झ्यालको डिलमा अडिरहने मेरो मन,
मुस्कुराइरहने बानीले तिम्रो गीत
गाउन खोज्छन् ,

तिम्रोबारे केही कुरा लेख्न सक्छ।
अब जसले जहाँबाट हेरेपनि
तिम्रो हात समातेर..
जोडले पर धकालेर अङ्गाल्न सक्छ ..
अब यी ओठहरुले तिम्रो स्प्रर्शलाई चुम्न सक्छ्न..।

तिम्रो हरेक बोली व्यवहारलाई मैले रुचाउँन थालेकी छु । थाहा नै छैन कति प्रगाढ माया गर्ने आँटेकी छु। सास नै नफेरी दिनभरीको कुराकानी एकै सासमा सुनाउने भएकी छु । मेरो कुरा सुन्दै गर्दा तिमी मायालु भावले मलाई हेरिराख्दा आजभोलि लाग्छ, पागल त तिमि भएका छौ । यति धेरै माया देख्दा कसैको आँखा लाग्छ कि भनेर हाम्रो मायालाई जोगाएर राख्ने भएकी छु । भड्काउने उचाल्नेसँग  संगत कम गर्न थालेकी छु । तिम्रो साथ हुँदा संसारको खुसी हामीभित्रै छ जस्तो लाग्छ ।

मैले तिम्रो पर्खाइमा बिताएका पीडाहरू तिमीतिर उछिट्टिएर् पुग्नै पर्छ…..।
मान्छे जूनको तारिफ किन गर्छन्, थाहा छ ? जून टाढा छ भनेर..। तिमी हावाको बहावजस्तै मसँग कोसौ टाढा छौ । तिमी नजिक हुँदा भन्दापनि तिमीलाई टाढा महसुस गर्दा यी परेली मैले कयौँपटक भिजाएकी छु । तिमी टाढा भएपनि तिम्रो भावना मैसँग खेलिरहेको छ । तिम्रो पर्खाइमा मैले धेरै चोटि तिमीलाई नै पर्खिएकी छु । तिम्रो पर्खाईमा मैले धेरैजसो आफ्नो झ्याल बन्द नै नगरी निदाएकी  छु । तिम्रो स्पर्शले भन्दा पनि तिम्रो यादले मलाई बढी अत्याएको छ।

तिमी टाढा हुँदा पनि मैले आफ्नो भावनाहरुलाई शब्दले भुलाएकी छु । भावनालाई मनले जित्न नसक्दो रहेछ..।

परबाट सुस्केरा हाल्दै मलाई आफुतिर तान्ने तिम्रो स्पर्श आजभोलि हावाले नल्याउँदा.. हावाले तातो राप  मात्र फ्याँकिदिँदा, तिम्रो भावना फेरिए जस्तो लाग्छ..। तिम्रो स्पर्शले मेरो सामु लाजले भिजेको छ। तिम्रो कोमल ओठको छुवाई आजसम्म पनि मेरो घाँटीसामु थरथराइरहेको छ । मेरो सासमा तिम्रो बास्ना बिस्तारै खुल्न थालेको छ। तिम्रो सासले मेरो खुसी फक्रिन थालेको छ।

तिम्रो तस्विर मेरो आँखाबीच भागमै झल्किन थालेको छ। मेरो माया तिम्रो सामु निथ्रुक्क भिज्न थालेको छ …।

तिमीप्रति खुलेका यी सबै भावनाहरुलाई फेरि आएर भावनासँगै परिचीत गराउँदै नौ ? सबै स्पर्शलाई भेटेर मलाई सम्हाल्दैनौ र….?

मायाले साँच्चिकै जीवन जिउन सहजरुपमा सिकाउँदो रहेछ । मायामा अलिअलि रिस, शंका ,त्याग , बेचैनी , कचकच ,मिठास, रोमान्स, घुर्की , चाह नभए जस्तो बहाना नभएसम्म माया, माया जस्तो नलाग्दो रहेछ। मेरो जिद्द तिमि हौ,, मेरो साहस तिमी हौ, मेरो विश्वास तिमि हौ, मेरो आत्मसम्मान तिमी  हौ !

मायाको पंख फिँजाएर हामी हावाभन्दा पनि निकै पर आइपुगेछौ, नाप्नै नसकिने तेजमा आइपुगेछौ की:- कहिल्यै मसी नसकिने कलमले तिम्रो बारेमा मायाका भावहरु कोर्नु छ ….।

मसँगै मेरा मन,
तिमीलाई नै कल्पन्छ
तिमी भए यो हुन्थ्यो..

तिमी भए त्यो हुन्थ्यो
हरेक पल तिम्रो मिठास हुन्थ्यो..

यो मिठो संसारमा
कल्पनामै डुबेर यति पर
आइपुग्यौ कि मलाई जुनीभरी
तिम्रै काँधमा मेरो इच्छाहरू
समर्पण गर्नु मन छ।

तिम्रो अङ्गालोमै आफ्नो
भावहरु मिसाउँदै धेरै पर
पुग्नु छ,

रातको चन्द्रमालाई तिमीभन्दा
कमजोर प्रमाण गर्नुछ,

तिम्रो ओठको थरथराहटबाट मेरो
शरीरमा काँडा उमार्नु छ।

यो हावाको स्प्रर्श मात्र हो, कि
साँच्चिकै तिमि नै हौ?

तिमीले सुस्त मेरो कानमा सुस्केरा
दिई केही भनिरहें जस्तो लाग्छ,

म सोचिरहन्छु एकनाशले यो
तिमी नै हौ, या तिम्रो भ्रम ।

यो तिमी नै हौ, या तिमिलाई
कल्पेर काप्ने मेरो मन..।

चन्द्रमा ले विस्तारै ओझेल पार्दै जाँदा ,
मनलाई सम्हाल्छु र हेर्छु,

र ढुक्क हुन्छु यो तिमी होइन भनि
अह्… ह.. तिमि यहाँ छँदै छैनौ,

तर मन आत्माले सधैँ मेरो
सासमा तिम्रो स्प्रर्श गराइरहन्छ,
तिमीलाई नै माया गरिरहन्छ अब हरेक पल।

यो मिठो कल्पनामा तिमीसँग

धेरै पर आइपुगेँ की ,

अब लाग्छ तिमी शरीर हो र
म त्यसको छायाँ ..

तिमी छैनौ भने म कहाँ छु, त?
मलाई आफ्नो मायाको भावना
भरी सजाउने तिमी ।

तिमे जहाँ छौ अब त
म हरेक पल तिम्रो ढुकढुकीसँग धड्किरहन्छु ।

तिमीलाई म आफुभन्दापनि पहिला भेटिरहन्छु..

तिम्रो काखमा
मेरो जीवनको अन्तिम सास फेर्ने चाहन्छु…।

हामीले यो मिठो कल्पनामा आफ्नो मायाको अलग्गै संसार बसाइसकेका रहेछौँ ।

हामीलाई एकअर्काको छायाँ बन्नु नै रहेछ र पो त मैले तिमीलाई हावासँग कल्पिएँ । चर्किदै गरेको घामसँग कल्पिएँ…। मैले तिमीलाई कल्पना मै कल्पिएर हकिकतमै आफ्नो बनाउँन पनि सकें ।

मलाई तिमीसँग जीवनको यात्रामा शून्यमा पुगेर विलिन हुनु छ ।

Facebook Comments Box