चन्द्रप्रकाश बानियाँको महारानी पढ्दाको मेरो अनुभव

0 347

चन्द्रप्रकाश बानियाँको महारानीले २०७६ को मदन पुरस्कार हात पार्‍यो । म प्राय मदन पुरस्कार पाउने किताबहरू पढिहाल्ने गर्छु । पुस्तक ल्याएर पढिसकेपछि केही लेखौँ जस्तो लाग्यो । हुन त मेरो उमेरले या योग्यताले कुनै गहन सिद्धान्तमा टेकेर कुनै किताब माथि समालोचना गर्ने ल्याकत पक्कै राख्दैन । तर पनि लेखकले मेरो उमेर समूहले उनको किताबलाई कसरी हेरेको छ भन्ने जान्न पाउनुपर्छ भन्ने मलाई लाग्यो ।

महारानी लगभग ३०० वर्ष अगाडिको चौबिसे राज्य अन्तर्गतको पर्वत राज्यको राजदरबार भित्रको राज्य सञ्चालनका क्रममा भएका उतारचढावलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास रहेछ । पढ्दै गर्दा पुस्तक साँच्चै नै मदन पुरस्कारको असली हकदार भएको धेरै ठाउँमा महसुस गरेँ । लेखकले धेरै वर्षसम्म गरेको मेहनत र ऐतिहासिक अन्वेषण साँच्चै नै प्रशंसायोग्य छ ।

अब किताब पढ्दाको मेरो अनुभव सुनाइहालूँ । सुरु सुरुमा खासै जमेन । अझ भनौँ , तत्कालीन पर्वते लवज पढ्नै जमेन । सुरुका प्रत्येक हिकाइहरूमा छुट्टाछुट्टै घटनाक्रम, एउटा घटनाक्रम नसकिँदै अर्को घटनाक्रम । घटनाक्रमहरू सम्हाल्नै गाह्रो भयो। बल्ल उपन्यासको बिच भागतिर आइपुग्दा उपन्यासमा रस बस्न थाल्यो, घटनाक्रमहरूका रहस्य खुल्न थाले, इतिहास बुझिन थाल्यो, मुख्य कथामा उपन्यास प्रवेश गर्न थाल्यो, अनि लवजमा अभ्यस्त भइसकेकाले कथाहरू पनि धाराप्रवाह बग्न‌ थाले । किताबबाट अन्त आँखा दायाँबायाँ जानै मानेनन्। अनि बिस्तारै पढ्न बाँकी पानाहरू घट्ने क्रममा यति चाँडै नसकिए हुन्थ्यो, ला! सकिनै आँटिसक्यो, जस्तो लाग्न थाल्यो। अनि पूरा सकिएपछि आफैँदेखि रिस उठ्यो, यति राम्रो पुस्तक पढिसक्न‌ कसरी मैले‌ यतिका‌ समय लगाउन सकेछु? भनेर।

तत्कालीन समयमा हुने चालचलन, रीतिथिति, व्यवहार, राज्य सञ्चालन, खिचातानी, भातृत्व, प्रेम, सबै सबै कुरा किताब पढ्दा पाठकले दिमागमै चलचित्र हेर्न सक्छ । यो भन्दा ठुलो सफलता सायदै लेखकको अरू हुन सक्दैन।

इतिहाससँग केही कुरा मेल खाएनन्‌, भन्ने प्रतिक्रियाहरू सुनियो। तर लेखकले सुरुमै सबै कुरा छर्लङ्ग भनेका रहेछन्: इतिहासमा काल्पनिकता मिसिएको छ भनेर। इतिहासमा के थियो, त्यही लेखेका पनि हुन सक्छन् लेखकले, त्यो उनै जानुन् । तर पनि मलाई महसुस भएका केही कुराहरू

के साँच्चै नै राजकुमारी महलवसन्ताको राजदरबारमा तथा युवराजसँगको विश्व प्रभाको प्रेममा केही भूमिका थिएन होला त ? यस पुस्तकमा खाँचीकि राजकुमारी महलवसन्ता को केही पनि भूमिका रहेन।

न त उनलाई युगल जोडी को प्रेम देखेर जलन नै भयो, न त विश्वप्रभाले राजदरबारमा जमाएको छाप र सबैको माया देखेर ईर्ष्या भाव नै भयो। न त विश्वप्रभासँग उनको कहिल्यै संवाद या त विवाद नै भए।

न त उनलाई विश्व प्रभाको भद्रिबमसँग विवाहको कुरा चल्ने माहोल भएपछि ‘महारानी’ बन्न पाउने भएँ भन्ने पदको लालच र लोभ नै भयो। न त, विश्वप्रभाले राजदरबार छाडेपछि उनमा खुसी/ या दुखका भाव नै आए। ‘महलवसन्ता’ पात्रको राम्रो चित्रण यस उपन्यासमा पाइँदैन। यसले उपन्यास अलि खल्लो पक्कै बनाएको छ।

उता देउपुरकि राजकुमारी विश्वप्रभाले राज्य विखण्डन हुन नदिन आफ्नो खुसी, प्रेम, दरबार सबको बलि चढाइदिइन् र महारानीको रूपमा आजसम्म पुजिँदै आइन्। विश्व प्रभाको महानता र करुणा देखाइरहँदा, महलवसन्ताको विपक्षी/ विपक्षी नभए पनि केही न केही भूमिका देखाइदिएको भए उपन्यास अझै सुन्दर र रोचक हुने थियो भन्ने मलाई लाग्छ।

‘सुमन्त’ पात्रको ज्ञानको बढाइचढाइ महसुस गरेँ। सुमन्तको विद्वताको आधिकारिक स्रोत पुस्तकमा पाउन सकिँदैन। काजी, बडा काजी, गुरु, पुरोहित, जस्ता पाका मानिसलाई पनि थाहा नभएका पाल्पाका इतिहासका, धर्म सँस्कृतिका कुरा, २०/२२ वर्षका सुमन्तलाई कसरी इति वृत्तान्त ज्ञान हुन सक्यो होला? उनको दरबारसँग पनि कुनै सम्बन्ध थिएन, न त अरू केही सँग सम्बन्ध थियो। सुमन्तको ज्ञानको स्रोत अनुत्तरित छ।

कतै ‘सुमन्त’ आफ्ना पुर्खाको विद्वताको भ्रम फैलाउन र प्रशंसा बटुल्न लेखकले खडा गरेको नक्कली पात्र त हैन? भन्ने प्रश्न पाठकका मनमा उब्जिनु स्वाभाविक देखिन्छ।

पुस्तकमा, राजा घनश्याम र युवराज मलेबम सकारात्मक, धार्मिक र उदार स्वभाव भएका पात्रका रूपमा उभिएका छन् भने भद्रिबम नकारात्मक र महत्त्वाकाङ्क्षी पात्रका रूपमा उभिएका छन्। राजाहरूको विलासितामा रमाउने प्रवृत्ति र उद्दण्ड स्वभावलाई पनि लेखकले कहिँकतै ढाकछोप गर्न खोजेको हो कि जस्तो पनि महसुस गर्न सकिन्छ।

साथै, भद्रिबमका कुरा पनि कुनै ठाउँ जायजै हुँदा हुँदै पनि उनी नकारात्मक नै कहलिएका छन्। लेखकले ‘भद्रिबम’ पात्रलाई अन्याय पो गरेका छन् कि?

अन्त्यमा, पुस्तक उत्कृष्ट छ। सबै कुरामा ‘क्रिटिकल थिङ्किङ्ग’ गर्ने मेरो बानी छ, खोट देखाउन खोजेको पक्कै होइन। उपन्यासको नाममा इतिहास तितरबितर पारेका पक्कै छैनन् होला बानियाँले, यदि यस्तो हो भने यसलाई राम्रो कुरा हो भन्न‌ चाहिँ सकिँदैन। अरू त के भनौँ, निष्क्रिय महिला राष्ट्रपति भएको देश छ, अर्की महिलाको महानताको कथा लेखिदिएको मा लेखकलाई धन्यवाद! पुस्तकले समाज घच्घच्याओस्। देश अखण्ड भइसके पनि नेताका मन विखण्डित छन् सायद, खै!

पुस्तक अवश्य पढ्नु होला। मीठो उपन्यास छ।

धन्यवाद!

 

Facebook Comments Box
Leave a comment