कविता : मगज

कवि : सबिना गोपाली

96

काठमाडौं सहरको एउटा उँचो बिल्डिङ्बाट,
त्यो गज्याङमुजुङ घरहरू

त्यहाँ खुम्चिएर बसेका मगजहरूलाई
एकटकले नियालिरहँदा
एक्कासि म आफैंलाई प्रश्न गर्न पुगे,
म यो गन्जागोलको भिडमा
कहाँनेर अल्झेकोछु?
म कुन वर्गमा पर्छु?
यहाँको नापतौल कुन आधारमा हुन्छ ?
धेरै धेरै प्रश्नको सागर तेर्साउँछु,
तर
उत्तर म अर्कै पाउँछु मेरो अपेक्षा विपरीत
अनि म खिन्न भावमा
फेरि त्यही सहरलाई हेर्दै टोलाउँछु
त्यहाँका फुर्सद नभएका तर गन्तव्यविहीन्

निच्च दाँत देखाएर खुसी जस्तै देखिएका
मान्छेका आँखाहरू छुन्छु,
अचानक
मेरा हातहरू चिसा हुन्छन्
मैले सोचे,
सायद यी खुसीका आँसुहरू हुन्
प्राप्तिका हर्षहरू हुन्
त्यसैले म उनीहरूको खुसीमा
सरिक हुन के खोज्दै थिएँ ,
ती खुसी जस्तै देखिएका मान्छेहरूको
आँखामा मेरो आँखा जुध्यो
अनि उनीहरूको आँखाले मलाई सोध्यो,
के तिमीले हामीलाई साँच्चै खुसी पायौ ?
म एकछिन् निःशब्द भएँ ,
अनि बिस्तारै आफूलाई सम्हालेर
उनीहरूको आँखामा आँखा फेरि जुधाएँ

मैले भयावह तरङ्गहरूको चुचुरो देखेँ
सायद , यो कुनै ज्वालामुखी विस्फोटको सङ्केत हो
जहाँ छिट्टै नै आक्रोश र नैराश्यताको लाभा बग्नेछ
अनि त्यति नै खेर मलाई ती आँखाबाट बगेका
हर्षका आँसुजस्तै देखिने
आँसुले खबरदारी गर्‍यो ,
“कृपया यो ढोङ्गी, भावविहीन निर्लज्ज मगजहरूको चङ्गुलमा फस्न सख्त मनाही छ।”
म झल्याँस्स बिउँझे
अनि आफ्नै संसार फर्किएँ  ।।।

Facebook Comments Box