जञ्जीरहरूका विरुद्धमा लेख्न मन लाग्छः टीका आत्रेय

224

पूर्वको इटहरीमा रहेर कविता कर्म गर्ने कवि हुन् टीका आत्रेय । उनका कविता सरल, सरस र अत्यन्तै लयात्मक हुन्छन् । छन्दमा युगीन चेतना र परिवर्तनको आवाज पस्कने अत्यन्तै प्रतिभाशाली कवि हुन उनी । उनका हालसम्म तीनवटा कृति प्रकाशित छन्,— गजल सङ्ग्रह “मनको क्षितिज”, र “युगको संघार,” तथा कविता सङ्ग्रह “भ्रूणप्रश्न” । प्रस्तुत छ सेन्ट्रल खबरका लागि रमा अधिकारीद्वारा लिइएको अन्तर्वार्ताको सम्पादित अंश ।

हुन त सिर्जनाको क्षेत्रमा लैङ्गिक कुरा गौण हो । तर पनि, एक बुहारी, पत्नी र आमा हुनुका साथसाथै सर्जक पनि बनेर अगाडि बढिरहँदा जिम्मेवारी र अपेक्षा बाझिन सक्छन् । तपाईंको अनुभव के छ ?

धन्यवाद, यो प्रश्न र मेरो अनुभव दुवै माकुराको जालमा फसेको मौरीजस्तै हो — बाटो पहिल्याउँनै मुस्किल ।
जिम्मेवारीहरूले अनुभूति सृजना गर्छन् र तिनै अनुभूति सिर्जनामा पनि पोखिन्छन् सायद । जहाँसम्म सम्बन्ध (बुहारी, पत्नी र आमा) का कुराहरू छन् ती पनि प्रकृति र सृष्टि निरन्तरताका अभिन्न पाटाहरू नै हुन् । आफू यी सबै सम्बन्धहरूमा जेलिएकाले प्रिय पनि लाग्छ । प्रत्येक सम्बन्धले आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ नै । तर हाम्रोजस्तो समाजमा जरा गाडेर बसेको लैङ्गिक विभेद चैँ साह्रै डरलाग्दो रोग र रोक हो । विभिन्न धर्म संस्कार, संस्कृति र चालचलनका बहानामा आम नारीहरू सिकार भएका छन् । म पनि यसबाट मुक्त हुने कुरै भएन । एक पक्षीय रूपमा महिलाहरूमाथि थुपारिएका संस्कार र जिम्मेवारीका भारी र बाहिर फुत्किन नसक्ने जञ्जीरहरूका विरुद्धमा लेख्न मन लाग्छ । थोरैतिना लेख्दै आएकी पनि छु । तर कतिपय कुरा त हातका आँैलासम्म आएर पनि रोकिएका छन् । मेरो व्यक्तिगत मनले चाहेको वा देख्न खोजेको समाजको महिलाजत्तिको स्वतन्त्र कुनै महिला लेखक छैनन् र म पनि छैनँ । एकातिर सिद्धान्त अर्कोतिर व्यवहार हुन खोज्छ । अहिले पनि म भान्साको काम र ल्यापटप दुवैमा एकसाथ छु । यो उत्तर लेखिरहदाँ पनि तथापि सकेसम्म आम जिम्मेवारी सम्हाल्दै लेख्नु नै छ । अर्थात् पुरुष लेखकजस्तो महिलाहरू स्वतन्त्र भएर लेख्न भ्याउदैनन् ।

छन्द कविता र गजलमा बराबर सक्रिय हुनुहुन्छ । छन्दतिर औँलामा गन्दा अटाउने केही युवा बाहेक, नयाँ पुस्ता त्यति आकर्षित भएको पाइँदैन । गजलमा युवाको ठूलो आकर्षण छ, तर त्यहाँ उत्तिकै धार, उति नै विवाद । यस्ता चुनौतीका बीच आफ्नो बाटो कसरी बनाइरहनुभएको छ ?

त्यही त अल्पमतमा छु । गजलमा यति ठूलो विवाद छ कि, भनीसाध्य छैन । गजलमा भएको विवाद गजलको क्वालिटीभन्दा पनि गजलकारको शक्तिको तुजुक हो जस्तो लाग्छ । गजलमा देखिएको अर्को ठूलो रोग गुट र उपगुट हुन् । आफ्नो गुटको जस्तोसुकै ढोडलाई पनि बलियो पिलरको रूपमा स्वीकार्नु गजल यात्राको बाटाको अवरोध हो । खासमा बहरमा लेखिएको भएपनि वा गैर बहरमा लेखिएको भए पनि गुणस्तरीय गजललाई मात्र स्वीकार गर्ने हो भने गजलको उन्नति पक्का छ । जहाँसम्म मेरो सवाल छ गजलको बारेमा, मलाई दुवै खालका गजल हुन् जस्तो लाग्छ र दुवै होइनन् जस्तो पनि लाग्छ । गजलका अङ्गसहित नयाँपन र नयाँ शैलीसँग आएका दुबै थरिका गजल मेरालागि गजल हुन् तर गजलको मापदण्ड पनि नभएका वा भएपनि नयाँपन, शैली कला नभएका गजल गजल हैनन् मेरा लागि । अर्को कुरा रह्यो छन्द कविताको, यहाँ पनि छन्द पुस्ता र गद्य पुस्ताको त्यस्तै होड छ, एकले अर्कोलाई नगन्ने रोग नै छ । जतिसुकै राम्रा कविता लेखेपनि छन्दमा लेखिएको छ भने त्यो कविता राष्ट्रिय पत्रिकामा छापिँदैन । यसको कारणचाहिँ छन्द कवितामा कम क्वालिटी भएर पनि होला । हुन त गद्यमा लेखिएका पनि सबै कविता ‘कविता’ भएका छैनन् । वास्तवमा छन्दमा कविता लेख्न गाह्रो पनि छ चाहेजति सजिलै यसमा क्वालिटी दिन सकिँदैन पनि । अर्को कुरा छन्द कविताको पाठक छन्द कविताको ज्ञान भएकै मान्छे हुनुपर्छ नत्र कविता पढ्न जान्दैन पनि, निरस पढाइ हुन्छ । पछिल्लो समयमा चाहिँ छन्द कवितालाई केही रुचाइए झैँ पनि लाग्छ । हुन त म दुवै खालका कविता लेख्दै आएकी भएपनि छन्दमा चिनिएकी छु । म यत्ति भन्छु कि, खास ‘कविता’लाई चै स्वीकारौँ । हामीले छन्दमा होस् या गद्यमा राम्रा कविता लेख्न सक्यौँ भने बाटो आफैँ तय हुन्छ जस्तो लाग्छ मलाई ।

पूर्वकी चेली हुनुहुन्छ । पूर्व, पहिल्यैदेखि सिर्जनामा अब्बल र नेपाली साहित्यमा अग्रपङ्क्तिमा देखिएको छ । यसको अर्थ, तपाईंहरूले एउटा विशाल विरासत थाम्नु पर्ने निश्चित छ । यस्तो जिम्मेवारी बहन गर्नका लागि तपाईंको तयारी के छ र ?

सिर्जनामा पूर्व पश्चिमको के कुरा र? कुनै समयमा थियो होला वा अझै पनि होला तर अब विश्व नै एक हत्केला मोबाइलमा अटाइसकेको छ । एउटा रचना एकै क्षणमा संसार डुल्न सक्छन् । हजारौँ मानिसहरूले एकैसाथ पढ्न र सुन्न सक्छन् र प्रतिक्रिया जनाउँन सक्छन् । हाम्रा सिर्जना त अब हामीले मात्र पढ्नु भन्दा पनि अन्य भाषामा कसरी परिचित गराउने भन्ने सवाल चैँ दह्रो सवाल हो । यसका लागि काव्य कृतिको गुणस्तर कस्तो छ र त्यसलाई कसले अनुवाद गर्ने भन्ने प्रश्न जटिल छ । छन्द कविताको बजारचाहिँ संस्कृत पृष्ठभूमिबाट हुर्किएका नेपाली र हिन्दी–भाषीहरूमा मात्र सीमित हुनसक्ला तथापि छन्दको जुन सङ्गीत छ त्यो मौलिक लयचाहिँ संसार डुल्नसक्छ । मेरो सवालमा चाहिँ म त्यत्रो विरासत धान्ने हैसियतको कवि हुँ भन्ने ठान्दिनँ । आफूले लेख्दै जाँदा जति ठाउँ मैले ओगट्छु मैले गर्न सकेको योगदान त्यही हुन्छ साहित्यका क्षेत्रमा, म त्यसलाई विरासत पनि मान्दिनँ ।

तीनवटा कृति आइसके— गजल सङ्ग्रह “मनको क्षितिज”, र “युगको संघार,” तथा कविता सङ्ग्रह “भ्रूणप्रश्न” । सार्वजनिक स्पेसमा आएका प्रतिक्रिया त छँदैछन् । यी सङ्ग्रह आएपछि तपाईं आफैँले आफूलाई मूल्याङ्कन गर्दा के पाउनुभयो ? आफ्ना शक्ति र सीमा केके रहेछन् ?

तीनवटा सङ्ग्रहहरू आएका छन् अहिलेसम्म । दुईवटा गजल सङ्ग्रहमध्ये एउटा २०६८ सालमा प्रकाशन भएको हो । त्यो समयताका निस्किएका गजल कृतिहरूमा तुलना गर्दा लाज लागेर भूमिगत बनाउनुपर्ने मेरो कृति छैन । त्यो समय अनुसार र मेरो उमेर अनुसार पहिलो कृति प्रति म सन्तुष्ट छु । दोस्रो गजल कृति २०७५ सालमा निस्कियो जुन पहिलोभन्दा परिष्कृत छ, परिपक्व छ त्यसमा पनि सन्तुष्ट छु । गजलका गुट उपगुटले माने पनि नमाने पनि मेरा गजलमा कवित्व छ, यसमै खुसी छु । कविता सङ्ग्रह चाहिँ २०७७ सालको अन्त्यमा निस्किएको हो । यो कृति चाहिँ निस्कनेबित्तिकै कोरोनाको दोस्रो लहरले लकडाउन सुरू भयो । कृति बजारमा निस्कनै पाएको छैन । पाठकको हातमा नपरी प्रतिक्रिया कस्तो आउँछ भन्न सकिन्न तथापि यस कृतिमा समेटिएका धेरै कविताले धेरै स्रोताको मन जितेका छन् । मैले वाचन गरेर सुनेपछि म पनि मेरो कविताको स्रोता हुँ र पढेपछि पाठक । मैले मेरा कवितालाई पाठक र स्रोताको रुपमा भन्दा मेरा कविता औसत छन् भन्ने मलाई लाग्छ । मैले माथि पनि भनिसहेकी छु, छन्द कवितामा निखार दिन निक्कै हम्मे पर्दछ । सायद मेरो साधना पुगेको छैन कि ?

सबै भन्छन्, लेख्न सजिलो छैन । तर, धेरै लेखिरहेका छन् । बाढी नै आएको छ लेखनको । यस्तो किन भइरहेछ जस्तो लाग्छ ? यसले साहित्यमा के फरक पार्छ ?

लेख्न पक्कै सजिलो छैन तर सजिलो छैन भनेर नलेखी बस्दा त झन् हुँदैन नि । लेख्न त धेरैले सुरू गर्छन् तर पार कतिले लगाउँछन् भन्ने कुरा चैँ बाढीको उत्तर हुनसक्ला । कुनै दिन बाढी होला तर लामो यात्राले बाढीलाई पनि सङ्लो बनाउँछ । लामो साधनापछि अहिलेको सामान्य लेखक पनि भोलि परिपक्व लेखकको रूपमा स्थापित हुनसक्छ । धेरैले लेखेर साहित्यमा केही बिग्रिँदैन, पढ्ने त फिल्टर गरेर नै हो तर गुटले उकासेर जस्तोसुकै धमिलो लेखनललाई पनि काँधमा चढाएर जाने हो भने यस्तो बाढीले चैँ सङ्लो मुहानलाई पनि धमिल्याउनसक्छ वा सङ्लो लेखनलाई पनि गुट्मुट्याएर लानसक्छ ।

Facebook Comments Box