मकवानपुरका सेन राजाहरुको दुईसय नौ वर्ष

नेपालमा सेन राजाको इतिहास लामो रहेको भए पनि गहिरो र वस्तुनिष्ठ अध्ययन हुन सकेको छैन ।

हालको नेपालभन्दा धेरै गुणा ठूला राज्य पाल्पा र मकवानपुर तथा पछि टुक्रिएर बनेका चौदण्डी, विजयपुर जस्ता राज्य सेन राजाद्वारा शासित रहेको इतिहासकार बताउँछन् । विसं १००० तिर नेपाल पसेका सेनहरुको झण्डै ११०० वर्ष लामो इतिहास भए पनि सत्ताच्युत हुनुपरेका कारण कतिपय इतिहास पनि गर्भमै लुकेको आभास हुन्छ । इतिहासकारका मत बाझिएको तथा प्रस्ट्याउने तथ्यपूणर् आधार फेला नपर्दा एघारौँ शताब्दीमा नेपाल प्रवेश गरेका तुला सेनदेखि पाल्पाका राजा मुकुन्द सेन प्रथमसम्मको वंशलता वा ऐतिहासिकता अन्योलग्रस्त नै छ । तर मुकुन्द सेनले सन्यास धारण गरेर छोरानातीहरुलाई राज्य बाँडेपछिको इतिहासको सारसंक्षेप भने अध्ययन गर्न पाइन्छ ।

 

तुलासेनले एघारौँ शताब्दीमा स्थापना गरेको भनिएको मकवानपुर विसं १६१० सम्म चर्चाविहीन जस्तै छ । विसं १६१० मा पाल्पाबाट अलग भएपछि भने मकवानपुर विशाल साम्राज्यका रुपमा विकसित हुँदै करीब २०९ वर्षपछि पतन भएको पाइन्छ ।

लोहाङ सेन

मकवानपुरका आधिकारिक प्रथम राजा लोहाङ सेन हुन् । इतिहासकारका अनुसार मुकुन्द सेनका माहिली रानीपट्टिका कान्छा छोरा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको स्थापना गरे ।

लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकणर् सेन र दिग्वन्धन सेन गरी सात पुस्ताले २०९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । लोहाङ सेन अत्यन्तै प्रभावशाली राजा भएको बताइन्छ । यिनी युवराज छँदै विसं १६०३ मा नेपालको बारा, पर्सादेखि मारुहाङको राज्य अर्थात् मोरङसम्म विजय प्राप्त गरेका थिए । पहाडमा दूधकोशीसम्म कब्जा जमाउन भ्याएका लोहाङ सेनले विना लडाइँ विजयपुरसमेत विशाल सेन राज्यमा विलय गराउन सफल भएको इतिहासकारहरु बताउँछन् । यिनले विशाल मकवानपुरको शक्तिशाली प्रथम राजा भएर पूर्वी तराई तथा भित्री मधेशको नेतृत्व गरे । हाल देखिएको मकवानपुर गढीको दरबार यिनैले बनाउन लगाएको इतिहासविद्हरुको भनाइ छ ।

मकवानपुरगढी भने यिनीले राज्य सम्हाल्नुभन्दा झण्डै ६०० वर्ष पूर्व नै यिनका पुर्खा तुला सेनले निर्माण गराएको उल्लेख भइसकेको छ ।

राघव सेन

लोहाङ सेनको मृत्युपछि विसं १६४२ मा यिनका छोरा राघव सेनले मकवानपुरको राजकाज सम्हालेको पाइन्छ । राघव सेनलाई कतै राधा सेनसमेत उल्लेख गरिएको छ । कलिलो उमेरमा राजा बनेका राघव सेनले झण्डै ७६ वर्ष मकवानपुरको शासन गरेको पाइन्छ ।

हरिहर सेन

मकवानपुरमा राघव सेनपछि हरिहर सेनले शासन गरे । यिनै राजा हरिहर सेनले सिन्धुलीको हरिहरपुर गढी निर्माण गर्न लगाएको उल्लेख छ । तर कही कतै सिम्रौनगढका राजा हरिसिंह देव मुस्लिम आक्रमणबाट आफ्नो राज्यच्युत भएर भाग्ने क्रममा हरिहरपुरगढी बनाई बसेको उल्लेख गरिएको छ । तर गढीको नाम हरिहर उल्लेख हुनु मकवानपुर गढीजस्तै कला तथा निर्माण सामग्रीको प्रयोग गरेर बनाइनु सिम्रौनगढको शैली नदेखिनुले हरिहरपुरगढी हरिहर सेनले नै बनाएको हुनसक्ने देखिन्छ । राजा हरिसिंह देवले अन्तै गढी बनाएर बसेको हुनसक्ने तथा हाल विलीन भएको वा कहीँकतै भग्नावशेषका रुपमा रहेको हुनसक्ने कुरालाई पनि नकार्न सकिन्न ।

हरिहर सेन प्रतापी राजा भएको उल्लेख गरिएको छ । मकवानपुरलाई थप एकीकरण गरेर अझ विशाल बनाउने काम गरेका हरिहर सेनले आफूलाई हिन्दूपति घोषित गरेका थिए । उनका छवटी रानीहरु थिए । उनले भारतीय महाराजकी छोरीसँगसमेत विवाह गरेका थिए भने आफ्नो एक छोरीको विवाह कान्तिपुरका राजा प्रताप मल्लसँग गरेका थिए । अर्थात् हरिहर सेन प्रताप मल्लका ससुरा थिए । उनका उत्तराधिकारीका रुपमा क्षत्रपति इन्द्र सेनको जन्म भएको थियो । तर एउटा छोरा विभाता इन्द्र सेनकोे जन्म भएपछि युवराजको मृत्यु भयो र युवराजको मृत्युपछि हरिहर सेनले नवयुवराजलाई युवराज घोषणा गर्नुपर्नेमा त्यसो नगरी चौथी श्रीमती रानी महादेवीतर्फका छोरा शुभ सेनलाई आफ्नो उत्तराधिकारी घोषणा गरिदिए । जसको नतिजा विशाल मकवानपुर राज्य दुई टुक्रामा विभक्त भयो ।

शुभ सेन

राजा हरिहर सेनको मृत्युपछि विसं १७४१ मा मकवानपुरमा शुभ सेन राजा भए । जन्मले यिनी जेठा छोरापछिका थिए तर पनि राजा भए । राजाको जेठो छोरो राजा हुने राज परम्पराअनुसार जेठो छोरोको मृत्यु भएको अवस्थामा उसको छोरो राजा हुनुपर्नेमा त्यसो गरिएन राजा हरिहर सेनले अर्को छोरो शुभ सेनलाई युवराज घोषणा गरेका थिए । यसको कारण कतिपय इतिहासका बाबुछोरा बीचको झगडालाई मान्छन् । इतिहासकारहरुका अनुसार राजा हरिहर सेनको उनका जेठा छोरा छत्रपति इन्द्र सेनसँग खटपट थियो र यसैबीचमा छत्रपति इन्द्र सेनको मृत्यु भएको थियो ।

शुभ सेन राजा घोषित भएपछि छत्रपति इन्द्र सेनका छोरा अर्थात् हरिहर सेनका नाति विधाता इन्द्र सेन रिसाएर विद्रोह गरे उनको विद्रोहले मकवानपुरलाई दुई भागमा अलग्यायो । उनले कोशीपारिको मकवानपुर राज्य कब्जा गरेर अर्को स्वतन्त्र विजयपुर राज्य स्थापना गरे ।

भतिजोले राज्य टुक्रा पारेर केही भागमा आफैँ राजा भएर शासन गर्न थालेपछि राजा शुभ सेनले कान्तिपुरको सहयोगमा विजयपुरविरुद्ध युद्ध गरे । तर किरातीहरुको साथ सहयोग पाएका विधाता इन्द्र सेनलाई पराजित गर्न सकेनन् यद्यपि उनले मोरङका कतिपय गाउँहरु मकवानपुरमा मिलाउन भने सके । आफ्नो शासनकालमा राज्य टुक्रिए पनि यिनले थुप्रै समथर भूभागलाई मकवानपुरमा मिलाउन सकेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

पछि भतिजा विधातासँग सम्बन्ध सुमधुर हुँदै गएपछि भने मकवानपुर र विजयपुर राज्यको सिमाना गङ्गा नदीको किनारसम्म पुगेको पाइन्छ । चिकित्सक राजाराम सुवेदीले लेख्नुभएको एक इतिहाससम्बन्धी लेखका अनुसार सीमा विवाद मिलाउन भन्दै झुक्याएर मुसलमानी सेनाले दुवै काका भतिजालाई गङ्गा मैदानबाट कब्जा गरेर दिल्ली पुर्‍याए । दुवै राजालाई छलफलका लागि भनेर बोलाउने अनि पक्राउ गरेर मकवानपुर र विजयपुरमाथि आक्रमण गर्ने लखनउका राजा इस्फोरिया नवाबको योजनाअनुसार राजाहरुलाई नियन्त्रणमा लिइएको थियो । तर नवाबको योजना सफल हुन सकेन दुवै सेन राजा नियन्त्रणबाट उम्कन सफल भए ।

केही इतिहासकारहरुका अनुसार दुवै राजालाई विदेशीले झुक्याएर पक्राउ गरेपछि राजा विधाता इन्द्र सेनकी रानी राजेश्वरीले दुवै देशको संयुक्त शासन सञ्चालन गरेकी थिइन् । उनलाई किराँती तथा कान्तिपुरेहरुको समेत साथ थियो । विजयपुरका राजासँगै पक्राउ परेका मन्त्री फुत्केर भागी आउनाले मुसलमानीहरुको योजना थाहा पाई रानी राजेश्वरीले लखनउका राजा स्फोरिया नवाबका फौजविरुद्ध लड्न किराती फौज, मकवानपुरे फौज तथा विजयपुरका फौजहरु तथा मोरङ्गे लिम्बू लडाकुहरुलाई पूणर्िया पठाइ अपहृत राजालाई छुटाई ल्याएकोसमेत बताउँछन् ।

चिकित्सक सुवेदीले प्रकाशन गर्नुभएको एक पुस्तकको मकवानपुर राज्य नामक भागमा दुवै राजाहरु सम्झौता गरेर छुटेको उल्लेख छ । उहाँका अनुसार दुवै राजा दिल्लीमा विसं १७६३ देखि १७७४ सम्म ११ वर्षसम्म कैद भएका थिए भने यता सो अवधिमा रानी राजेश्वरीले मकवानपुर र विजयपुरमा संयुक्तरुपमा नायवी शासन सञ्चालन गरेकी थिइन् । उनले शुभ सेनका दुई छोरा महिपति सेन र माणिक सेनलाई विजयपुर र मकवानपुरको राजा बनाएको उल्लेख छ ।

माणिक सेन

शुभ सेनपछि मकवानपुरको नयाँ राजामाट माणिक सेन घोषित भए । उनी बाबु शुभ सेन जीवित छँदै राजा भएका थिए भने भाउजु राजेश्वरीको नायवी शासन थियो । त्यसैले नायवीपछि १७७४ देखि भने यिनी सर्वेसर्वा भए । कहीँकतै शुभ सेनले थप ३१ वर्ष शासन सञ्चालन गरेको भनिए पनि त्यस्को यथेष्ट प्रमाण पुग्दैन् । माणिक सेन राजा शुभ सेनका कान्छा छोरा थिए तर विजयपुरका राजा विधाताइन्द्र सेनको सन्तान नभएकाले जेठादाइ विजयपुरको राजा भएपछि माणिक सेनले मकवानपुरको राजा हुने अवसर पाएका थिए ।

हेमकणर् सेन

माणिकपछि मकवानपुरको गद्दीमा हेमकणर् सेन बसे । विसं १७९० मा गद्दी सम्हालेका २६ वर्षसम्म मकवानपुरको राजा भएका हेमकणर् सेनको पालामा मकवानपुर फेरि टुक्रियो उनका भाइ जगत सेनले चौदण्डीलाई अलग राज्य घोषणा गरी त्यहाँको राजा भए । राजा हेमकणर्ले कान्तिपुरको अधीनमा रहेको सिन्धुली गढीलाई भने आफ्नो कब्जामा पार्न सफल भए । यिनै राजाकी छोरी इन्द्रकुमारी सेनसँग गोरखाका युवराज पृथ्वी नारायण शाहको विसं १७९४ फागुनमा विवाह भएको थियो ।

दिग्बन्धन सेन

विसं १८१६ मा हेमकणर् सेनको मृत्युपछि मकवानपुरको गद्दीमा उनका जेठा छोरा दिग्बन्धन सेन बसे । उनी राजा भएको दुई वर्ष नपुग्दै पृथ्वी नारायणको आक्रमणमा राज्यच्युत भएर गोर्खामा (कतै नुवाकोटसमेत भनिएको छ) नजरबन्दमा अन्तिम श्वास फेर्न विवश भए । प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेखेका एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह दिग्बन्धनकी बहिनी इन्द्रकुमारीसँग भयो । विविध कारणले दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकणर्ले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा पर्‍यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकणर् सेनकी रानीले निकै चोट पुर्‍याउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए । उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानी हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो ।

नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन । त्यसमा पनि पृथ्वीनारायण र दिगबन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निणर्यमा पुगे । विसं १८१९ मा शुरप्रताप शाहको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गोर्खाली सेनाले मकवानपुरमाथि आक्रमण गर्‍यो ।